नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेस एउटा यस्तो दल हो- जसले लोकतन्त्र, संविधानवाद, नागरिक अधिकार र राजनीतिक परिवर्तनका प्रत्येक महत्त्वपूर्ण मोडमा निर्णायक भूमिका निर्वाह गरेको छ । सात दशकभन्दा लामो इतिहास बोकेको यो पार्टी नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक राजनीतिक शक्तिमात्र होइन, लोकतान्त्रिक आन्दोलनको मेरुदण्ड पनि हो । त्यसैले नेपाली कांग्रेसलाई नेपालको सबैभन्दा गौरवशाली राजनीतिक दल भन्नु अतिशयोक्ति होइन, ऐतिहासिक यथार्थ हो । तर विडम्बना, यही ऐतिहासिक पार्टी अहिले आफ्नै आन्तरिक विवाद, नेतृत्वबीचको अविश्वास र संगठनात्मक कमजोरीका कारण इतिहासकै सबैभन्दा जटिल मोडमा आइपुगेको छ । बाह्य चुनौतीभन्दा पनि आन्तरिक द्वन्द्वले पार्टीलाई कमजोर बनाइरहेको छ । लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्ने पार्टी आफैं विभाजनको संघारमा पुगेको दृश्यले केवल कांग्रेस कार्यकर्तालाई मात्र होइन, समग्र लोकतन्त्रप्रति विश्वास राख्ने नागरिकलाई समेत चिन्तित बनाएको छ ।
गत ३५ वर्षको लोकतान्त्रिक अभ्यासमा नेपाली कांग्रेस पटक-पटक सरकारको नेतृत्वमा रह्यो । कहिले एकल बहुमत, कहिले गठबन्धन सरकारमार्फत देश सञ्चालन गर्ने अवसर पायो । यस अवधिमा विकास, लोकतान्त्रिक संस्थाको निर्माण तथा संविधान निर्माणजस्ता सकारात्मक उपलब्धि हासिल भए तापनि आमनागरिकले अपेक्षा गरेअनुसार सुशासन, पारदर्शिता, रोजगारी, समान अवसर र समृद्धिको अनुभूति गर्न सकेनन् । सीमित व्यक्तिहरू र शक्ति केन्द्रहरू लाभान्वित भए भन्ने व्यापक जनधारणा बन्यो ।
यही कारण कांग्रेसप्रति आस्था राख्ने कार्यकर्तामै निराशा बढ्दै गयो । निराश कार्यकर्ता वैकल्पिक शक्तिको खोजीमा लागे । कहिले माओवादी आन्दोलनतर्फ, कहिले नयाँ राजनीतिक अभियानतर्फ र अहिले राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ आकर्षित हुने क्रम यही असन्तुष्टिको परिणाम हो । राजनीतिक दलको आधार केवल सिद्धान्तले होइन, कार्यकर्ताको मनोबल र जनविश्वासले टिक्ने हो । त्यो विश्वास कमजोर भएपछि संगठनको जग नै हल्लिन थाल्छ ।
कवि गोपालप्रसाद रिमालले लेख्नुभएको छ-‘त्यो आँधी भएर आउँछ, तिमी पत्कर भएर त्यसलाई पछ्याउने छौं ।’ नेपाली राजनीतिमा यो पंक्ति पटक-पटक सत्य साबित भएको देखिन्छ । जब कुनै नयाँ शक्ति आँधीको रूपमा उदाउँछ, त्यसपछि विचारभन्दा पनि भिड त्यसतर्फ आकर्षित हुन्छ । कांग्रेसका असन्तुष्ट कार्यकर्ताको ठूलो हिस्सा माओवादी आन्दोलनतर्फ लाग्यो । पछि तिनैमध्ये धेरैजना अन्य नयाँ राजनीतिक शक्तिहरूमा पनि पुगे । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयमा पनि कांग्रेस, एमाले र माओवादीका असन्तुष्ट कार्यकर्ताको उल्लेख्य सहभागिता देखिन्छ । यसले एउटा गम्भीर राजनीतिक शिक्षा दिन्छ-राजनीतिमा भिड स्थायी हुँदैन, विश्वास स्थायी हुन्छ । विश्वास गुमेपछि भिड अर्को दिशामा मोडिन समय लाग्दैन ।
नेपालको इतिहासमा यस्ता उदाहरण धेरै छन् । राणा शासनकालमा सत्ता परिवर्तनसँगै जयजयकार गर्ने समूहको नारा क्षणभरमै बदलिएको इतिहास छ । २०४६ सालको जनआन्दोलनपछि पनि भिडको मनोविज्ञानले कसरी तत्काल धार परिवर्तन गर्नसक्छ भन्ने घटना नेपाली समाजले देखिसकेको छ । त्यसैले भिडको निर्णयभन्दा नेतृत्वको विवेक र संगठनको स्थायित्व नै महत्त्वपूर्ण हुन्छ ।
यही सन्दर्भमा अहिले कांग्रेसको अवस्था हेर्दा पार्टीको वास्तविक संकट बाहिर होइन, भित्र रहेको देखिन्छ । कांग्रेससँग अहिले पनि देशव्यापी संगठन छ, ऐतिहासिक विरासत छ, अनुभवी नेता छन् र लोकतान्त्रिक आन्दोलनको गौरवपूर्ण इतिहास पनि छ । तर, संगठनको मनोबल कमजोर छ । कार्यकर्ताको आत्मविश्वास घटेको छ । नेतृत्वबीचको अविश्वासले तल्लो तहसम्म निराशा फैलाएको छ ।
राजनीतिक संगठनलाई घरसँग तुलना गर्ने हो भने अहिले कांग्रेस भूकम्पले चर्किएको पुरानो घरजस्तै बनेको छ । यस्तो घरलाई भत्काएर नयाँ बनाउनेभन्दा पहिले त्यसको मर्मत, सुदृढीकरण र पुनःनिर्माण आवश्यक हुन्छ । यो काम बाहिरकाले गरिदिँदैन । घरधनी आफैंले पहल गर्नुपर्छ । त्यसैगरी कांग्रेसलाई बलियो बनाउने जिम्मेवारी पनि कांग्रेसकै नेतृत्व र कार्यकर्ताको हो । प्रतिद्वन्द्वी दलले कांग्रेसलाई पुनर्जीवित गरिदिने अपेक्षा गर्नु राजनीतिक रूपमा असम्भव कुरा हो ।
दुर्भाग्यवश अहिले कांग्रेसभित्रको नेतृत्व भने सहमतिभन्दा अडानमा बढी केन्द्रित देखिन्छ । कुनै पनि राजनीतिक समझदारीका लागि दुवै पक्षले केही न केही त्याग गर्नुपर्छ । केही आफ्ना अडान छोड्नुपर्छ र केही अर्को पक्षका कुरा स्वीकार गर्नुपर्छ । यही लोकतान्त्रिक संस्कृतिको मूल आधार हो । तर, अहिले कांग्रेसभित्र दुवै पक्ष आफ्नो-आफ्नो अडानमा कठोर रूपमा उभिएका छन् । परिणामतः संवादभन्दा दूरी बढिरहेको छ ।
जिल्ला र स्थानीय तहका नेता तथा कार्यकर्तामा पार्टी एक हुन्छ भन्ने विश्वास क्रमशः कमजोर बन्दै गएको छ । उनीहरूलाई लाग्न थालेको छ कि शीर्ष नेतृत्वको अहंकारले संगठनलाई विभाजनतर्फ धकेलिरहेको छ । वास्तवमा पार्टी मिलाउने जिम्मेवारी तल्लो तहको होइन, केन्द्रीय नेतृत्वको हो । जबसम्म शीर्ष नेतृत्वले व्यक्तिगत प्रतिष्ठाभन्दा पार्टीको भविष्यलाई प्राथमिकता दिँदैन, तबसम्म एकताको सम्भावना कमजोर नै रहनेछ ।
यद्यपि अवस्था पूर्णरूपमा निराशाजनक भने छैन । राजनीति सम्भावनाको खेल हो । संवाद बन्द नभएसम्म सहमतिको ढोका पनि बन्द हुँदैन । यदि दुवै पक्षले आफ्नो अहंकारलाई नियन्त्रण गर्दै संगठनको हितलाई सर्वोपरि राख्ने हो भने अझै पनि कांग्रेसको एकता जोगाउन सकिन्छ । पार्टी विभाजन कुनै नेताको व्यक्तिगत हार वा जितको विषय होइन, त्यो लोकतान्त्रिक शक्तिको समग्र क्षति हो ।
आज नेपाली कांग्रेसले सबैभन्दा पहिले आत्मसमीक्षा गर्न आवश्यक छ । विगतका कमजोरी स्वीकार्नुपर्नेछ । कार्यकर्ताको मनोबल फर्काउनुपर्नेछ । वरिष्ठ नेताको अनुभव र नयाँ पुस्ताको ऊर्जाबीच सन्तुलन कायम गर्नुपर्नेछ । गुटगत स्वार्थभन्दा संगठनात्मक एकतालाई प्राथमिकता दिनुपर्नेछ । यही बाटोले मात्र कांग्रेस पुनः जनविश्वासको केन्द्र बन्नसक्छ ।
लोकतन्त्र बलियो बनाउन नेपाली कांग्रेस बलियो हुनु आवश्यक छ भन्ने विश्वास अझै समाजको ठूलो हिस्सामा जीवित छ । तर, त्यो विश्वासलाई व्यवहारमा रूपान्तरण गर्ने जिम्मेवारी कांग्रेसकै नेतृत्वको काँधमा छ । यदि नेतृत्वले समयमै आत्मबोध गर्न सकेन भने इतिहासले दिएको गौरवशाली अवसर गुम्नेछ । तर, यदि अहिलेको संकटलाई आत्मसुधारको अवसरका रूपमा उपयोग गर्न सकियो भने यही संकट कांग्रेसको पुनर्जागरणको आधार पनि बन्नसक्छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर