लण्डन । गत महिना फ्रेन्च ओपनको दोस्रो चरणमा बेहोरेको लज्जास्पद हार र शारीरिक कमजोरीलाई पन्छाउँदै विश्व नम्बर एक टेनिस खेलाडी जानिक सिन्नरले वर्षको तेस्रो ग्राण्डस्लाम प्रतियोगिता विम्बल्डनको उपाधि जित्नुभएको छ । पेरिसको अत्यधिक गर्मीमा बेहोरेको त्यो पीडादायी हारपछि उहाँले लण्डनको ऐतिहासिक कोर्टमा आफ्नो शारीरिक तथा मानसिक दृढताको उत्कृष्ट प्रदर्शन गर्नुभएको हो ।
लण्डनस्थित अल इंग्ल्याण्ड क्लबमा आइतबार राती सम्पन्न फाइनल भिडन्तमा इटालीका सिन्नरले जर्मनीका अलेक्ज्याण्डर ज्वेरेभलाई ६-७ (७), ७-६ (२), ६-३, ६-४ को सेटमा पराजित गर्दै लगातार दोस्रो वर्ष विम्बल्डनको उपाधि आफ्नो पोल्टामा पार्नुभयो । तेस्रो सेटको एउटा महत्त्वपूर्ण अंकका क्रममा घाँसे कोर्टमा चिप्लिएपछि ज्वेरेभको दाहिने घुँडामा समस्या देखिएको थियो, जसको फाइदा सिन्नरले उठाउनुभयो ।
आफ्नो पहिलो म्याच प्वाइन्टमा सिन्नरले उत्कृष्ट फोरह्याण्ड प्रहार गर्दै जित सुनिश्चित गरेपछि उहाँ कोर्टमै उत्तानो परेर पल्टिनुभयो । सामान्यतया शान्त स्वभावका देखिने सिन्नरका लागि यो उत्सव निकै भावुक र नाटकीय थियो । जितपछि खुसी व्यक्त गर्दै सिन्नरले भन्नुभयो, ‘यो उपाधि मेरा लागि निकै विशेष र महत्त्वपूर्ण छ, किनकि पेरिसको त्यो कठिन समयपछि फेरि कमब्याक गर्नु सजिलो थिएन । म आफू र मेरो टोलीप्रति गर्व गर्छु, जसले मलाई सधैँ सही दिशामा अघि बढ्न प्रेरित गरिरह्यो ।’
मे महिनाको अन्त्यतिर पेरिसको अत्यधिक गर्मी र आर्द्रताबीच सिन्नरको लगातार ३० खेलको अपराजित यात्रामा पूर्णविराम लागेको थियो । उहाँ ५६औँ वरीयताका हुआन म्यानुएल सेरुन्डोलोसँग पराजित हुनुभएको थियो । त्यो हारपछि सिन्नरले मिलानमा स्वास्थ्य परीक्षण गराउनुभएको थियो र विम्बल्डन सुरु हुनुअघिसम्म कुनै पनि आधिकारिक खेल खेल्नुभएको थिएन । विम्बल्डनको पहिलो चरणमै उहाँ मियोमिर केकमानोभिचविरुद्ध दुई सेटले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै पाँच सेटको म्याराथन खेल जितेर अघि बढ्नुभएको थियो । त्यसपछि भने उहाँले सेमिफाइनलमा नोभाक जोकोभिचलाई स्तब्ध पार्दै फाइनलसम्मको यात्रा तय गर्नुभयो ।
ज्वेरेभविरुद्धको खेलमा सिन्नरको यो लगातार १०औँ जित हो । यसअघि शनिबार भएको महिलातर्फको फाइनलमा चेक गणतन्त्रकी लिन्डा नोस्कोभाले आफ्नै देशकी कारोलिना मुचोभालाई पराजित गर्दै आफ्नो पहिलो ग्राण्डस्लाम उपाधि जित्नुभएको थियो । यो जितसँगै सिन्नरले सन् २००३ मा रोजर फेडररले राखेको कीर्तिमानको बराबरी गर्नुभएको छ । हारका बाबजुद ज्वेरेभ सोमबार सार्वजनिक हुने नयाँ विश्व वरीयतामा कार्लोस अल्काराजलाई पछि पार्दै दोस्रो स्थानमा उक्लनुहुनेछ । स्पेनका अल्काराज दाहिने नाडीको चोटका कारण यस वर्षको फ्रेन्च ओपन र विम्बल्डन दुवै प्रतियोगिताबाट बाहिर रहनुभएको थियो । एजेन्सी







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर