काठमाडौं । सरकारले नेपालको सुरक्षा, शान्ति तथा व्यवस्था र मित्रराष्ट्रसँगको सम्बन्धमा प्रतिकूल असर पार्ने कथावस्तु भएका चलचित्रलाई नेपालमा प्रदर्शन अनुमति नदिने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको श्रव्यदृश्य तथा प्रसारण शाखाले चलचित्र विकास बोर्डलाई पत्राचार गर्दै यस्तो प्रकृतिका चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शन अनुमति नदिन निर्देशन दिएको हो ।
मन्त्रालयले चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८(३) को स्मरण गराउँदै उक्त व्यवस्थाको पूर्ण कार्यान्वयन गर्न निर्देशन दिएको छ । ऐनको उक्त दफामा नेपालको सुरक्षा, शान्ति र व्यवस्था तथा मित्रराष्ट्रसँगको सु–सम्बन्धमा प्रतिकूल असर पार्ने देखिएमा त्यस्ता चलचित्रलाई प्रदर्शन अनुमति दिन नहुने व्यवस्था छ ।
मन्त्रालयले चलचित्र जाँचका लागि सिफारिश गर्ने निकाय चलचित्र विकास बोर्डलाई जाँचका लागि प्राप्त हुने यस्ता चलचित्रमा ऐनबमोजिम अनुमति दिन नसकिने विषयमा निर्माता, वितरक तथा सम्बन्धित सबै पक्षलाई जानकारी गराउन र आवश्यक समन्वय गर्न पनि निर्देशन दिएको छ ।
गत साता भारतीय अभिनेत्री आलिया भट्ट अभिनित चलचित्र ‘अल्फा’को प्रदर्शनलाई लिएर विवाद उत्पन्न भएपछि मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो । प्रारम्भमा चलचित्र जाँच समितिमा उक्त चलचित्रबारे विवाद भए पनि प्रदर्शन अनुमति दिइएको थियो । यसअघि पनि पाकिस्तानविरोधी कथावस्तु समेटिएका भारतीय चलचित्रहरू नेपालमा सहज रूपमा प्रदर्शन हुँदै आएका थिए । पछिल्ला वर्षमा नेपालमा उच्च व्यापार गरेका धेरै भारतीय चलचित्र यस्तै विषयवस्तुमा आधारित छन् ।
यद्यपि मध्यपूर्वका केही मुलुकले यस्ता चलचित्रमाथि प्रतिबन्ध लगाउँदै आएका छन् । त्यहाँ प्रदर्शन रोकिएपछि केही दर्शक नेपाल आएर ती चलचित्र हेरेको विवरणसमेत सार्वजनिक भएका थिए । सरकारको पछिल्लो निर्देशनले विशेषगरी नेपालमा प्रदर्शन हुने भारतीय चलचित्रको छनोट र सेन्सर प्रक्रियामा प्रत्यक्ष प्रभाव पर्ने अपेक्षा गरिएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर