आधुनिक युगमा शिक्षालाई केवल जीविकोपार्जनको माध्यम, प्रमाणपत्र प्राप्ति र बौद्धिक विलासिताको साधन बनाइएको छ । तर पूर्वीय चिन्तन, प्रकृतिको शाश्वत नियममा आधारित प्राकृतिक चिकित्सा केवल कलेजका चार पर्खालभित्र पढ्ने-पढाउने वा ओठे ओखतीको व्यापार गर्ने विधामात्र होइन । मानव अस्तित्वको समग्रता शरीर, मन र आत्मालाई प्रकृतिको लयसँग एकाकार गराउने कला र साधना हो । पश्चिमा चिकित्सा पद्धतिले रोग लागेपछि त्यसका लक्षणलाई दबाउने कसरत गर्छ । रोगको जरोलाई चिन्न र मानिसलाई जन्मजात प्राप्त भएको आन्तरिक स्व-उपचारात्मक शक्तिलाई जागृत गराउन सिकाउँछ ।
जबसम्म यसका प्रवर्द्धक, शिक्षक र चिकित्सकहरूले यसलाई आफ्नो आचरणमा उतार्दैनन्, तबसम्म उपयोगिता शून्यप्रायः रहन्छ । जो प्रचारक हो ऊ नै पहिलो उपभोक्ता हुनुपर्छ । वास्तविक मर्मलाई बुझ्न अन्तर्निहित तीनवटा स्तम्भ साधक, साधना र सदाचारबीचको रहस्यमय एवं त्रिकोणात्मक सम्बन्धलाई उत्खनन् गर्नु, वर्तमान समाजको पुनर्जागरणका लागि अपरिहार्य हुन्छ ।
प्राकृतिक चिकित्साको मर्म प्रकृतिको सत्यलाई आत्मसात् गर्नु हो । मानव शरीर कुनै कलकारखानाका पाटपुर्जा जस्तो होइन, एउटा बिग्रँदा अर्को फेर्नु परोस् । यो एउटा जैविक र आध्यात्मिक एकाइ हो, जसमा स्वतः निको हुने सामर्थ्य हुन्छ ।
ब्रह्माण्ड साधक, साधना र सदाचार, यी तीनवटा बिन्दुहरूको परिधिभित्र घुमिरहन्छ । यी कुनै एकको अनुपस्थितिमा बाँकी दुईको अस्तित्व निष्प्राण बन्नपुग्दछ । उक्त क्षेत्रमा लागेको व्यक्तिमात्र एउटा प्राविधिक वा कलेजको प्राध्यापक होइन । ऊ सर्वप्रथम एउटा साधक हो । जसले ब्रह्माण्डमा व्याप्त पञ्चमहाभूत पृथ्वी, जल, तेज, वायु र आकाशको शक्तिलाई शरीरभित्र महसुस गर्नसक्छ । ऊ रोगको औषधि सिफारिश गर्दैन चेतनाको सञ्चार गराउँछ ।
साधकलाई परिपक्व बनाउने कसी नै साधना हो । साधनाको अर्थ पहाडको ओडारमा गएर तपस्या गर्नुपर्छ भन्ने होइन । साधना त हरेक दिनको २४ घण्टा प्रकृतिको नियमसँग तालमेल मिलाएर बाँच्नु हो । ब्रह्ममुहूर्तमा ब्युँझनु, उचित आहारविहार गर्नु, उपवासका माध्यमबाट आन्तरिक अंगहरूलाई विश्राम दिनु र योग-ध्यानका माध्यमबाट मनलाई नियन्त्रणमा राख्नु मूल साधना हो । आध्यात्मिक जग हो, जसमा साधनाको महल खडा हुन्छ । विचार, वाणी र कर्मको शुद्धता नै सदाचार हो । जस्तो अन्न, त्यस्तै मन भन्ने प्राकृतिक नियमलाई बुझेर आन्तरिक शुद्धि कायम राख्नु पहिलो सर्त हो । जब मनमा करुणा र निःस्वार्थ सेवाभावको उदय हुन्छ । साधनाविनाको साधक केवल वाचाल हुन्छ भने सदाचारविनाको साधना केवल एउटा यान्त्रिक कसरतमा परिणत हुन्छ ।
प्राकृतिक चिकित्साको मर्म प्रकृतिको सत्यलाई आत्मसात् गर्नु हो । मानव शरीर कुनै कलकारखानाका पाटपुर्जा जस्तो होइन, एउटा बिग्रँदा अर्को फेर्नु परोस् । यो एउटा जैविक र आध्यात्मिक एकाइ हो, जसमा स्वतः निको हुने सामर्थ्य हुन्छ । रोगलाई दबाउने होइन, बरू शरीरको आन्तरिक वातावरणलाई शुद्ध पारेर विजातीय द्रव्यलाई बाहिर निकाल्नु पर्दछ । स्वास्थ्य केवल रोगको अनुपस्थिति मात्र होइन, शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक रूपमा पूर्ण सुस्वास्थ्यको अवस्था हो । कलेजबाट स्वर्ण पदक पाएर डिग्री लिँदैमा वा एउटा राम्रो क्लिनिक खोलेर बस्दैमा कोही व्यक्ति प्राकृतिक चिकित्साको साधक बन्नसक्छ ? कदापि सक्दैन । साधक बन्न कठोर अनुशासन छन्, जसको पालनाविना असम्भव छ ।
साधकका लागि स्वाद प्रमुख होइन, स्वास्थ्य र चेतना मुख्य हो । आहार जस्तै दूध र माछासँगै खानु, तातो–चिसो मिसाएर खानु र रासायनिक खानेकुरा खानु साधकका लागि विषतुल्य हुन्छ । ऋतु अनुसारका ताजा फलफूल, हरिया सागसब्जी र अंकुरित अन्नको सात्विक भोजन साधकको आहार हो । जीव हिंसाबाट टाढा रहेर शाकाहारको पालना गर्नु कठोर नियम हो । आधुनिक संसार राति ढिलासम्म जागा बस्ने र दिउँसो ढिलासम्म सुत्ने रोगले ग्रस्त छ । सूर्योदयभन्दा अगाडि ब्रह्ममुहूर्तमा ओछ्यान त्याग्नु, सूर्यको ताप, हावाको आनन्द लिनु र सूर्यास्तको आसपासमा रात्रिकालीन भोजन सम्पन्न गरिसक्नु कठोर अनुशासन हो ।
आजको युगमा आँखा, कान र मनलाई उत्तेजित बनाउने प्रविधिको बाढी आएको छ । साधकले आफ्ना इन्द्रियहरूलाई नियन्त्रणमा राख्नुपर्छ । मानसिक प्रदूषणबाट बच्न नियमित रूपमा ‘डिजिटल उपवास’ गर्नु र मौन बस्ने अभ्यास गर्नु हो । आजको उपभोक्तावादी र सजिलो बाटो खोज्ने आधुनिक समाजका लागि एउटा गम्भीर ऐना हो । आज मानिसहरू सुख चाहन्छन् तर त्याग गर्न चाहँदैनन् । निरोगी हुन चाहन्छन् तर जिब्रोको स्वाद र विलासी बानी छोड्न तयार छैनन् । अनुशासनको कठोर पालनाविना कोही पनि प्राकृतिक चिकित्साको साधक बन्न पटक्कै पाइँदैन । यदि बिरामीलाई तौल घटाउन, विषाक्त तत्व बाहिर निकाल्न सात्विक आहारको उपदेश दिन्छ तर आफैं भने भान्साको कुनामा लुकेर तारेको, भुटेको वा तामसी भोजन ग्रहण गर्छ भने त्योभन्दा ठूलो ढोंग अर्को केही हुनसक्दैन ।
आचरणको शक्ति नै ओखती हो । प्राकृतिक चिकित्सामा औषधिको रूपमा चक्की वा सुई दिइँदैन । यहाँ त बिरामीलाई जीवनशैली परिवर्तन गराइन्छ । यदि चिकित्सक आफैं रोगी, मोटो, थकित र आल्छी देखिन्छ, बिहान सूर्योदयको ऊर्जा लिन छोडेर ओछ्यानमै घाम झुल्किएको हेर्छ भने उसको उपदेशले बिरामीको मनमा कहिल्यै श्रद्धा र विश्वास पैदा गर्न सक्दैन । साधकको आफ्नै ओजस्वी अनुहार, आचरणको दृढता र ऊर्जावान् शरीर नै उसको सबैभन्दा ठूलो प्रेरणायुक्त ओखती हो । अनुभवजन्य ज्ञान नै विश्वासको आधार हो । उपवास बस्दा शरीरमा कस्तो हलचल हुन्छ, कलेजो र आन्द्राले कसरी विश्राम पाउँछन् भन्ने कुरा किताब पढेरमात्र थाहा हुँदैन ।
प्राकृतिक चिकित्साको मार्गमा छोटो बाटोका लागि ठाउँ छैन । यहाँ त आफैं पग्लिएर मैनबत्ती जस्तै बन्नुपर्छ तबमात्र समाजलाई उज्यालो दिन सकिन्छ । प्राकृतिक चिकित्सा पेशामात्र नभएर राष्ट्र निर्माण, जनस्वास्थ्यको संरक्षण र मानवताको पुनरुत्थान गर्ने एउटा आन्दोलन हो । यो समाजलाई आलोकित पार्ने मार्ग हो ।
जब साधक आफैं बिरामीको धरातलमा ओर्लिएर उही भोजन गर्छ, उही समयमा उठ्छ र उस्तै श्रम गर्छ, तबमात्र उसले बिरामीको पीडा र प्रकृतिको उपचार प्रक्रियालाई मर्मस्पर्शी रूपमा बुझ्नसक्छ । आफैंले अभ्यास नगरेको ज्ञान केवल अन्धाले हात्ती छामेको जस्तै हुन्छ । प्रकृति अत्यन्तै दयालु छ तर उति नै निष्पक्ष र कठोर छ । प्रकृतिको नियम तोड्ने छुट कसैलाई छैन, चाहे ऊ सर्वसाधारण होस् या ठूलो डाक्टर । अनुशासनविना साधक बन्न खोज्नु भनेको पौडी खेल्न नसिकी समुद्रमा हाम फाल्नु वा आगोविना खाना पकाउन खोज्नुजस्तै असम्भव कुरा हो ।
प्राकृतिक चिकित्साको मार्गमा छोटो बाटोका लागि ठाउँ छैन । यहाँ त आफैं पग्लिएर मैनबत्ती जस्तै बन्नुपर्छ तबमात्र समाजलाई उज्यालो दिन सकिन्छ । प्राकृतिक चिकित्सा पेशामात्र नभएर राष्ट्र निर्माण, जनस्वास्थ्यको संरक्षण र मानवताको पुनरुत्थान गर्ने एउटा आन्दोलन हो । यो समाजलाई आलोकित पार्ने मार्ग हो । आज समाज डिप्रेसन, एन्जाइटी, मधुमेह, उच्च रक्तचाप र क्यान्सर जस्ता जीवनशैलीसँग सम्बन्धित रोगहरूले थला परेको छ । अस्पतालहरू थपिँदै छन् तर बिरामी घटेका छैनन् । यस्तो विकराल परिस्थितिमा प्राकृतिक चिकित्सा भरपर्दो आशाको किरण हो तर यो किरण तबमात्र प्रज्वलित हुनसक्छ जब यस विधाका अगुवा पढ्ने र पढाउने घेराबाट बाहिर निस्केर जीवनलाई उदाहरणको रूपमा प्रस्तुत गर्छन् ।
जो चिकित्सक बिरामीको थालको सादा भोजनलाई आफ्नो आहार बनाउँछ, बिहानको पहिलो प्रहरमा बिरामीभन्दा अघि उठेर प्रकृतिको श्वास लिन्छ र श्रमलाई आफ्नो धर्म ठान्छ वास्तवमा उसैको बोलीमा अचुक ओखतीको शक्ति हुन्छ । जब एउटा साधकले साधना र सदाचारको त्रिकोणलाई आफ्नो जीवनको मन्त्र बनाउँछ तब उसको आचरण बोल्छ । उसको व्यवहारले उपदेश दिन्छ । शब्दहरू त मौन रहन सक्छन तर सदाचारको सुगन्ध चारैतिर फैलिन्छ । वास्तविक मर्म र धर्मलाई बचाउन आधुनिकताको अँध्यारोबाट मुक्त गरी आलोकित पार्न साधकहरूले कठोर अनुशासनको मार्ग हिँड्नै पर्छ । यसैमा मानव जातिको कल्याण लुकेको छ ।
मानव र प्रकृति अलग छैनन्, एकै हुन् । जब मानिसले आफूलाई प्रकृतिभन्दा माथि ठानेर यसका नियमहरू मिच्छ, तब विनाश सुरु हुन्छ । यसले स्पष्ट पार्छ कि मानव जातिको वास्तविक आरोग्यता र मुक्तिको बाटो अस्पतालका शैय्याहरूमा होइन, प्रकृतिको काखमा र प्राकृतिक जीवनशैलीको अनुशासनमा लुकेको छ । प्राकृतिक चिकित्साको वकालतमात्र होइन, यो त आधुनिक युगका मानिसहरूका लागि प्रकृतितर्फ फर्कन गरिएको एउटा आध्यात्मिक शंखघोष हो । सदाचारविनाको साधना पाखण्ड बन्न पुग्छ, साधनाविनाको सदाचार केवल यान्त्रिक सामाजिक नियममा खुम्चिन्छ र यी दुवै बिनाको साधक दिसाहीन हुन्छ । त्यसैले, सदाचारको जगमा उभिएर साधनाको मार्गमार्फत साधकले आफ्नो चेतनाको परम शिखर प्राप्त गर्नु नै यस त्रिकोणात्मक सम्बन्धको वास्तविक रहस्य र मानव जीवनको अन्तिम सार्थकता हो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर