काठमाडौं । नेपाली कला, साहित्य, सञ्चार र मनोरञ्जन क्षेत्रसँग आबद्ध व्यक्तित्वहरूलाई एउटै खेलमञ्चमा जोड्ने उद्देश्यले आयोजना हुनलागेको ‘इन्डोर सेलिब्रेटी क्रिकेट लिग’ को खेलाडी अक्सन कार्यक्रम सम्पन्न भएको छ । प्रतियोगितामा सहभागी हुने चार टोली टिम वारियर्स, टिम च्याम्पियन्स, टिम रेन्जर्स र टिम टाइटन्सले अक्सन प्रक्रियामार्फत आफ्ना खेलाडी छनोट गर्दै टोलीलाई अन्तिम रूप दिएका छन् ।
सेलिब्रेटी क्रिकेट उत्सवको आयोजनामा सम्पन्न अक्सन कार्यक्रममा खेलकुद, कला र साहित्य क्षेत्रका चर्चित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा इन्टरनेसनल इभेन्ट म्यानेजर विक्रान्त कार्की, चर्चित आख्यानकार विप्लव प्रतीक, लोकदोहोरी गायक तथा टिम रेन्जर्सका कप्तान बद्री पंगेनी, हाँस्य कलाकार तथा टिम च्याम्पियन्सका कप्तान सन्दीप क्षेत्रीलगायत विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा बोल्दै क्रिकेट उत्सवका फाउण्डर तथा मिडियाकर्मी विवेक खतिवडाले खेलकुद केवल प्रतिस्पर्धाको माध्यम नभई सामाजिक सम्बन्ध सुदृढ गर्ने प्रभावकारी प्लेटफर्म भएको बताउनुभयो । उहाँले कलाकार, साहित्यकार, सञ्चारकर्मी तथा विभिन्न विधाका व्यक्तित्वलाई एउटै मैदानमा उभ्याउने प्रयासले आपसी सद्भाव, सहकार्य र एकताको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँका अनुसार यस्तो प्रकृतिको प्रतियोगिताले मनोरञ्जनसँगै सामाजिक सन्देश प्रवाह गर्ने, खेल संस्कृतिलाई प्रोत्साहन गर्ने तथा विभिन्न क्षेत्रबीचको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । प्रतियोगिताको संयोजन सेलिब्रेटी क्रिकेट लिगका को-फाउण्डर सञ्जीव उपाध्यायले गर्नुभएको हो ।
चार टोली, चार फरक नेतृत्व
यस संस्करणमा चार टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । प्रत्येक टोलीको नेतृत्व कला, साहित्य तथा मनोरञ्जन क्षेत्रका परिचित अनुहारहरूले गरिरहेका छन् ।
टिम च्याम्पियन्स हास्य कलाकार सन्दीप क्षेत्रीको कप्तानीमा मैदानमा उत्रिनेछ । टोलीमा सन्तोष उपाध्याय, गायक रवि ओड, पुरुषोत्तम मल्लिक, सौरभ शर्मा (विकेटकिपर), अभि निरौला (फाष्ट बलर), क्रिश बम, सोनाम पाख्रिन, रमेशचन्द सोडारी र टंक तिमिल्सिना रहनुभएको छ ।
टिम रेन्जर्सको नेतृत्व लोकदोहोरी गायक बद्री पंगेनीले गर्नुहुनेछ । टोलीमा पेमा लामा, भ्योमा, कविर खड्का, मौसम हिमाली, सुरेश न्यौपाने, सञ्जीव, सुविज्ञराज पाण्डे, बिजु पार्की र मोहन खड्का समावेश हुनुहुन्छ ।
टिम वारियर्सको कप्तानी चर्चित आख्यानकार विप्लव प्रतीकले सम्हाल्नुहुनेछ । टोलीका मार्की खेलाडी दिलीप ओखेडा रहनुभएको छ । अन्य सदस्यहरूमा भरत कार्की (विकेटकिपर), सन्तोष बानियाँ, आकाश खड्का, जेरी भण्डारी, लोकी रेग्मी, लक्की आचार्य र पासाङ योञ्जन लामा हुनुहुन्छ ।
टिम टाइटन्सको नेतृत्व इन्टरनेसनल इभेन्ट म्यानेजर विक्रान्त कार्कीले गर्नुहुनेछ । टोलीका मार्की खेलाडीका रूपमा नायक सुधीर श्रेष्ठ चयन हुनुभएको छ । अन्य खेलाडीमा सौगात विष्ट, सरोज भण्डारी, अनित विष्ट, दिपु कर्ण, सञ्जीव पाठक र राजेश बिसी रहनुभएको छ ।
मनोरञ्जन र खेलको संगम
आयोजकका अनुसार प्रतियोगिता केवल क्रिकेट खेलमा सीमित रहने छैन । कलाकार, गायक, साहित्यकार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका सेलिब्रेटीको सहभागिताले यसलाई मनोरञ्जन, खेल र सामाजिक एकताको उत्सवका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ । दर्शकले आफ्ना मनपर्ने कलाकारहरूलाई पहिलोपटक एउटै मैदानमा क्रिकेट खेल्दै हेर्ने अवसर पाउने आयोजकको विश्वास छ ।
इण्डोर ढाँचामा आयोजना हुने प्रतियोगिताले मौसमको प्रभावबाट मुक्त रहँदै व्यवस्थित र प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । सहभागी टोलीहरूले अक्सन सम्पन्न भएसँगै अभ्यासलाई तीव्र बनाउने तयारी गरेका छन् ।
साउन १ मा रोमाञ्चक प्रतिस्पर्धा
‘इन्डोर सेलिब्रेटी क्रिकेट लिग’ आगामी साउन १ गते (शुक्रबार) क्रिकेट एक्सिलेन्स सेन्टरको इण्डोर ग्राउण्डमा आयोजना हुनेछ । आयोजकले प्रतियोगितालाई वार्षिक रूपमा निरन्तरता दिने लक्ष्य लिएको जनाएको छ । कला, साहित्य र खेलकुदलाई एउटै सूत्रमा बाँध्ने यो प्रयासले नेपाली सेलिब्रेटी क्रिकेट संस्कृतिमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर