अचिन्तितानिदुःखानियथैवायान्ति देहिनाम् ।
सुखान्यपितथामन्ये दैवमत्रातिरिच्यते ।।
प्राणीका जीवनमा सपनामा पनि नचिताइएका दुःख आइलाग्न सक्छन् । त्यस्तै सपनामा पनि नचिताएको सुखको क्षण पनि आइलाग्न सक्छ । यसमा भाग्यमात्र एउटा कारण हुनसक्छ । कसले सोचेको थियो ? मातृजातिकी सदस्या पुतना दूधका मुन्टामा विष दलेर स्तनपान गराउन आउँछे । ती आमाहरू जसका कारणले तिनका छोराछोरी समाजमा आउन नपाउँदै आपराधी देखिन्छन् भन्ने कुनै आमाले या बाबुले सोचेका होलान् ? नेपाली कांग्रेसका उस्ता बलवान् सभापति र उनकी पत्नीको अङ्गमर्दन र विदेश पलायन हुन्छ भनेर कुनै ज्योतिषीका बुढा हजुरबालेसम्म पनि बताइदिएको भए कति गुन लाग्नेरहेछ । मिसन ८४ का अग्राख पनि आफ्ना एक आदेशमा ज्यान हत्केलामा लिएर काम गर्ने परिचरकै हेलिकोप्टर चढेर भागे पनि उज्यालो नहुँदै एउटा अदनाले लगेर थुन्छ भनेर उनले कहिल्यै सोचे ?
विचरा जादुई नम्बरका धनीलाई पनि छेपाराका झैँ भेष बदल्ने नारदका झैँ कुरा बदल्ने र रूपाजीवाले झैँ साथी बदल्ने कला नसिकेको भए संसद्मा नै पुग्न नपाउने रहेछन् । सँगैका साथी कोही पनि पुगेनन् त । संसदमा सबै चार सय वर्षपछिका मानव देख्दा विचरा जादुई नम्बरलाई आफू रिपभान विकल्पो रहेछु जस्तो लागिराखेको होला । जादुई नम्बर छ भनेर राडीमा मुछेको सातु खान तयार हुने कांग्रेसका सत्ता बकुल्ला न वामका चार किड्नीधारी कहाँ पुगेर बेच्ने जादुई नम्बर । शचीका न्याना अँगालामा बेरिएर ऐन्द्रपदको मोजका कल्पनाले ‘सर्पगच्छ सर्पगच्छ’ भन्ने विचरा नहुषलाई के थाहा मोरा भिर्गेले ‘सर्पोभव’ भनेर भन्ला भन्ने ।
नहुने बेलामा नातिदेखि मरिआउँछ भन्थे हो कि क्या हो ? सुकुम्बासी भनेर परिचय बनाएको मान्छे ललिता निवासले थिचिएको मान्छे । त्यतिबेला आँखा चिम्लेऊ त अरबखरबको सुकुम्बासी पो बनेछ । काँक्रालाई थाँक्रो हालो थाँक्रै धनी । ऊ बेला मेरो प्रशस्ती गाएर नथाक्ने थुतुना अहिले मेरै सत्तोसरापमा लागेका छन् ।
नवप्रमदाको सेवा सुश्रूषा पनि उता कैलाशपतिको चाकरी पनि भनेको त कुश, तुलसी, ताँबो अनि वरपीपल भएर खेप्नुपर्ने कष्ट विचरा ती सामुद्रशायी सर्पपर्यंकेलाई थाह भएको भए परस्त्री गमनको स्वाद लिन पाउँथे र विष्णुले ‘नो रिस्क नो गेन’ कि कसो ? पहिले आफ्ना हातमा डाडुपुन्यौं भएका बेला शरणार्थी बनाएर विदेश पठाउने पुण्य नगरेको भए कुनकुन महान्हरू अहिले सरकारी खोराक खाएर खोरमा ढलिमली गर्न पाउँथे र ? बेलैमा गरेको पुण्यमात्र पुनसमा पाइने होइन नि यसै जुनीमा भोग्न पाइन्छ । वाणिज्य बैंकको बचत खाताबाट पैसा निकालेर मदमस्त भएझैँ ।
पल्केको झिल्के घरिघरि मिल्के । बैंकक कि हङ्कङमा बसेर नवदल खोल, फेरि छैटौं पटक सत्तासयर गरौंला भनेको भैरहवाको गर्मीबाट आएको एउटा प्रेमीले एकातिर धसायो अर्कातिर पूर्णै होला भनेको सुर्खेतका खेतका गरामा फलेका धानका बोटमा पोटिला बाला लाग्लान् भनेको पोगटा पहिले नै सुकेर चाउरी परेका डढेर काला भएका खोक्रा गेडा जम्मा गरी ९० प्रतिशत भनेर धमास दिन थालेछ । के काम गरेको बुढा गोरुबाट कोरली गाई ओगटे झैँ । बुढो पोइको कतै तरुनीले ओछ्यान लाउन जाँगर देखाउँछन् ? ढुङ्ग्रो लिएर थारै भए पनि गाईसम्म दुहुने प्रयास गरेको भए त तैबिसेक बुढा गोरू जम्मा गरेर कतै ढुंग्रामा दूधका सिर्का पर्लान् ?
विनाशकाले विपरीत बुद्धि :
नहुने बेलामा नातिदेखि मरिआउँछ भन्थे हो कि क्या हो ? सुकुम्बासी भनेर परिचय बनाएको मान्छे ललिता निवासले थिचिएको मान्छे । त्यति बेला आँखा चिम्लेऊ त अरबखरबको सुकुम्बासी पो बनेछ । काँक्रालाई थाँक्रो हालो थाँक्रै धनी । ऊ बेला मेरो प्रशस्ती गाएर नथाक्ने थुतुना अहिले मेरै सत्तोसरापमा लागेका छन् ।...मातृजंघा हि वत्सस्य स्तम्भीभवतिबन्धने । माउको खुट्टो नै किलो बनिदिन्छ बाच्छाका लागि दूध दुहुने बेलामा । मैले के गरेको थिइनँ ? जनता भनेका कसैका नहुँदारहेछन् । तल्लाघरे कान्छीलाई जेठाले लगे जेठी, माइलाले लगे माइली पो रहेछन् जनता त । कहाँ न कहाँको र्यापरले ट्यापट्याप घण्टी बजाएर मेरो यो हालत गराइदियो । आज अहोरात्र सहकारी वाम पार्ने भूत र र्यापरको र्यापर्यापमात्रै मेरा कानमा गुञ्गुन आवाज आउन थालेको पनि थुप्रै भइसक्यो ।
कामको सत्ता द्रव्यनामको शेर भागेर बेपत्ता, यसो कुरो गर्दा लोभ्याउन सकिने त्यही थियो उसका टाउकामा गगनै खसेर विचरा देशै छाड्न विवश छ, कसका कुरा गर्नु र ? छेपारेसँग कुरै मिल्दैन । तै मेरा हुंकारले शकुनि विद्याको माया अलि मत्थर त भएको छ, शमन हुन भने सकेको छैन । तोप पड्काएर, सबै कुरा ठीक पार्ला भनेको तोपको उझिण्डै चुँडियो । बादलको जोहो मिलाएँ, त्यो अराए सिकाएको त गर्दैछ कहिलेकाहिँ ताल न सुरले गर्जन्छ र रफ्फू गर्दाको सास्ती । माकुने हात्तीले जोरी खोज्दा भने मेरा दशाग्रह ठीकै रहेछन् र आज हात्ती सुँड पसारेर एकताको कुरा त गर्छ । गिरिबन्धु स्टेट, गोकर्ण रिसोट, भ्युटावर, कागजका अस्पतालको उद्घाटन गरकै थिएँ ।
र्यापट्यापले पनि डोजर चलाएर सुकुम्बासीको हरिबिजोक बनाउनेभन्दा के चाहिँ काम गरेका छन् र ? त्रिभिर्वराटैर्विपणन्ति गोपाः । चाल नपाउनेलाई के श्रीखण्ड के खुर्पाको बिँड ? र्यापट्याप बराबर । कहिलेकाहिँ त लाग्छ गणेशमान नै ठीक हुन् कि ? प्रजातन्त्र खोसिएको र प्रजातन्त्र आएको चाल नपाउने भेडा भन्थे जनतालाई । जनता त एकोहोरा भेडै पो रहेछन् । कहिले कांग्रेसलाई दुईतिहाइ, कहिले माओवादीलाई ह्वारह्वार, कहिले र्यापट्याप ख्वापख्वाप, मजस्ता मुखालेका कुरै सुनेनन् । यी त भेडे प्रवृत्तिकै रहेछन् । हीराकीराको विभेदै नजान्ने जान्न पनि नचाहने । सय भारी खर काट्ने र सय भारी खरले छाएका घरमा आगो लाउनेको मूल्य एउटै । अन्धेर नगरी चौपट राजा, टकासेर भाजी टकासेर खाजा । हो रहेछ, समय नै बलवान् हुँदोरहेछ र त भनिएको होला समय एव करोति बलाबलम् ।
अघि जानिन पछि मानिन...
म कांग्रेसको नाम सुन्न पनि चाहन्नथेँ । कांग्रेसीसँग बिहा भएका बेला एक जना बुढा नेताले मलाई घोच्दै भनेका थिए ‘हामीले...जी तपाईंलाई दियौं तपाईंले प्रजातन्त्रै नखाईदिनुहोला’ । दुई चार महिनापछि म धरानमा गएकी थिएँ, एन.जी.ओ.को कामका सिल्सिलामा । त्यसबेला मेरा २८ वटा जति एन.जी.ओ र आई.एन.जी.ओ.थिए । त्यहाँ त्रिविका केही प्राध्यापकले राजनीतिका कुरा गर्दा मैले भनेकी थिएँ ‘आई एम नट कंग्रेस, आई हेट कंग्रेस । म पढेकी महिला हुँ, काम गरेर कमाउँछु’ । सबैले मेरो प्रशंसा गरे तर दुई तीन जना कांग्रेसी प्राध्यापकले बिहाका भोजका बेला ती बुढा नेताले मलाई र मेरा श्रीमान्लाई घोच्न भनेका शब्द पनि सुनाएका थिए । म त त्यस्तो होइन नि राजै पीरतिले जोगी बनायो । छोरालाई न्याय गर्दा अन्याय गर्न पुगेँ ।
मलाई भ्रष्टाचारकी कूलदेवी राष्ट्रिय भाउजू भनेर खिसीट्युरी गर्दा पनि मेरा चेतका भाँडाका मुखमा लागेको बिर्को कति कसिलो बनेछ खुल्दै खुलेन । आज झल्याँस्स भएँ । अब के गर्नु सारा बित्याँस भइसकेपछि चेत खुलेर हुन्छ ? आगलागी घरमा भएपछि कुवा खन्दा हुनेछैन है । पहिलो पल्ट चुनाव लड्न गएँ, टुरिष्ट नेतृ भनेर अपहेलित गरे ।
त्यस बालकले केही नगर्दै नेप्पो बेबीको पगरी हामी बाबुआमाले नै गुताइदियौँ । बद्नाम पनि बनायौँ, धन पनि सिध्यायौँ इज्जत मान मर्यादा सारा बूढानीलकण्ठको घरसँगै जलेका भए त हुन्थ्यो, पुस्तौंपुस्ता कालो बदनामीको धब्बा रहिरहने भयो । किन लागेँ म राजनीतिमा ? के दियो मलाई राजनीतिले ? कतै जसले मलाई परराष्ट्रमन्त्री बनाएर मेरो सहयोग लिएर मेरै महत्त्वाकांक्षाका खरमा पेट्रोल छर्केर उग्र बनाउने काम पो गरेछ कि ? कांग्रेसमा ठूलाठूला कति नेता भए कसैले पनि श्रीमतीलाई राजनीतिमा ल्याएका थिएनन् । उनका श्रीमती क्रान्तिमा सहभागी पनि रहेछन् भन्ने मैले पनि अहिले चाल पाएँ । मेरै श्रीमान्मा त्यो दम्भासुर कसरी प्रवेश गर्यो र यो हालत भयो । प्रत्येक उन्नतिका कदमका डेगडेगमा उचित अनुचित के भयो भनेर समीक्षा गर्नुपर्छ भन्ने शाश्वत् सिद्धान्त नमान्दाको अवस्था रहेछ यो ।
मलाई भ्रष्टाचारकी कूलदेवी राष्ट्रिय भाउजू भनेर खिसीट्युरी गर्दा पनि मेरा चेतका भाँडाका मुखमा लागेको बिर्को कति कसिलो बनेछ खुल्दै खुलेन । आज झल्याँस्स भएँ ‘....सको दैलो देखो’ अब के गर्नु सारा बित्याँस भइसकेपछि चेत खुलेर हुन्छ ? आगलागी घरमा भएपछि कुवा खन्दा हुनेछैन है । पहिलो पल्ट चुनाव लड्न गएँ, टुरिष्ट नेतृ भनेर अपहेलित गरे । झ्वाँक्किएर तीन करोडको घर किनेँ । सर्पलाई जिस्क्याए जस्तो पो भएछ । अब राजनीति छाडेर काममा फर्केकी भए पनि त हुन्थ्यो । हुन त झलनाथले गरेका अपराधको दण्ड सोझी एउटी प्राध्यापक उनकी श्रीमतीले पनि त भोग्नुपर्यो । सँगको रंग लाग्छ भनेको यही हो क्यारे । ठूलाकी छोरी ठूलाकी पत्नीभन्दा एउटा जोगीले ‘पानीततैते’ की छोरी भनेर उडाउँदा पनि चेत खुलेन ।
अवश्यम्भाविनोभावा भवन्तिमहतामपि । हुने कुरो नभइकन छाड्दोरहेनछ । गुणात्मक शिक्षाका नाममा बाहिर पढेर के गर्नु ? स्वर्णिमले दुई पैसे बजेट ल्याएछ, उसकै आमाबाबुको अपमान हुनेगरी । म आमा भएर सन्तानलाई बद्नाम गराएँ भने उनी पाँचपटक प्रधानमन्त्री भएर के भयो त ? हामी लगायत हाम्रा सन्तान समाजमा बद्नाम भएपछि धन किन कमाएको ? यही अवस्था भोग्न ? आज बुहारी पनि कलिलै छे, छोरो पनि उरन्ठेउलै छ । भोलि बुझ्ने भएपछि नेपाली जनताले हामीलाई प्रयोग गर्ने शब्द, गर्ने व्यवहार आदि बुझेका दिन यिनले के सोच्लान् ? थुःक्क, मेरो क्वालिटी एजुकेशन ।
विदेशी गुणात्मक शिक्षाले प्रदान गर्ने यस्तै बुद्धि हो भने अब उप्रान्त कुनै पनि बाबुआमाले घरखेत गरेर विदेश होइन गुरुकुल खोलून् । योगी नरहरिनाथ, खप्तड बाबा, बीपी कोइराला, कृष्णप्रसाद भट्टराईको दुर्नाम गराउने तागत छ कसैको ? धिक्कार छ मेरा श्रीमान्ले बेलायत पढ्नु, धिक्कार छ मैले मेरो शिक्षामा गौरव गर्नु, म त पुतना भएँछु, दूधलाई प्र्र्र्र्रदूषित गरेर बालबालिका सिध्याउने । हे ईश्वर !!! आफ्नै कृत्यले आफ्नै मातृत्व दूषित गराउनेलाई माता नबनाऊ, यति बिन्ती लेऊ । अब मलाई यशोदा बनाऊँ कैदीका सन्तान पनि जगद्गुरु बनाउन सकूँ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर