काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारगृहको मूल प्रवेशद्वार अगाडि गाडी पार्किङ गर्ने घटनामा संलग्नमाथि निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाही हुनुपर्ने बताउनुभएको छ।
प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले उक्त घटनालाई पार्टीले गम्भीरतापूर्वक लिएको र यसबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘उनीहरूलाई कारबाही गर्नुपर्छ। पार्टीले विज्ञप्ति निकालेर सबैभन्दा पहिला यही कुरा भनेको हो। यो गलत हो, यस्तो हुनुहुँदैन, छानबिन र कारबाही हुनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ र हामी त्यसैमा अडिग छौँ।’
सभापति लामिछानेले तत्काल कसैलाई पक्राउ गरियो वा गरिएन भन्नेभन्दा पनि घटनाप्रतिको पार्टीको दृष्टिकोण स्पष्ट रहेको उल्लेख गर्दै यस्तो प्रवृत्ति ‘अस्वाभाविक’ भएको बताउनुभयो।
रास्वपाले विगतमा आफ्नै सांसदलाई पनि ७२ घण्टाभित्र कारबाही गरेको स्मरण गराउँदै उहाँले कानुनी प्रक्रियामा कसैलाई पनि छुट नहुने स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो, ‘रास्वपा त्यस्तो पार्टी हो, जसले सबैभन्दा पहिला आफ्नै सांसदलाई ७२ घण्टाभित्र कारबाही गरेको थियो। त्यसैले जो भए पनि कारबाही हुन्छ, कसैलाई छुट छैन।’
उहाँले यस्ता गतिविधि रोक्न प्रशासन र प्रहरीले आफ्नो अधिकार प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा पनि जोड दिनुभयो।
प्रधानमन्त्रीसँगको भेटमा सुकुम्बासी समस्या समाधानका विषयमा विस्तृत छलफल भएको जानकारी दिँदै उहाँले आम नागरिकले दुःख नपाउने गरी दीर्घकालीन समाधान खोज्नुपर्नेमा दुवै पक्ष सहमत भएको बताउनुभयो।
सभापति लामिछानेका अनुसार भेटमा राष्ट्रिय राजनीतिको वर्तमान अवस्था, समसामयिक विषय, आगामी कार्यदिशा तथा शीर्ष नेतृत्वबीचको राजनीतिक सहकार्यका विषयमा पनि विस्तृत छलफल भएको थियो। उहाँले प्रधानमन्त्रीसँगको संवाद सुमधुर, सकारात्मक र परिणाममुखी रहेको बताउँदै राजनीतिक सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने विश्वास व्यक्त गर्नुभयो।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर