ललितपुर । गुणस्तरीय शिक्षाको आधारका रूपमा रहेको बालमैत्री विद्यालय निर्माण अभियानमा ललितपुरको दक्षिणी भेगस्थित कोञ्ज्योसोम गाउँपालिका अग्रसर देखिएको छ । स्थानीय सरकार, विद्यालय, अभिभावक, समुदाय र बालबालिकाबीचको सहकार्यलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले बालअधिकार संरक्षण र सुरक्षित सिकाइ वातावरण निर्माणका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएको छ ।
बालमैत्री विद्यालयको अवधारणाले विद्यालयलाई सुरक्षित, समावेशी, हिंसामुक्त र बालअधिकारमैत्री बनाउने लक्ष्य लिएको छ । विद्यालयमा हुने शारीरिक, मानसिक, भावनात्मक वा लैंगिक हिंसाले बालबालिकाको सिकाइ र व्यक्तित्व विकासमा दीर्घकालीन असर पार्ने भएकाले सुरक्षित वातावरणलाई गुणस्तरीय शिक्षाको पहिलो सर्त मानिएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयको ‘गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालयको राष्ट्रिय प्रारूप-२०६७’ तथा बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि-२०७९ ले विद्यालयमा बालअधिकार संरक्षण, सुशासन र लगानी अभिवृद्धिलाई प्राथमिकता दिएको छ । विद्यालयको भौतिक पूर्वाधार मात्र होइन, विद्यार्थीले कति सुरक्षित महसुस गर्छन्, आफ्ना विचार स्वतन्त्र रूपमा राख्न पाउँछन् वा पाउँदैनन् भन्ने पक्षले पनि विद्यालयको गुणस्तर निर्धारण गर्ने मान्यता छ ।
कोञ्ज्योसोम गाउँपालिकाले ‘शिक्षा ऐन-२०७९’ र ‘बाल अधिकार तथा संरक्षण कार्यविधि-२०८०’ लागू गरी बालमैत्री विद्यालय निर्माणलाई संस्थागत रूप दिएको छ । गाउँपालिका अध्यक्ष कृष्णमान लामाका अनुसार विद्यालयमा आधारित स्वास्थ्य शिक्षा, गाउँ शिक्षा योजना निर्माण, प्रधानाध्यापकहरूको नियमित बैठकलगायत कार्यक्रम सञ्चालन भइरहेका छन् । गाउँपालिकाका बालकल्याण अधिकारी सपना तामाङका अनुसार बालअधिकार समिति गठन, नियमित बैठक तथा सरोकारवालाको क्षमता अभिवृद्धिका कार्यक्रमपछि बालअधिकार संरक्षणमा उल्लेखनीय सुधार आएको छ । गाउँपालिकामा १७ विद्यालय, एक हजार ८१५ विद्यार्थी र १८३ शिक्षक रहेका छन् ।
सडक बालबालिका र बालश्रमको समस्या नरहे पनि बालविवाह पूर्ण रूपमा अन्त्य हुन नसकेको जनाउँदै उहाँले जोखिममा रहेका तथा अभिभावकविहीन बालबालिकाको संरक्षणमा गाउँपालिकाले गैरसरकारी संस्थासँग सहकार्य गरिरहेको जानकारी दिनुभयो । विद्यालयहरूमा बाल संरक्षण, लैंगिक समानता, समावेशी शिक्षा, सुरक्षित सिकाइ वातावरण र बाल सहभागितालाई विद्यालय सुधार योजनामा समेट्न थालिएको छ । साथै गुनासो सुनुवाइ समिति सक्रिय बनेपछि विद्यार्थीका सुझाव र गुनासाको नियमित सम्बोधन हुन थालेको छ ।
गाउँपालिका-५ स्थित बालेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमप्रकाश भट्टराईले बालक्लबमार्फत सञ्चालन हुने अतिरिक्त क्रियाकलापले विद्यार्थीमा नेतृत्व र प्रतिस्पर्धी भावना विकास भएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यनारायण श्रेष्ठका अनुसार कक्षा ८, ९ र १० का विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गरिनुका साथै अभिभावकमा पनि पढाइप्रतिको जिम्मेवारी बढ्दै गएको छ ।
यस्तै, गुप्तेश्वर माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक दीपकप्रसाद तिमिल्सिनाले बालमैत्री शिक्षण र भयरहित सिकाइका लागि शिक्षकहरू तालिमप्राप्त रहेको जानकारी दिनुभयो । बालक्लबका सचिव सुस्मिता घलानले सरसफाइ, वृक्षरोपण, चित्रकला, हस्तलेखन र ‘मेमोरी टेस्ट’ जस्ता अतिरिक्त गतिविधिले पढाइमा सकारात्मक प्रभाव परेको बताउनुभयो । गाउँपालिकाको सहकार्यमा ‘युवालय’ संस्थाले आठ सामुदायिक विद्यालयमा बालमैत्री शिक्षण विधि विस्तार, विद्यालय सुधार योजना निर्माण तथा बाल संरक्षण प्रणाली सुदृढीकरणका कार्यक्रम सञ्चालन गरिरहेको छ । संस्थाका वरिष्ठ कार्यक्रम व्यवस्थापक राजेन्द्र महर्जनले यी कार्यक्रमले बालअधिकार समिति र बालक्लबलाई थप सक्रिय बनाएको बताउनुभयो । कार्यक्रम संयोजक अविनाश कार्कीका अनुसार विद्यालय र समुदायमा बाल संरक्षण प्रणाली स्थापना तथा गुनासो सुनुवाइ संयन्त्र प्रभावकारी बनाउने काम पनि भइरहेको छ ।
अनुसन्धानकर्ता तथा अभियन्ता सञ्जीव अधिकारीले भने विद्यार्थीबीचमा अझै कक्षा छाड्ने समस्या गम्भीर रहेको औँल्याउनुभयो । उहाँका अनुसार २०७२ सालमा कक्षा १ मा भर्ना भएका विद्यार्थीमध्ये २०८२ सालको एसइई परीक्षामा ६९ प्रतिशत मात्रै सहभागी भएका तथ्यांकले विद्यालय छाड्ने प्रवृत्ति नियन्त्रण गर्न पूर्वसूचना प्रणाली, सक्रिय बालक्लब, प्रभावकारी बालअधिकार समिति र शिक्षक-अभिभावक-स्थानीय तहको संयुक्त पहल आवश्यक रहेको देखाउँछ ।
बालमैत्री विद्यालय निर्माणलाई स्थानीय नीति, समुदायको सहभागिता र विद्यालयको सक्रियतासँग जोडेर अघि बढाएको कोञ्ज्योसोम गाउँपालिकाको अभ्यासले सुरक्षित, समावेशी र गुणस्तरीय शिक्षातर्फ सकारात्मक उदाहरण प्रस्तुत गरेको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर