काठमाडौं । रत्न पुस्तकालय, बानेश्वरले २१३औं भानु जयन्तीका अवसरमा सोमबार काठमाडौंको आनन्द भूमि बिजिनेस सेन्टर प्रालिमा छन्द कविता वाचन कार्यक्रम आयोजना गरेको छ । पुस्तकालयका अध्यक्ष शशिविक्रम राणाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वराजदूत प्राडा.जयराज आचार्य प्रमुख अतिथि तथा काठमाडौं महानगरपालिका–१० की वडा सदस्य रोहिणी श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रमका संयोजक तथा वरिष्ठ साहित्यकार अनुराधा थापाले स्वागत मन्तव्यसँगै कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा १३ जना कविहरूले आदिकवि भानुभक्त आचार्यप्रति समर्पित छन्द कविता वाचन गरेका थिए । सहभागी कविहरूलाई नगद पुरस्कार, प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
उक्त अवसरमा अध्यक्ष राणाले प्रमुख अतिथि आचार्यलाई रत्न पुस्तकालयबाट प्रकाशित पुस्तकहरू मायाको चिनोस्वरूप हस्तान्तरण गर्नुभएको थियो । विक्रम राणा स्मृति ग्रन्थ पनि उपहारस्वरूप प्रदान गरिएको थियो । संयोजक अनुराधा थापालाई समेत सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव प्रकाश आचार्यले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित अतिथि तथा साहित्यकारहरूले आदिकवि भानुभक्त र मोतीराम भट्टको तस्वीरमा माल्यार्पण तथा पुष्प अर्पण गरेका थिए ।
प्रमुख अतिथि प्राडा.आचार्यले भानुभक्तको कृति नेपालमा मात्र सीमित नरही भारतका दार्जिलिङ, सिक्किमलगायत अन्य क्षेत्र तथा युरोप, अमेरिका, जापान र मरिससलगायत मुलुकसम्म फैलिएको बताउनुभयो । उहाँले भानुभक्तको योगदान अन्तर्राष्ट्रियस्तरमा समेत स्थापित भएको उल्लेख गर्नुभयो । कार्यक्रमको अन्त्यमा अध्यक्ष राणाले सहभागी सबैप्रति आभार व्यक्त गर्दै भानुभक्तको साहित्यिक योगदानलाई नयाँ पुस्तासम्म पुर्याउन यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर