काठमाडौं । विश्व ऊर्जा आपूर्तिको सबैभन्दा प्रमुख समुद्री मार्ग मानिने स्ट्रेट अफ हर्मुजको नियन्त्रण र अधिकारलाई लिएर संयुक्त राज्य अमेरिका र इरानबीचको सैन्य तनाव चरम उत्कर्षमा पुगेको छ । दुवै पक्षले सो रणनीतिक जलघाँटी आफ्नो पूर्ण नियन्त्रणमा रहेको परस्पर विरोधी दाबी गरिरहेका छन् । यसैबीच पछिल्ला दिनमा भएका तीव्र सैन्य आक्रमण र प्रतिआक्रमणका कारण पहिले गरिएका युद्धविरामका प्रयासहरू थप कमजोर बन्दै गएका छन् । यो द्वन्द्व अहिले कुवेत र बहराइनसम्म फैलिएको छ, जसका कारण मध्यपूर्व क्षेत्रको समग्र सुरक्षा अवस्था अत्यन्तै जटिल र चुनौतीपूर्ण मोडमा आइपुगेको विश्लेषण गर्न थालिएको छ ।
सोमबार बिहान मात्रै कुवेतले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरी आकाशमा देखिएका सुरक्षा खतराप्रति जवाफी कारबाही गरेको स्पष्ट पारेको छ । इरानले अमेरिकी हवाई आक्रमणको प्रतिक्रियास्वरूप यो कदम चालेको दाबी गरे तापनि कुवेती सेनाले तत्काल कुनै ठूलो क्षति वा मानवीय हताहत भएको पुष्टि गरिसकेको छैन । यसैगरी, बहराइनले पनि सम्भावित मिसाइल आक्रमणको खतरालाई मध्यनजर गर्दै सोमबार दुई पटकसम्म चेतावनी दिने साइरन बजाएको जनाएको छ । ओमानको तटनजिक इरानले एउटा व्यावसायिक कन्टेनर जहाजलाई लक्षित गरेपछि विश्व व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण मानिने यो जलमार्ग फेरि अन्तर्राष्ट्रिय चिन्ता र बहसको केन्द्र बनेको छ । विश्वभर खपत हुने कच्चा तेल र प्राकृतिक ग्यासको करिब पाँचौँ भाग यही जलमार्गबाट ओसारपसार हुने भएकाले यहाँको अस्थिरताले विश्व ऊर्जा बजारमा प्रत्यक्ष र गम्भीर प्रभाव पार्ने देखिएको छ ।
इरान र अमेरिकाबीच स्थायी रूपमा युद्ध अन्त्य गर्नका लागि ६० दिने अन्तरिम सहमति भएको थियो । उक्त कूटनीतिक सम्झौताले आफ्नो आधा अवधि पार गरिसकेको भए पनि यसले यस क्षेत्रमा अपेक्षित शान्ति दिन सकेको छैन । बरू, पछिल्ला समयमा भएका लगातारका भीषण आक्रमण र प्रतिआक्रमणले जारी कूटनीतिक प्रयासलाई नै ठूलो चुनौती दिएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यदि पूर्णरूपमा युद्ध पुनः सुरु भएमा त्यसका परिणामहरू निकै विनाशकारी हुने चेतावनी दिनुभएको छ । उहाँले दुवै पक्षलाई हदैसम्मको संयमता अपनाउन विशेष आग्रह गर्नुभएको छ ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्डले सोमबार इरानका हवाई प्रतिरक्षा प्रणाली, राडार केन्द्र, मिसाइल तथा ड्रोन पूर्वाधार र साना नौकासहित दर्जनौँ सैन्य लक्ष्यहरूमा ठूलो आक्रमण गरिएको जनाएको छ । सेन्ट्रल कमाण्डले स्ट्रेट अफ हर्मुज विश्वव्यापी व्यापारका लागि अत्यन्तै महत्त्वपूर्ण समुद्री मार्ग भएकाले यसमा इरानको नियन्त्रण कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेको छ । अमेरिकी सेनाका सेन्ट्रल कमाण्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले सो जलमार्ग हुँदै यात्रा गरिरहेका व्यावसायिक जहाजहरूमाथि निरन्तर गोलाबारी गरिरहेको दाबी गर्नुभएको छ । उहाँका अनुसार पछिल्लो एक घण्टाभित्र सो क्षेत्रमा व्यावसायिक जहाजहरूलाई लक्षित गरी गोलाबारी गरिएको छ र अमेरिकी सेनाले हालसम्म इरानको एउटा क्रुज मिसाइल र एउटा ड्रोन खसालिसकेको छ ।
यता, इरानको इस्लामिक रिभोलुसनरी गार्डले भने अमेरिकी दाबीलाई पूर्णरूपमा अस्वीकार गरेको छ । उनीहरूले स्ट्रेट अफ हर्मुज आफ्नै क्षेत्र भएको र त्यहाँ कुनै पनि बाह्य सैन्य हस्तक्षेप स्वीकार नगर्ने स्पष्ट पारेका छन् । गार्डले अमेरिकी उपस्थितिलाई गैरकानुनी भन्दै आवश्यक परेमा थप प्रतिकार गर्ने चेतावनीसमेत दिएको छ । इरानी सरकारी सञ्चार माध्यमका अनुसार सोमबार बिहान भएको अमेरिकी आक्रमणका क्रममा विभिन्न स्थानमा विस्फोटहरू भएका छन् र कम्तीमा एक जनाको ज्यान गएको छ । अलजजिराको रिपोर्टअनुसार बन्दर अब्बास, सिरिक, जास्क तथा केश्म टापुमा ठूला विस्फोटका आवाजहरू सुनिएका छन् । तीन साताअघि भएको युद्धविराम सम्झौतापछि अमेरिकाले सुरु गरेको पाँचौँ चरणको सैन्य कारबाहीअन्तर्गत यी आक्रमणहरू गरिएको बताइएको छ । इरानी सरकारी सञ्चार माध्यमका अनुसार होर्मो प्रान्तका विभिन्न सैन्य क्षेत्रहरूलाई लक्षित गरी यी हवाई आक्रमणहरू गरिएका हुन् । इरानले भने यसअघि आफूले यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाविरुद्ध जवाफी कारबाही गरेको जनाएको थियो ।
यसैबीच, इरानको खुजेस्तान प्रान्तस्थित माहसहरमा रहेको एक कृषिजन्य पानी पम्पिङ स्टेसनमा भएको क्षेप्यास्त्र आक्रमणमा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । इरानी समाचार एजेन्सी इर्नाका अनुसार सुरक्षा तथा कानुन प्रवर्तन मामिलाका उपगभर्नर बलियोल्लाह हयातीले सोमबार बिहान भएको सो आक्रमणमा केन्द्रका एक सुरक्षागार्डको मृत्यु भएको पुष्टि गर्नुभएको छ । उहाँले घाइतेहरूको उपचारका लागि आपत्कालीन उद्धार तथा स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिनुभएको छ ।
यो आक्रमण अमेरिकाले इरानभित्र कम्तीमा १४० वटा लक्ष्यमा प्रहार गरेको र त्यसको जवाफमा इरानले बहराइन, कुवेत, ओमान, कतार तथा जोर्डनस्थित अमेरिकी सैन्य उपस्थितिलाई लक्षित गर्दै प्रतिशोधात्मक आक्रमण सुरु गरेको दाबी गरेको भोलिपल्ट भएको हो । इरान र पश्चिमबीच लामो समयदेखि मध्यस्थकर्ताको भूमिका खेल्दै आएको ओमानले समेत पछिल्लो आक्रमणप्रति असन्तुष्टि जनाउँदै इरानी कूटनीतिज्ञलाई बोलाएर कडा विरोध जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा परेको असर
आइतबार अमेरिकी सेनाले करिब १४० सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको थियो, जसलाई पछिल्ला सातामा गरिएको सबैभन्दा ठूलो सैन्य कारबाही मानिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकी सेनाले इरानी लक्ष्यहरूमा व्यापक बमबारी गरेको पुष्टि गर्नुभएको छ । उहाँले यो जलमार्ग व्यावसायिक जहाजहरूको आवागमनका लागि पूर्णरूपमा खुला रहेको दाबी गर्नुभएको छ । तर, इरानले अमेरिकाले जलमार्गमा सैन्य हस्तक्षेप जारी राखेसम्म हर्मुज बन्द गर्ने प्रयास जारी रहने अडान दोहोर्याएको छ । दुवै पक्षबीच जलमार्ग र त्यस आसपासका क्षेत्रमा लगातार सैन्य गतिविधि भइरहेका कारण अहिले व्यावहारिक रूपमा कति जहाज सुरक्षित रूपमा आवतजावत गर्न सक्षम छन् भन्ने गम्भीर प्रश्न उठ्न थालेको छ ।
इरानी संसद्का अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर कालिबाफले अब एकतर्फी सम्झौताको समय समाप्त भएको बताउनुभएको छ । उहाँले आफ्नो प्रतिबद्धता पूरा नगर्ने पक्षले यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । इरानका नयाँ सर्वोच्च नेता अयातुल्ला मोजताबा खमेनीले आफ्ना पिता अयातुल्ला अली खमेनीको अन्त्येष्टिपछि पहिलो पटक सार्वजनिक वक्तव्य जारी गर्दै इरानमाथि भएका आक्रमणको कडा प्रतिशोध लिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँको यो घोषणाले क्षेत्रमा तनाव अझै बढ्ने संकेत गरेको छ ।
यो युद्धको सीधा प्रभाव विश्व ऊर्जा बजार र आर्थिक क्षेत्रमा स्पष्ट रूपमा देखिन थालेको छ । युद्धको सुरुवाती चरणमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १२० अमेरिकी डलरसम्म पुगेको थियो । पछिल्ला दिनमा यो मूल्य केही घटे पनि ब्रेन्ट कच्चा तेलको मूल्य बढेर प्रति ब्यारेल करिब ७९ अमेरिकी डलर पुगेको छ । जहाज ट्रयाकिङ गर्ने संस्था केपलरको तथ्यांकअनुसार युद्ध सुरु हुनुअघि होर्मुज जलमार्गबाट दैनिक करिब १३० वटा जहाज आवतजावत गर्ने गरेकोमा गत बिहीबार यो संख्या घटेर दैनिक करिब २२ वटा जहाजमा मात्र सीमित भएको छ । विश्लेषकहरूका अनुसार होर्मुज जलमार्गमा बढ्दो असुरक्षाले विश्वव्यापी ऊर्जा आपूर्ति शृँखलामा ठुलो दबाब सिर्जना गरिरहेको छ ।
इन्धनको मूल्य निरन्तर बढ्न थालेपछि यसको राजनीतिक असर अमेरिकाभित्र पनि देखिन थालेको छ । बढ्दो इन्धन मूल्यले ट्रम्प प्रशासनमाथि ठूलो राजनीतिक दबाब बढाएको छ । अमेरिकामा आगामी नोभेम्बर महिनाको कंग्रेस निर्वाचन नजिकिँदै जाँदा यो ऊर्जा मूल्यवृद्धिले रिपब्लिकन पार्टीका लागि थप राजनीतिक चुनौती सिर्जना गर्नसक्ने आँकलन गरिएको छ । यद्यपि, युद्ध अन्त्यका लागि पाकिस्तान, कतार र इजिप्ट लगायतका देशहरूले मध्यस्थताको प्रयासलाई जारी राखेका छन् । वार्तासँग नजिक रहेका एक क्षेत्रीय अधिकारीका अनुसार युद्धविरामलाई स्थायी बनाउने कूटनीतिक प्रयासहरू अझै रोकिएका छैनन् । पाकिस्तानले आफ्ना विदेश मन्त्रीले इरानका वरिष्ठ कूटनीतिज्ञसँग टेलिफोन वार्ता गरी दुवै पक्षलाई तनाव कम गर्न र संयमता अपनाउन आग्रह गरेको जनाएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर