काठमाडौं । ललितपुर महानगरपालिकाले पैदलयात्रीको सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले जावलाखेलमा ‘स्मार्ट सेफ्टी ब्यारेड’ सञ्चालनमा ल्याएको छ । नेपालमै पहिलोपटक परीक्षणका रूपमा जडान गरिएको यो प्रणालीले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्दै सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको महानगरले जनाएको छ ।
ललितपुर महानगरपालिका नगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुले ट्राफिक बत्तीसँग समन्वय गरी सञ्चालन हुने स्मार्ट सेफ्टी ब्यारेडले पैदलयात्रीलाई तोकिएको समयमा मात्रै जेब्रा क्रसिङ प्रयोग गर्न प्रेरित गर्ने बताउनुभयो । उहाँकाअनुसार हरियो बत्ती बल्दा ब्यारेड स्वतः खुल्ने र रातो बत्ती बल्दा स्वतः बन्द हुने भएकाले रातो बत्तीमा सडक काट्ने प्रवृत्ति नियन्त्रण गर्न मद्दत पुग्नेछ ।
ब्यारेडमा जडान गरिएको सेन्सर प्रणालीका कारण सडक पार गरिरहेका पैदलयात्री बीचमै रहेका बेला ब्यारेड बन्द नहुने व्यवस्था गरिएको छ । यसले पैदलयात्रीलाई सुरक्षित रूपमा सडक पार गर्न सहयोग गर्ने र दुर्घटनाको जोखिम कम गर्ने विश्वास महानगरको छ ।
महानगरले जेब्रा क्रसिङबाहेक अन्य स्थानबाट सडक पार गर्ने प्रवृत्ति नियन्त्रण गर्न सडकको दायाँ-बायाँ गमलासमेत राख्ने तयारी गरेको जनाएको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ट्राफिक नियमको बेवास्ता र जेब्रा क्रसिङको उचित प्रयोग नहुँदा विगतमा पैदलयात्री दुर्घटनाका घटना बढेको उल्लेख गर्दै स्मार्ट सेफ्टी ब्यारेडले पैदलयात्री र सवारी चालक दुवैका लागि सुरक्षित तथा व्यवस्थित सडक वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
हाल जावलाखेलका दुई स्थानमा परीक्षणका रूपमा स्मार्ट सेफ्टी ब्यारेड जडान गरिएको जानकारी दिँदै उहाँले परीक्षण सफल भए ललितपुर महानगरभित्र ट्राफिक बत्ती जडान भएका सबै प्रमुख चोकमा यस प्रविधिलाई क्रमशः विस्तार गरिने बताउनुभयो ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर