काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विभिन्न कर तथा सेवा शुल्कमा विशेष छुट र सहुलियतको व्यवस्था गरेको छ। महानगरले करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्पत्ति कर, व्यवसाय कर, दर्ता शुल्क तथा अन्य सेवामा आकर्षक छुटको घोषणा गरेको हो।
सोमबार आयोजित पत्रकार सम्मेलनमा महानगर प्रमुख चिरिबाबु महर्जनले नवौं नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै कर छुटसम्बन्धी व्यवस्था जानकारी दिनुभयो।
उहाँका अनुसार आर्थिक वर्ष २०८३/०८४ मा बुझाउनुपर्ने सम्पत्ति कर, भूमि कर तथा मालपोत असोज मसान्तभित्र बुझाउने करदाताले देय करमा १० प्रतिशत छुट पाउनेछन्।
महानगरमा दर्ता भएर नवीकरण हुन बाँकी उद्योग तथा व्यवसायले पुस मसान्तभित्र सम्पूर्ण बक्यौता रकम बुझाए आर्थिक वर्ष २०७३/०७४ सम्मको व्यवसाय कर र बहाल करमा लागेको सम्पूर्ण जरिवाना मिनाहा गरिनेछ। साथै, आर्थिक वर्ष २०७४/०७५ देखि २०८२/०८३ सम्मको व्यवसाय करमा लागेको जरिवानामा पनि शतप्रतिशत छुट दिइने व्यवस्था गरिएको छ।
महानगरले तोकिएको समयभित्र बक्यौता रकम नतिरे छुट सुविधा नपाइने र प्रचलित कानुनअनुसार जरिवानासहित कर असुल गरिने स्पष्ट गरेको छ।
यस्तै, चालु आर्थिक वर्षको असार मसान्तभित्र व्यवसाय नवीकरण गर्ने व्यवसायीलाई नवीकरण शुल्कमा २५ प्रतिशत छुट दिइनेछ। चालु आर्थिक वर्षको सम्पत्ति कर तिरेको प्रमाण पेस गर्ने करदाताले सिफारिस दस्तुरमा १५ प्रतिशत छुट पाउने व्यवस्था पनि गरिएको छ।
सामाजिक समावेशीकरणलाई प्राथमिकता दिँदै महानगरले एकल महिला, दलित, अपाङ्गता भएका व्यक्ति, अपाङ्गता भएका व्यक्तिको समूह तथा महिला समूहद्वारा सञ्चालित व्यवसायको दर्ता शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।
वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्न महानगरले विद्युतीय सवारी साधन प्रयोगकर्ताका लागि पनि विशेष सुविधा घोषणा गरेको छ। सम्पत्ति कर बुझाउँदा सम्बन्धित करदाता वा उहाँका श्रीमान्/श्रीमतीको नाममा रहेको विद्युतीय सवारी साधनको ब्लुबुक पेस गरेमा चालु आर्थिक वर्षको सम्पत्ति करमा थप १ प्रतिशत छुट प्रदान गरिनेछ।
पत्रकार सम्मेलनमा मेयर महर्जनले महानगरको चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति पनि सार्वजनिक गर्नुभयो। उहाँका अनुसार कुल बजेट खर्च ६८ प्रतिशत पुगेको छ। पुँजीगत खर्च ६०.४५ प्रतिशत र चालु खर्च ८३.२६ प्रतिशत रहेको छ भने राजस्व संकलन ७५.३१ प्रतिशत भएको महानगरले जनाएको छ।
त्यस्तै, आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणअनुसार बेरुजु ०.४४ प्रतिशत रहेको छ। वित्तीय जोखिम मूल्याङ्कनमा महानगरले ९९.५ अंक, स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ९३.५ अंक तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कनमा ७६.३२ प्रतिशत अंक प्राप्त गरेको महानगरले जनाएको छ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर