काठमाडौं । मलेसियामा जारी एसिसी महिला यू-१९ प्रिमियर कपमा नेपालले प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिँदै समूह ‘डी’ को विजेताका रूपमा क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । मंगलबार मलेसियाको बायोमास ओभलमा सम्पन्न समूह चरणको अन्तिम खेलमा हङकङलाई १८१ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल अन्तिम आठमा पुगेको हो ।
नेपालले प्रस्तुत गरेको २१२ रनको कठिन लक्ष्य पछ्याएको हङकङ नेपाली बलरहरूको कसिलो आक्रमणसामु निरीह देखियो । निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ३० रन बनाउन सकेपछि हङकङले प्रतियोगिताकै एकतर्फी हार बेहोर्नुपर्यो । सुरुदेखि नै दबाबमा परेको हङकङका ब्याटरले नेपाली बलिङ र फिल्डिङको सामना गर्न सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २११ रनको विशाल योगफल तयार गरेको थियो । नेपाली इनिङ्सको आधार कप्तान सोनी पाख्रिन र ओपनर सावित्री धामीले तयार पार्नुभयो । ओपनर सावित्री धामीले लगातार तेस्रो अर्धशतक प्रहार गर्दै ३६ बलमा ६ चौकाको सहयोगमा ५२ रन बनाउनुभयो । यससँगै उहाँ नेपालको महिला क्रिकेटमा लगातार तीन अर्धशतक बनाउने पहिलो खेलाडी बन्नुभएको छ । प्रतियोगिताभर उत्कृष्ट लयमा रहनुभएकी सावित्रीको यो उपलब्धिलाई नेपाली महिला क्रिकेटका लागि ऐतिहासिक मानिएको छ ।
कप्तान सोनी पाख्रिनले पनि आक्रामक ब्याटिङ प्रदर्शन गर्दै ६० बलमा १३ चौका र एक छक्काको मद्दतमा सानदार ९० रन जोड्नुभयो । उहाँ शतकबाट १० रनले चुके पनि नेपालको ठूलो स्कोर निर्माणमा निर्णायक भूमिका निर्वाह गर्नुभयो । अन्तिमतिर अलिशाकुमारी यादव २३ रनमा अविजित रहँदै टोलीलाई २०० रनको आँकडा पार गराउन सफल हुनुभयो ।
नेपालका शीर्षक्रमका ब्याटरले सुरुदेखि नै आक्रामक शैली अपनाउँदै रनगति उच्च राखेका थिए । सावित्री र सोनीबीचको महत्त्वपूर्ण साझेदारीले हङकङका बलरलाई दबाबमा राख्यो भने अन्तिम ओभरहरूमा आएको तीव्र रन वर्षाले नेपालको स्कोर २११ रनसम्म पुर्यायो ।
विशाल लक्ष्यको जवाफमा हङकङका ब्याटरले कुनै पनि चरणमा लय समात्न सकेनन् । नेपाली बलरहरूले नियमित अन्तरालमा विकेट लिँदै विपक्षीलाई खुल्नै दिएनन् । अनुशासित बलिङ, चुस्त फिल्डिङ र दबाबपूर्ण रणनीतिका कारण हङकङ केवल ३० रनमा सीमित भयो र नेपालले १८१ रनको ऐतिहासिक जित दर्ता गर्यो ।
लगातार उत्कृष्ट प्रदर्शनसँगै समूह विजेता बनेको नेपाल अब उच्च मनोबलका साथ क्वाटरफाइनलमा प्रवेश गरेको छ । ब्याटिङमा सावित्री धामीको कीर्तिमानी उपलब्धि र कप्तान सोनी पाख्रिनको जिम्मेवार इनिङ्सले नेपाली टोली उपाधि दाबेदारका रूपमा थप बलियो देखिएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर