भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले केही समयका लागि रोकिएको कलेजो प्रत्यारोपण सेवा पुनः सञ्चालनमा ल्याएको छ। सेवा पुनः सुरु भएपछि गरिएको पहिलो कलेजो प्रत्यारोपण सफल भएको छ भने प्रत्यारोपित बिरामी ११ दिनमै स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ।
केन्द्रका अनुसार काठमाडौंको असन निवासी ३९ वर्षीया गंगा श्रेष्ठको असार १९ गते सफल कलेजो प्रत्यारोपण गरिएको थियो। उहाँलाई ४७ वर्षीय देवर सञ्जय श्रेष्ठले आफ्नै आधा कलेजो दान गर्नुभएको थियो।
प्रत्यारोपणपछि गंगा श्रेष्ठ असार २९ गते, अर्थात् शल्यक्रियाको ११औँ दिन स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्ज हुनुभएको हो। कलेजोदाता सञ्जय श्रेष्ठ भने शल्यक्रियाको छैटौँ दिन अर्थात् असार २५ गते नै अस्पतालबाट घर फर्किनुभएको केन्द्रले जनाएको छ।
कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. रामबाबु साहका अनुसार कलेजोदाता र कलेजो ग्रहणकर्ता दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको छ। शल्यक्रियापछि कुनै जटिलता नदेखिएको र नियमित चिकित्सकीय निगरानीमा उहाँहरूको स्वास्थ्य सन्तोषजनक रहेको उहाँले बताउनुभयो।
गंगा श्रेष्ठ र सञ्जय श्रेष्ठले पनि स्वदेशमै सहज रूपमा कलेजो प्रत्यारोपण सेवा प्राप्त गर्न पाएकोमा खुशी व्यक्त गर्दै केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्नुभएको छ।
केन्द्रका अनुसार नेपालमै १५ देखि २० लाख रुपैयाँको लागतमा कलेजो प्रत्यारोपण सेवा उपलब्ध भइरहेको छ, जुन विश्वकै न्यून शुल्कमध्ये एक मानिन्छ। यसले आर्थिक अभावका कारण विदेशमा उपचारका लागि जानुपर्ने बाध्यता कम गर्न सहयोग पुगेको केन्द्रको विश्वास छ।
उक्त जटिल शल्यक्रिया डा. रामबाबु साहको नेतृत्वमा सम्पन्न भएको थियो। प्रत्यारोपण टोलीमा डा. रोशन घिमिरे, डा. लोचन श्रेष्ठ, डा. रुजेन बज्राचार्य, डा. मिलन श्रेष्ठ र डा. अमित यादव सहभागी हुनुहुन्थ्यो।
एनेस्थेसिया तथा क्रिटिकल केयर विभागीय प्रमुख डा. आरती राईको नेतृत्वमा डा. निभा श्रेष्ठ, डा. शोभित थापा, रेखा श्रेष्ठ, डा. शिवसुन्दर राजचल, डा. सन्देश खाउजु, डा. रिती फुँयाललगायतको टोलीले शल्यक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेको केन्द्रले जनाएको छ।
केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठले नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण तथा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजो प्रत्यारोपण सेवा यही केन्द्रबाट सुरु भएको बताउनुभयो। उहाँका अनुसार केन्द्र स्थापना भएको १४ वर्षमा १ हजार ६ सय ६६ वटा मिर्गौला र ३७ वटा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भइसकेका छन्। प्रत्यारोपणको सफलता दर ९९ प्रतिशतभन्दा बढी रहेको पनि उहाँले जानकारी दिनुभयो।
उहाँले पर्याप्त पूर्वाधार र आफ्नै भवनको अभाव हुँदाहुँदै पनि केन्द्रले विश्वस्तरीय प्रत्यारोपण सेवा प्रदान गरिरहेको उल्लेख गर्दै आगामी दिनमा सेवा थप विस्तार गरी अझ धेरै नेपाली नागरिकलाई स्वदेशमै गुणस्तरीय प्रत्यारोपण सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताउनुभयो।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर