बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको बागलुङ-बुर्तिबाङ खण्डअन्तर्गत काठेखोला गाउँपालिका-६ इनारपानी क्षेत्रमा आज बिहान खसेको पहिरोले लोकमार्ग अवरुद्ध भएको हो ।
सोमबारदेखिको अविरल वर्षाका कारण सडकमा ठूलो पहिरो झरेपछि लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा पोखरा, काठमाडौं जाने सवारीसाधान चल्न सकेका छैनन् ।
काठमाडौंदेखि बागलुङको बुर्तिबाङ, रोल्पा, रुकुम, डोल्पालगायत पश्चिम नेपाल छुटेको यात्रीबस पनि सडकमै अलपत्र परेको प्रहरी नायब उपरीक्षक त्वातीले बताउनुभयो । सडकमा पहिरोसहित ठूलो ढुङ्गा अडिदा सडक खुलाउन केही समय लाग्ने देखिएको छ । उहाँले भन्नुभयो, “सडकमा ठूलो पहिरो खसेको छ, तत्कालै खुलाउन सकिने अवस्था छैन, यद्यपि खुलाउने प्रयास भइरहेको छ ।”
वर्षाले नवलपुरमा पहिरो र डुबान, नौ घरपरिवार प्रभावित
लगातारको वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पहिरो र डुबानका घटना बढेका छन् । विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै नौ घरमा पानी पसेपछि ३५ जना विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का अनुसार गैँडाकोट नगरपालिका-४ डनचोक क्षेत्रमा जङ्गलबाट आएको बाढी र नालीको पानी घरमा पस्दा नौ घरमा क्षति पुगेको छ । तीमध्ये आठ घरका ३५ जना स्थानीय आफन्त तथा छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।
घटनामा मानवीय तथा चौपायाको क्षति नभए पनि थप क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
गैँडाकोट नगरपालिका-१५ मा वडाध्यक्ष प्रेमराज तिमिल्सिनाको घरको तल्लो तलामा वर्षाको पानी र नालीको पानी पस्दा करिब २० क्विन्टल धान तथा लत्ताकपडा भिजेको छ । सोही क्षेत्रमा स्थानीय सुदीप रानाभाटको घरमा पनि पानी पस्दा लत्ताकपडा भिजेको भए पनि मानवीय क्षति वा विस्थापन भएको छैन । अस्थायी प्रहरीपोस्ट बेल्डिहाबाट प्रहरी टोली परिचालन गरी आवश्यक समन्वय गरिएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।
गैँडाकोट नगरपालिका-३ चिसापानी नजिक कालीगण्डकी करिडोर सडकखण्डमा सोमबार राति अविरल वर्षापछि माथिबाट पहिरो खस्नुका साथै सिसौ र सालका रुख ढलेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी टोली घटनास्थलमा खटिई सडक खुलाउने समन्वय भइरहेको जनाइएको छ ।
यसअघि हुप्सेकोट गाउँपालिका-४ र ५ को सिमानामा रहेको रातेखोलामा पानीको बहाव बढ्दा रुम्झाटार जाने भित्री सडक अवरुद्ध भएको थियो । साथै, हुप्सेकोट गाउँपालिका-६ बाडाखोलामा पहिरो खस्दा झ्यालवासदेखि वडा नं ६ कार्यालय जाने भित्री सडकसमेत अवरुद्ध भएको छ । दुवै स्थानमा प्रहरी तथा स्थानीय तहको समन्वयमा सडक खुलाउने प्रयास जारी छ ।
अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो, डुबान र सडक अवरोधका घटना देखिएको बताउँदै प्रहरी उपरीक्षक खड्काले प्रभावित क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको जानकारी दिनुभयो । वर्षा निरन्तर भइरहेकाले जिल्लाका नदी किनार, पहाडी सडक तथा जोखिमयुक्त बस्तीमा निगरानी बढाइएको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर