ओस्लो । फिफा विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएर स्वदेश फर्किएको नर्वे राष्ट्रिय फुटबल टोलीलाई राजधानी ओस्लोमा ऐतिहासिक र भव्य स्वागत गरिएको छ । उपाधि जित्न नसके पनि टोलीले विश्वकपमा गरेको उत्कृष्ट प्रदर्शनको सम्मान स्वरूप लाखौं समर्थक सडकमा उत्रिएका थिए ।
नर्वेले क्वाटरफाइनलमा साबिक विजेता इंग्ल्याण्डसँग अतिरिक्त समयमा २-१ गोलको हार बेहोर्दै विश्वकप यात्राको अन्त्य गरेको थियो । निर्धारित ९० मिनेटसम्म प्रतिस्पर्धात्मक खेल खेलेको नर्वे अतिरिक्त समयमा दबाब थेग्न नसक्दा सेमिफाइनल पुग्ने अवसरबाट वञ्चित भएको थियो । हारका बाबजुद टोलीको साहसिक प्रदर्शनले देशभर फुटबल समर्थकको मन जितेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सोमबार दिउँसो ओस्लोस्थित रोयल प्यालेस वरपरको क्षेत्रमा एक लाखभन्दा बढी समर्थक भेला भएका थिए । राष्ट्रिय झण्डा फहराउँदै, टोलीका नाममा नारा लगाउँदै र गीत गाएर समर्थकहरूले खेलाडीहरूको स्वागत गरेका थिए । विश्वकपबाट उपाधिविहीन फर्किए पनि टोलीलाई विजेतासरह सम्मान गरिएको दृश्यले ओस्लो उत्सवमय बनेको थियो ।
स्वदेश फर्किएको टोलीलाई परम्पराअनुसार पानीको फोहोरा (वाटर क्यानन) मार्फत् विशेष सम्मान प्रदान गरिएको थियो । त्यसपछि खेलाडी र प्रशिक्षकहरूले खुला कार्यक्रममा सहभागी हुँदै समर्थकहरूप्रति आभार व्यक्त गरेका थिए । टोलीले नर्वेका राजा हाराल्डसँग शिष्टाचार भेट गरेपछि रोयल प्यालेसको बालकनीबाट उपस्थित समर्थकलाई अभिवादन गरेको थियो । खेलाडीहरूको सम्मानमा आयोजित कार्यक्रममा समर्थकहरूले लामो समयसम्म ताली बजाउँदै टोलीको प्रशंसा गरेका थिए ।
यद्यपि नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्ड भने अन्तिम स्वागत समारोहमा सहभागी हुन सक्नुभएन । प्रशिक्षक स्टाले सोल्बाकेनका अनुसार व्यक्तिगत कारणले अमेरिकाबाट फर्किने क्रममा उहाँको उडान ढिला भएकाले हालान्ड र मिडफिल्डर सान्डर बर्गे समयमै समारोहमा पुग्न नसक्नुभएको हो ।
प्रशिक्षक सोल्बाकेनले टोलीले विश्वकपमा देखाएको प्रदर्शनप्रति गर्व व्यक्त गर्दै यो सफलताले नर्वेली फुटबलको भविष्यप्रति नयाँ आशा जगाएको बताउनुभयो । उहाँले समर्थकले दिएको अभूतपूर्व मायाले खेलाडीहरूलाई आगामी प्रतियोगिताका लागि थप प्रेरणा मिलेको उल्लेख गर्नुभयो ।
यसपटकको विश्वकपमा नर्वेले अनुशासित खेल, उत्कृष्ट सामूहिक प्रदर्शन र आक्रामक शैलीमार्फत् विश्व फुटबलमा आफ्नो सशक्त उपस्थिति जनाउन सफल भएको थियो । यद्यपि सेमिफाइनल पुग्ने लक्ष्य पूरा हुन नसके पनि टोलीले राष्ट्रिय फुटबल इतिहासमा नयाँ अध्याय थपेको विश्लेषण गरिएको छ ।
ओस्लोमा भएको भव्य स्वागतले नर्वेली समर्थकका लागि जित र हारभन्दा पनि टोलीको संघर्ष, समर्पण र उपलब्धि नै ठूलो भएको सन्देश दिएको छ । विश्वकपबाट बाहिरिएर फर्किए पनि आफ्ना खेलाडीप्रति देखाइएको सम्मान र समर्थनले नर्वेली फुटबल संस्कृतिको सकारात्मक पक्षलाई अन्तर्राष्ट्रिय रूपमा उजागर गरेको छ ।
एजेन्सी







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर