जुरिच । फिफा (अन्तर्राष्ट्रिय फुटबल महासंघ) का पदाधिकारीहरूले आगामी २०३० को विश्वकपअगावै प्रतियोगितामा थप १६ वटा टोली थपेर कुल ६४ टोली पुर्याउने सम्भावनाबारे अध्ययन गर्ने भएका छन् । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले एक अन्तर्वार्ताका क्रममा विश्वकपमा सहभागी टोलीको संख्या ४८ बाट बढाएर ६४ पुर्याउनु तर्कसंकत हुन सक्ने बताउनुभयो । स्विट्जरल्याण्डको सञ्चारमाध्यम ‘ब्लुविन’सँग कुरा गर्दै अध्यक्ष इन्फान्टिनोले भन्नुभयो, ‘यो निश्चित रूपमा एउटा गम्भीर विषय हो, जसमाथि जारी विश्वकप सकिएलगत्तै सम्बन्धित समितिहरूमा विस्तृत छलफल र अनुसन्धान गरिनेछ । विश्वकप आयोजना गर्दा युरोप र दक्षिण अमेरिकाका लागि मात्र नभई समग्र विश्वकै लागि गर्नु महत्त्वपूर्ण हुन्छ ।’
अध्यक्ष इन्फान्टिनोले विश्वका हरेक राष्ट्रलाई विश्वकपमा सहभागी हुने सपना देख्ने अधिकार हुनुपर्नेमा जोड दिनुभयो । ‘अहिले विश्वभर नै फुटबल टोलीहरूको स्तर र खेलको गुणस्तर निकै उच्च हुँदै गएको छ’, उहाँले भन्नुभयो, ‘यदि हामीले साना देशहरूलाई विश्वकपमा सहभागी हुने अवसर दिएनौँ भने उनीहरूमा आफ्नो खेल सुधार्दै लैजाने कुनै प्रोत्साहन वा उत्साह बाँकी रहँदैन ।’ सन् १९९८ देखि २०२२ सम्म विश्वकपमा ३२ वटा टोलीले मात्र प्रतिस्पर्धा गर्ने गरेका थिए । जारी २०२६ को संस्करण इतिहासमै पहिलो पटक ४८ टोली सहभागिता गराएर खेलाइँदैछ । हाल कुल १०४ खेलको लामो तालिकाबाट अब केवल दुईवटा सेमिफाइनल, तेस्रो स्थानका लागि प्ले-अफ र फाइनल खेलमात्र बाँकी छन् ।
इन्फान्टिनोले ४८ टोली समेटिएको वर्तमान विश्वकप संस्करणलाई सफलको संज्ञा दिनुभयो । उहाँका अनुसार यसपटक हरेक टोलीले उच्चस्तरको खेल प्रदर्शन गरेका छन् भने प्रत्येक महादेशका टोलीले गोल गर्न र कम्तीमा एक अंक जोड्न सफल भएका छन् । ‘अफ्रिकाबाट यसपटक सहभागी १० मध्ये नौवटा टोली नकआउट चरणसम्म पुग्न सफल भए, जबकि अघिल्लो विश्वकपमा अफ्रिकाबाट केवल पाँचवटा टोलीमात्र सहभागी थिए’, इन्फान्टिनोले तथ्यांक प्रस्तुत गर्दै भन्नुभयो, ‘यसले नै प्रमाणित गर्छ कि सबै टोलीहरूलाई समेट्नु र उनीहरूलाई यो विश्वमञ्चमा प्रतिस्पर्धा गर्ने अवसर दिनु कति महत्त्वपूर्ण छ ।’
सन् २०३० को विश्वकप बहु-महादेशीय स्वरूपमा आयोजना गर्ने घोषणा भइसकेको छ । जसअन्तर्गत सुरुवाती तीनवटा खेलहरू दक्षिण अमेरिकाका उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा खेलाइने तय छ भने बाँकी सबै खेलहरू मोरक्को, पोर्चुगल र स्पेनमा आयोजना हुनेछन् ।
यदि फिफाले टोलीको संख्या बढाएर ६४ पुर्याएमा आयोजनाको स्वरूपमा पनि परिवर्तन आउनेछ । त्यस्तो अवस्थामा दक्षिण अमेरिकी राष्ट्रहरूले केवल एक–एक खेलमात्र आयोजना गर्नुको साटो चार–चार टोली सम्मिलित सिंगो समूहकै आयोजना गर्ने अवसर पाउन सक्नेछन् । एजेन्सी







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर