मकवानपुर । अविरल वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि हेटौंडाबाट काठमाडौं जाने छोटो दूरीको वैकल्पिक मार्ग तथा त्रिभुवन राजमार्ग हुँदै सञ्चालन हुने सवारी साधनलाई मंगलबार बेलुकादेखि बुधबार बिहानसम्म हेटौंडामै होल्ड गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सूचना जारी गर्दै मंगलबार बेलुका ६ः३० बजेदेखि बुधबार बिहान ५ बजेसम्म काठमाडौंतर्फ जाने सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको जनाएको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार वर्षाका बेला बागझोरा क्षेत्रमा आकस्मिक भेल आउने जोखिम, भीमफेदीस्थित बेलिब्रिज मर्मतका कारण वैकल्पिक डाइभर्सन प्रयोग भइरहेको अवस्था तथा सिमखोला क्षेत्रमा बाढीपहिरोको उच्च जोखिम रहेकाले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै रातिको सवारी आवागमन रोकिएको हो।
जिल्ला प्रशासनले अत्यावश्यक अवस्था बाहेक रातिको समयमा यात्रा नगर्न सबै सवारी चालक तथा यात्रुलाई आग्रह गरेको छ। साथै, कुनै विपद्जन्य घटना वा आपत्कालीन अवस्था आएमा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र, सम्बन्धित स्थानीय तह, सुरक्षा निकाय वा स्थानीय प्रशासनलाई तत्काल जानकारी गराउन अनुरोध गरेको छ।
यसअघि पनि बाढीपहिरोको उच्च जोखिमका कारण सोमबार अपराह्न ५ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म यही मार्गमा सवारी सञ्चालन रोकिएको थियो। लगातार वर्षा र थप वर्षाको सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले पुनः रातिको समयमा सवारी आवागमन स्थगित गर्ने निर्णय गरेको जनाएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर