सन् १६८७ मा सर आइज्याक न्युटनद्वारा लिखित ‘प्रिन्सिपिया म्याथेमेटिका’ नामक पुस्तकले मानव सभ्यताको गति र दिशा दुवै बदलिदियो । उक्त पुस्तकमा उल्लेख गरिएका गतिका तीन सामान्य नियमले आजसम्म पनि हरेक गाडी, हरेक पुल, हरेक जहाज र हरेक रकेटको डिजाइनलाई डोहोर्याइरहेको छ । तर विडम्बना, नेपालका लाखौं विद्यार्थीका लागि यी नियमहरू सिकाइका विषय होइनन्, केवल परीक्षाका उत्तर हुन्- परीक्षा सकिएपछि ती पनि सकिन्छन् । यो नेपालको शिक्षा प्रणालीले गरेको सबैभन्दा ठूलो अन्याय हो किनकि न्युटनका यी नियम विज्ञानको कुनै साधारण अध्याय होइनन्, संसारलाई चलाइरहेको इन्जिन हुन् ।
न्युटनका तीन नियम भौतिकशास्त्रको कुनै अलग अध्याय नभै आधुनिक इन्जिनियरिङको साझा भाषा हो, जसलाई बुझिएन भने कुनै पनि प्राविधिक क्षेत्रमा गहिराइमा जान सकिँदैन ।
न्युटनले यी नियम कसरी खोजे ?
न्युटनले यी नियम कुनै प्रयोगशालामा बसेर होइन, आकाशमा गतिशील ग्रहहरूको गति बुझ्ने प्रयासबाट पत्ता लगाएका थिए । ग्यालिलियो र केप्लरले ग्रहहरूको गति पहिले नै अवलोकन गरिसकेका थिए, तर तिनको गति ‘किन’ त्यस्तो हुन्छ भन्ने प्रश्नको जवाफ कसैसँग थिएन । न्युटनले यही प्रश्नको उत्तर खोज्दै गर्दा गति र बलबीचको सम्बन्धलाई गणितीय रूपमा सूत्रबद्ध गरे । पहिलो नियमले वस्तुले आफ्नो अवस्था (स्थिर वा गतिशील)आफैं परिवर्तन गर्न नसक्ने कुरा बताउँछ, दोस्रो नियमले बल, द्रव्यमान (पिण्ड) र त्वरण (प्रवेग)बीचको सम्बन्ध स्थापित गर्छ, र तेस्रो नियमले हरेक क्रियाको बराबर र विपरीत प्रतिक्रिया हुने कुरा प्रमाणित गर्छ । यी तीन नियम अत्यन्त सरल देखिन्छन्, तर यिनैको आधारमा नै आजको आधुनिक सभ्यता उभिएको छ । न्युटनको तेस्रो नियमले नै रकेटलाई अन्तरिक्षमा पुर्याउँछ, अनि त्यही नियमले नै हामीलाई हिँड्न पनि सघाउँछ-फरक यत्ति हो, एउटा किताबमा छ, अर्को जीवनमा ।
एरोस्पेस इन्जिनियरिङमा न्युटनको साम्राज्य
एरोस्पेस क्षेत्रमा न्युटनका नियमहरू शाब्दिक अर्थमै जीवन–मरणका प्रश्न बन्छन् । रकेटमाथि उड्नुको मुख्य कारण तेस्रो नियम हो–इन्धनबाट उत्पन्न तातो ग्यास जमिन तिर फ्याँकिँदा त्यसको बराबर र विपरीत प्रतिक्रियाले रकेटलाई माथि धकेल्छ । यही सिद्धान्तलाई गणितीय रूपमा विस्तार गरेर ‘सिओल्कोभस्की रकेट समीकरण’ बनाइएको छ, जसले रकेटको इन्धन र प्राप्त गर्न सकिने वेगबीचको सम्बन्ध स्पष्ट गर्छ । विमानको उडानमा दोस्रो नियम प्रयोग गरी इन्जिनको प्रणोदन बल (थ्रस्ट)र विमानको तौलबीचको सन्तुलन मापन गरिन्छ, जसले उडानको सुरक्षा सुनिश्चित गर्छ । स्याटेलाइटलाई पृथ्वीको स्थिर रूपमा परिक्रमा गराइराख्न पहिलो नियम र गुरुत्वाकर्षणको सिद्धान्तको संयुक्त रूपमा प्रयोग गरिन्छ, जहाँ स्याटेलाइट सिधा अघि बढ्न खोज्छ, तर पृथ्वीको गुरुत्वले उसलाई निरन्तर पृथ्वीतर्फ तानिरहन्छ, जसका कारण स्याटेलाइट न त पृथ्वीमा खस्छ, न त अन्तरिक्षमा हराउँछ । नासा र इसरो जस्ता संस्थाले हरेक मिसन योजना बनाउँदा यिनै आधारभूत सिद्धान्तबाटै सुरु गर्छन्, त्यसपछि मात्र जटिल कम्प्युटर मोडेलिङको आवश्यकता पर्छ ।
सबै उद्योगको आधारभूत नियम
अन्तरिक्षदेखि कारखानासम्म, आधुनिक उद्योग न्युटनका नियममै उभिएका छन् । अटोमोबाइल उद्योगमा गाडीको ब्रेक प्रणाली दोस्रो नियममा आधारित छ, जहाँ ब्रेकले लगाउने बलले गाडीको द्रव्यमान र गतिलाई नियन्त्रण गर्छ । भूकम्परोधी भवन डिजाइनमा इन्जिनियरहरूले पहिलो र दोस्रो नियम प्रयोग गरी भवनको संरचनाले भूकम्पीय बललाई कसरी थेग्छ भनेर मापन गर्छन् । जलविद्युत् क्षेत्रमा पानीको गति र त्यसबाट टर्बाइनमा उत्पन्न हुने बल मापन गर्न पनि यिनै सिद्धान्त प्रयोग गरिन्छ । रोबोटिक्स र औद्योगिक स्वचालनमा रोबोटिक हातको गति नियन्त्रण गर्न न्युटनको गति समीकरण नै प्रयोग गरिन्छ । यसरी हेर्दा, न्युटनका तीन नियम भौतिकशास्त्रको कुनै अलग अध्याय नभै आधुनिक इन्जिनियरिङको साझा भाषा हो, जसलाई बुझिएन भने कुनै पनि प्राविधिक क्षेत्रमा गहिराइमा जान सकिँदैन ।
परीक्षा प्रणाली पनि बुझाइभन्दा घोकाइमा आधारित भएकाले विद्यार्थीले ‘किन’ भन्दा पनि ‘के’ मात्र सिक्छन् । यसरी संसारकै सबैभन्दा शक्तिशाली वैज्ञानिक सिद्धान्त आज कक्षाकोठामा एउटा निर्जीव सूत्रमा सीमित हुन पुगेको छ ।
नेपाली विद्यालयमा किन बिर्सिन्छ यो विज्ञान ?
नेपालका विद्यालयमा न्युटनका नियम पढाउने तरिका हेर्दा यसलाई विद्यार्थीले किन बिर्सन्छन् भन्ने प्रश्नको उत्तर सजिलै भेट्न सकिन्छ । कक्षाकोठामा भन्ने समीकरण कालोपाटीमा लेखिन्छ, विद्यार्थीले नोट सार्छन्, केही अंकगणितीय उदाहरण हल गरिन्छ, र परीक्षामा त्यही समीकरण सोधिन्छ । तर, यही समीकरणले नै कसरी रकेट उडाउँछ, गाडीको ब्रेक बनाउँछ र भूकम्पविरुद्ध भवन जोगाउँछ भनेर कहिल्यै सिकाइदैन । विद्यालयमा भौतिक प्रयोगशाला या त छैनन्, या भए पनि गति र बलसम्बन्धी प्रयोग गर्ने उपकरणको अभावमा थन्किएका छन । शिक्षकहरू आफैं यी सिद्धान्तको औद्योगिक वा एरोस्पेस प्रयोगबारे प्रशिक्षित छैनन्, त्यसैले उनीहरूले पनि विद्यार्थीलाई घोकाउनुबाहेक विकल्प देख्दैनन । परीक्षा प्रणाली पनि बुझाइभन्दा घोकाइमा आधारित भएकाले विद्यार्थीले ‘किन’भन्दा पनि ‘के’मात्र सिक्छन् । यसरी संसारकै सबैभन्दा शक्तिशाली वैज्ञानिक सिद्धान्त आज कक्षाकोठामा एउटा निर्जीव सूत्रमा सीमित हुन पुगेको छ ।
समाधान के ?
यो अवस्था परिवर्तनका लागि धेरै ठूलो लगानी आवश्यक पर्दैन, आवश्यक पर्ने भनेको दृष्टिकोण र शिक्षण पद्धतिमा आधारभूत परिवर्तनमात्र हो । पहिलो, हरेक भौतिकशास्त्र कक्षामा न्युटनका नियम पढाउँदा कम्तीमा एउटा वास्तविक इन्जिनियरिङ उदाहरण–चाहे त्यो रकेट होस्, गाडीको ब्रेक होस् वा पुलको संरचना होस्–अनिवार्य रूपमा देखाइनुपर्छ । दोस्रो, विद्यालयमा साधारण तर प्रभावकारी रूपमा प्रयोग गर्न सकिने जस्तै साना बेलुन–रकेट बनाएर तेस्रो नियम प्रत्यक्ष देखाउने, वा साइकलको पांग्रा घुमाएर गतिको जडत्व बुझाउने गतिविधि नियमित पाठ्यक्रमकै अभिन्न अंग बनाइनुपर्छ । तेस्रो, शिक्षक तालिममै भौतिकशास्त्रका सिद्धान्तलाई एरोस्पेस, अटोमोबाइल र निर्माण उद्योगसँग जोड्ने व्यावहारिक मोड्युल थपिनुपर्छ । चौथो, परीक्षा प्रणालीमा ‘किन हुन्छ’ र ‘कहाँ प्रयोग हुन्छ’ भन्ने खालका विश्लेषणात्मक प्रश्न समावेश गरी घोकाइलाई निरुत्साहित गरिनुपर्छ । साथै, नेपालभित्रै रहेका विमानस्थल, जलविद्युत् आयोजना वा निर्माणस्थललाई शैक्षिक भ्रमणको माध्यम बनाई विद्यार्थीले आफ्नै आँखाले यी सिद्धान्त कार्यान्वयनमा देख्ने अवसर मिलाउनुपर्छ ।
न्युटनका गतिका नियम संसारकै सबैभन्दा शक्तिशाली वैज्ञानिक उपलब्धिमध्ये हुन, किनकि यिनै नियमले पृथ्वीदेखि अन्तरिक्षसम्म, गाडीदेखि रकेटसम्म सबैको चाल र गतिको व्याख्या गर्छन् । यसलाई केवल परीक्षाका लागि घोकिने विषय बनाइराख्नु भनेको आफ्नै भविष्यका इन्जिनियर, वैज्ञानिक र अन्वेषकहरूको सम्भावनालाई ध्वस्त पार्न्नु हो । नेपालका विद्यालयले आजै यो दृष्टिकोण बदल्नसक्यो भनेमात्र भोलिका दिनमा हामीले आफ्नै रकेट, आफ्नै स्याटेलाइट र आफ्नै प्राविधिक समाधान निर्माण गर्नसक्ने पुस्ता तयार गर्न सक्नेछौं ।
(लेखक ई.गौतम एरोस्पेस इन्जिनियर, प्रविधि विशेषज्ञ र स्वतन्त्र विश्लेषक हुनुहुन्छ ।)







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर