मोरङ । कोशी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ। प्रदेशभरका लक्षित उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि प्रदेश सरकारले औपचारिक रूपमा घोषणा गरेको हो।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशभर पूर्ण खोप सुनिश्चितता भए-नभएको यकिन गरेपछि प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्नुभएको हो। स्थानीय तहमा छुटेका १५ महिनामुनिका उमेर समूहका तीन हजार ७१२ बालबालिकालाई आवश्यक खोप प्रदान गरेपछि उक्त घोषणा गरिएको हो।
नेपाल सरकारले स्थानीय तहमार्फत गर्भवती महिला र बालबालिकाका लागि १४ प्रकारका घातक रोगविरुद्ध निःशुल्क खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसअन्तर्गत क्षयरोग (टिबी), भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस-बी, होमोफिलस इन्फ्लुएन्जा टाइप-बी, पोलियो, दादुरा, रुबेला, जापानी इन्सेफ्लाइटिस, निमोनिया, रोटाभाइरस, टाइफाइड तथा पाठेघरको मुखको क्यान्सरविरुद्धका खोप निःशुल्क उपलब्ध गराइन्छ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत लक्षित उमेर समूहका सबै बालबालिकाले समयमै खोप पाए-नपाएको सुनिश्चित गर्ने जिम्मेवारी स्थानीय सरकारको रहेको छ।
सरकारले अभिभावकलाई नवजात शिशु र गर्भवती महिलालाई तोकिएको समयमै नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रमा लगी निःशुल्क खोप लगाउन आग्रह गरेको छ । खोपले बालबालिकालाई विभिन्न संक्रामक तथा घातक रोगबाट सुरक्षित राख्नुका साथै समुदायमा रोगको संक्रमण नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर