काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक सञ्जाल र फोनमार्फत निरन्तर ज्यान मार्ने धम्की आइरहेको भन्दै प्रतिनिधिसभाको ध्यानाकर्षण गराउनुभएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक महरले सरकारका कामको गुण र दोषका आधारमा आफ्नो धारणा राख्दा आफूलाई निशाना बनाइएको बताउनुभयो। उहाँले संसद् चलिरहेकै बेला फेसबुकमार्फत समेत गोली हानेर मार्ने धम्की आएको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, ‘भर्खरैमात्रै दुई जनाले मेरो स्टाटसमा कमेन्ट गर्नुभएको छ। म यहाँ पढेर सुनाउन चाहन्छु– "ऐन महर, आम्मा कसम तलाई म गोली हानेर मार्छु" भनेर आफ्नो नम्बर पनि दिनुभएको छ, सभामुख महोदय। उहाँले आफ्नो ठेगाना पनि दिनुभएको छ। आजै भन्नुभएको हो।’
प्रमुख सचेतक महरका अनुसार ‘पराजुली राम’ नामको फेसबुक आईडीबाट गोली हान्ने धम्की आएको छ। साथै, पूर्णविक्रम क्षेत्री नामका अर्का व्यक्तिबाट पनि भौतिक आक्रमणको धम्की प्राप्त भएको उहाँले सदनलाई जानकारी गराउनुभयो।
उहाँले आफूहरू जनताको अभिमत लिएर संसद्मा पुगेको उल्लेख गर्दै सरकारलाई सही बाटो देखाउने उद्देश्यले र जनसरोकारका विषयमा आवाज उठाउँदा यस्ता धम्कीको सामना गर्नुपरेको गुनासो गर्नुभयो।
प्रमुख सचेतक महरले सार्वजनिक रूपमा ज्यान मार्ने धम्की आउनु गम्भीर विषय भएको भन्दै यस घटनाको छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर