काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र साहलाई ‘श्री ८’ बनाउने प्रयास भइरहेको आरोप लगाउनुभएको छ। उहाँले सरकारले प्रधानमन्त्रीलाई प्रश्न गर्न नपाइने वातावरण सिर्जना गर्दै नागरिकका अधिकारमाथि अंकुश लगाएको दाबी गर्नुभयो।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सचेतक राईले सरकारको आलोचना गर्ने व्यक्ति, सञ्चारमाध्यम र राजनीतिक नेतृत्वलाई त्रसित बनाउने गतिविधि भइरहेको आरोप लगाउनुभयो। उहाँले कांग्रेस सभापति गगन थापाको निवास तथा कान्तिपुर र अनलाइनखबरजस्ता सञ्चारगृह अगाडि गाडी पार्किङ गरेर डर र त्रासको वातावरण सिर्जना गरिएको उल्लेख गर्नुभयो।
उहाँले सुकुम्बासी बस्तीमा भएको कारबाही, गणेश नेपालीको मृत्यु प्रकरण तथा सडकमा गाडी छाडेर गरिएको अवरोधलाई एउटै प्रवृत्तिको निरन्तरता भएको बताउँदै प्रश्न उठाउनेहरूलाई दण्डित गर्ने नीति सरकारले अवलम्बन गरेको आरोप लगाउनुभयो।
सचेतक राईले गृहमन्त्रीले घटनाप्रति जिम्मेवारी नलिएर स्थानीय तहलाई दोष थोपर्ने प्रयास गरेको पनि टिप्पणी गर्नुभयो। उहाँले सरकारले आफ्ना कमजोरी स्वीकार गर्नुको सट्टा नागरिकमाथि दोषारोपण गरिरहेको बताउनुभयो।
उहाँले बहुमत प्राप्त हुनु संविधान उल्लङ्घन गर्ने वा जनताका अधिकार कुल्चिने अनुमति नभएको स्पष्ट पार्दै सरकारले प्रधानमन्त्रीलाई संविधान र कानुनभन्दा माथि राख्न खोजेको आरोप लगाउनुभयो। प्रधानमन्त्रीलाई प्रश्न गर्न नपाइने संस्कृति स्थापित गर्न खोजिएको भन्दै उहाँले त्यसले लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर चुनौती सिर्जना गरेको बताउनुभयो।
सचेतक राईले सरकारले नागरिकलाई आफूले सुन्न चाहेका कुरा मात्रै बोल्न र देखाउन चाहेका कुरा मात्रै हेर्न बाध्य पार्न खोजेको आरोप लगाउँदै यस्तो प्रवृत्तिले लोकतन्त्र कमजोर बनाउने चेतावनी दिनुभयो।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर