काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको झण्डै दुईतिहाइ बहुमत प्राप्त वर्तमान सरकार गठन भएको छाटो अवधिमै चौतर्फी घेराबन्दीमा पर्न थालेको छ । संसदीय अंकगणितको आधारमा वर्तमान सरकार तलमाथि हुने कुनै सम्भावना छैन । तर, स्वयं प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरूका एकपछि अर्को विवादास्पद निर्णय र गतिविधिले गठन भएको छोटो अवधिमै सरकार घेराबन्दीमा पर्न थालेको हो । अर्थपूर्ण कुरा त विपक्षीबाट मात्र नभई बालेन्द्र नेतृत्वको सरकार आफ्नै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदको समेत आलोचना तारो बन्न थालेको छ ।
सोमबार मात्रै भएको घटनाको कारण सरकार अत्यन्तै रक्षात्मक अवस्थामा पुगेको छ । सोमबार काठमाडौंमा केही सञ्चारगृहहरूका गेट अगाडि अनाधिकृत गाडी पार्किङ गरेर आवतजावत गर्न अवरोध पुर्याएको थियो । उक्त गतिविधि राज्यकै संरक्षणमा भएको आशंका गरिएको थियो । उक्त आशंकालाई बल पुग्नेगरी शंकास्पद रूपमा पार्किङ गरिएका सवारीसाधनलाई जरिवाना गरेर ट्राफिक प्रहरीले चालकको जिम्मा लगाएको छ ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको दाबी गरे पनि सवारी धनीलाई सामान्य सोधपुछसमेत नगरी सामान्य जरिवाना मात्र तिराएर छाडेपछि आशंकाको सुई थप सरकारतिर सोझिएको हो । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्ने राजनीतिक दलका सांसदहरूले नेपाली सञ्चार जगत्लाई तर्साउनका लागि राज्यद्वारा संरक्षित व्यक्तिहरूले नै गाडी पार्किङ गरेको भन्दै आपत्ति जनाएका छन् ।
रास्वपा सचेतकको प्रश्न- ‘सञ्चार क्षेत्र सडकमा दुईचार गाडी तेर्स्याएर तर्सिन्छ ?’
सञ्चार माध्यमका कार्यालय अगाडि गाडी तेर्स्याएर अवरोध पुर्याएको घटनाको सत्तारूढ रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले भर्त्सना गर्नुभएको छ । सचेतक परियारले तत्कालीन राजा ज्ञानेन्द्र शाहले सैनिक शासन लगाएर बन्दुक बोकेका सेना समाचार कक्षमा लगाउँदा नतर्सिएको नेपाली प्रेस सडकमा दुई–चार गाडी तेर्स्याउँदैमा नतर्सिने स्पष्ट पार्दै भन्नुभयो, ‘सत्यसँग डराउनेहरूले मात्र यस्तो हर्कत गर्छन् तर बुझ्नुपर्ने कुरा के हो भने सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको हत्केलाले सूर्य छेक्नुजस्तै हो । हिजो निरंकुश शाहीकालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनमा बन्दुक बोकेका सेनाहरू समाचार कक्षभित्र बसेर समाचार सेन्सर गर्थे । त्यतिबेला नझुकेको नेपाली सञ्चारमाध्यम आज सडकमा दुई चारवटा गाडी तेर्स्याएर तर्सिन्छ होला र ?’
प्रहरीको अनुहारमा बालेन र सुधन गुरुङ देखिरहेको छु : खरेल
रास्वपाका सांसद सुलभ खरेलले ‘जेन-जी’ अगुवा माजिद अन्सारी पक्राउ प्रकरणमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै त्यसको कडा आलोचना गर्नुभएको छ । सांसद खरेलले अन्सारीमाथि भएको कुटपिट र ज्यादतीबारे सरकारको ध्यानाकर्षण गराउँदै भन्नुभयो, ‘प्रहरीले भ्यानभित्र लगेर पनि मान्छेहरूलाई कुट्दो रहेछ । हामी यस्तो खालको व्यवस्थामा बस्न खोजिरहेका छौँ ? समाजमा फरक मत सबैले राख्छन् । फरक मत राख्दैमा कसैप्रति पनि उग्र भावले प्रस्तुत नहुन म नेपाल प्रहरीलाई आग्रह गर्दछु ।’ विगतमा जस्तै अहिले पनि आन्दोलनकारीलाई प्रहरीले गर्ने दमनमा जनताले वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीको अनुहार देख्ने भन्दै खरेलले सरकारलाई संयमित हुन र मानव अधिकारको सम्मान गर्न चेतावनीसमेत दिनुभएको छ ।
मण्डलेतन्त्रले फैलाएको राज्य आतंक : ठगुन्ना
विपक्षी दल नेकपा एमालेका सांसद गणेश ठगुन्नाले सञ्चारगृहहरूका गेट अगाडि गाडी पार्किङ गरेर आवतजावत गर्न अवरोध पुर्याउने कार्य राज्य संरक्षित भएको टिप्पणी गर्नुभएको छ । हेर्दा सांकेतिक सानो घटना भए पनि यसले पञ्चायतकालीन मण्डलेतन्त्रले फैलाएको आतंकको याद दिएको जिकिर गर्दै सांसद ठगुन्नाले भन्नुभयो, ‘मिडिया क्षेत्र र राजनीतिक नेतृत्वको घरमा सवारीसाधन तेर्स्याएर मानसिक त्रास फैलाउन काम भएको छ । हेर्दा सांकेतिक सानो घटना भए पनि यसले पञ्चायतकालीन मण्डलेतन्त्रले फैलाएको आतंकको याद दिलाउँछ । ती कार्यमा संलग्न व्यक्तिलाई छानविन गरी कारबाही होस् ।’
योजनाकारलाई खोजेर कारबाही हुनुपर्छ : मल्ल
नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद रमेश मल्लले मिडिया हाउस र प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति गगन थापाको घर अगाडि गाडी पार्किङ गर्ने कार्यका योजनाकारलाई खोजेर कारबाही गर्न माग गर्नुभएको छ । हिजो मिडिया हाउस अगाडि एकाबिहानै गाडी तेर्स्याइएको र प्रमुख प्रतिपक्षी दलका नेताको घर अगाडि गाडी रोकेर अवरुद्ध गरेको प्रति आपत्ति जनाउँदै मल्लले भन्नुभयो, ‘दिनभर के हो, कसो हो भनेर होहल्ला भयो । प्रकारान्तरले देखियो कि राज्य संरक्षित केही मान्छेहरूबाटै यो गतिविधि गरिएको रहेछ । आफैँले त्यस्ता मान्छेलाई पठाउने र उनीहरूलाई पाँच सय तिराएर घर पठाउने गरेको छ । उनीहरूलाई लाखौँ जरिवाना गर्नुपर्छ र गाडी जफत गरिनुपर्छ । त्यसका योजनाकारलाई छिटोभन्दा छिटो छानविन गरेर कारबाही गरिनुपर्छ ।’
राज्य आतंक सिर्जना गरिएको छ : शाही
विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले घरको अगाडि पार्किङ गराएर राज्य आतंक सिर्जना गरिएको आरोप लगाउनुभएको छ । सञ्चारमाध्यम र नेताका घरमा मात्रै नभएर सडकमा समेत सरकारनिकट व्यक्तिहरूले सवारीसाधन पार्किङ गरेर यातायात अवरोध गरेको आरोप लगाउँदै शाहीले भन्नुभयो, ‘आफैँ सरकारमा बस्ने, आफैँ आफ्ना कार्यकर्ता लगाएर न्युरोड, सञ्चारमाध्यमका कार्यालय र प्रतिपक्षका घर अगाडि अवैधानिक पार्किङ गराउने, त्यसको भिडियो बनाएर सर्वसाधारणले गरेको भन्दै अल्गोरिदम फैलाएर मिडियाबाजी गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ । घरको अगाडि पार्किङ गराएर जसरी राज्य आतंक सिर्जना गरिएको छ त्यो कालान्तरमा इतिहासमा कालो अक्षरले लेखिनेछ ।’ उहाँले सरकारले सम्पत्ति छानविन गर्ने काममा पनि राजनीति गरेको पनि आरोप लगाउनुभएको छ ।
हतार गरे भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ : विश्वकर्मा
सत्तारूढ दल रास्वपाकै सांसद रीमा विश्वकर्माले काम कारबाहीलाई लिएर आफ्नो पार्टी नेतृत्वको सरकारलाई सचेत गराउनुभएको छ । विश्वकर्माले हतार गरे गन्तव्यमा पुग्न नसकिने सुनाउँदै भन्नुभयो, ‘नीति सुधारको दौडमा रहेको हाम्रो सरकार कतै हतार त गरिरहेको छैन ? जसका लागि कानुन बनाइरहेका छौँ, कतै उनीहरू नै मारमा परेका त छैनन् ? एक्प्रेस वे मा तीव्र गतिमा अघि बढिरहेको सरकारलाई म एउटा ट्रक साहित्य सुनाउन चाहन्छु, हतार गरे भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ ।’
राज्य संकटमा छ : सिंह
रास्वपा सांसद अमरेशकुमार सिंहले राज्य संकटमा भएको र जनतामा नैराश्यता छाएको भन्दै सबै दल एकजुट हुन आग्रह गर्नुभएको छ । सांसद सिंहले संसद्मा उपस्थित सबै दललाई एकजुट बनाउन सभामुखमार्फत सरकारलाई आग्रह गर्नुभएको छ । सँगसँगै राष्ट्रिय मुद्दा तय गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै सांसद सिंहले भन्नुभयो, ‘संसद्मा उपस्थित सबै दललाई एकजुट पारौँ, राष्ट्रिय मुद्दा तय गरौँ । हामी सबै मिल्यौँ भने मात्रै यो राज्य बाँच्न सक्छ, लोकतन्त्र बाँच्न सक्छ । आज हाम्रो राज्य संकटमा छ । जनतामा नैराश्यता छ ।’
सरकारले प्रधानमन्त्रीलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजेको छ : सचेतक राई
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारको चर्को आलोचना गर्नुभएको छ । बालेन्द्र शाह (बालेन)लाई प्रश्न गर्न नपाइने वातावरण बनाउन खोजेको उहाँको आरोप छ । प्रधानमन्त्री बालेनलाई व्यंग्यात्मक रूपमा ‘श्री ८’ को संज्ञा दिँदै सचेतक राईले भन्नुभयो, ‘सरकारले श्री ८ बालेन्द्रलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजेको छ । देशमा रहेको संविधान र कानुनी परिधिभित्र रहेर उठ्ने प्रश्नभन्दा माथि श्री ८ हुनुहुन्छ भन्ने चेतावनी नागरिकलाई यो सरकारले दिइरहेको छ । सरकार अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्न खोजिएको छ ।’
सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
प्रतिपक्ष दल श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सरकारले श्रेणीविहीन करार तथा ज्यालादारीमा काम गरिरहेका कर्मचारीलाई हटाउने निर्णय गरेको भन्दै आपत्ति जनाउनुभएको छ । वर्षौँदेखि काम गर्दै आएका कर्मचारीलाई हटाउने षड्यन्त्र गर्नु सर्वोच्च अदालतको फैसलाविपरीत हुने भएकाले सरकारले यसमा तत्काल पुनर्विचार गर्नुपर्नेमा जोड दिँदै सांसद राईले भन्नुभयो, ‘सरकारले गरिबमाथि धारेहात लगाएर निमिट्यान्न पार्ने काम सुरु गरेको छ । चाहे त्यो पठाओ राइडर, सुकुम्बासी, श्रमिक नागरिक वा साना उद्यमी र व्यवसायीको सवालमा होस् । २०औँ वर्षदेखि राज्यको न्यून सेवामा काम गरिराखेको हजारौँ करार तथा ज्यालादारी कर्मचारीलाई वर्तमान सरकारले ठेकेदारमार्फत लैजाने ठूलो षड्यन्त्र गरिराखेको छ ।’
सरकार प्रश्नबाट भाग्न मिल्दैन : प्रमुख सचेतक दुलाल
विपक्षी दल नेकपाका मुख्य सचेतक युवराज दुलालले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै सरकारलाई संसद्प्रति जवाफदेही बन्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीले तत्काल संसद्मा उपस्थित भई जनतालाई आश्वस्त पार्नुपर्ने माग गर्दै दुलालले भन्नुभयो, ‘संसद् सरकारको जन्मदाता र सरकारलाई नियन्त्रण एवं सन्तुलन गर्ने राज्यको महत्त्वपूर्ण अंग हो । यो सदन मन्त्रीले सांसदलाई धम्काउने थलो होइन, बरु सरकारलाई जवाफदेही बनाउने सर्वोच्च जनप्रतिनिधि संस्था हो । नागरिकले आत्मदाह गर्दा राज्यले जवाफ दिनुको सट्टा संसद्को रोष्टमबाट मन्त्रीले धम्की दिने कार्य लोकतन्त्रका लागि सुहाउने कुरा होइन । हिजो प्रश्न गरेरै जन्मिएको दल आज प्रश्नबाटै डराउनु लोकतान्त्रिक चरित्र होइन ।’
सञ्चारगृहको गेटमा गाडी तेर्स्याउने जो भए पनि कारबाही हुन्छ : सभापति लामिछाने
रास्वपाका सभापति रवि लामिछानेले मिडियाको गेट अगाडि गाडी तेर्स्याएको घटनाको छानविन हुनुपर्ने बताउनुभएको छ । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यो घटनालाई गम्भीरतापूर्वक लिएको बताउनुभयो । यो गतिविधिमा पार्टीका नेता कार्यकर्ता संलग्न भए पनि कारबाही गर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘पार्टीले भनिसक्यो । विज्ञप्ति निकाल्यो । सबैभन्दा पहिला हामीले नै भन्यौँ यो गलत चिज हो, यो हुनुहुँदैन । छानविन हुनुपर्छ, कारबाही हुनुपर्छ भनेर हामीले भनेका छौँ र हामी त्यसमा अडिग छौँ ।’ यो घटनालाई हेर्ने दृष्टिकोण पार्टीको स्पष्ट रहेको उहाँको भनाइ थियो । उहाँले थप्नुभयो, ‘यो स्पष्ट दृष्टिकोणका साथ हामी यसैमा अडिग छौँ । तत्काललाई छोडियो कि, समाइयो कि, के मुद्दा लगाइयो कि, लागेन त्यो बेग्लै कुरा हो । जुन चिज देखियो, त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टीले जुन विज्ञप्तिमार्फत भनेको छ, पार्टी यसमा अडिग छ ।’
४३ दिनपछि संसद् पुगेका प्रधानमन्त्री बालेन्द्र २० मिनेटमै बाहिरिए
प्रतिपक्षी नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरूले संसद्प्रति प्रधानमन्त्री जवाफदेही हुनुपर्ने भनिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार प्रतिनिधिसभा बैठकमा उपस्थित हुनुभएको छ । प्रधानमन्त्री शाह रास्वपा सभापति रवि लामिछानेसँगै प्रतिनिधिसभा बैठकमा उपस्थित हुनुभएको हो । झण्डै पौने २ बजे संसद्मा प्रवेश गर्नुभएका प्रधानमन्त्री शाह करिब २० मिनेट बैठकमा सहभागी भएर बाहिरिनुभएको थियो । गत जेठ १७ गतेदेखि प्रधानमन्त्री शाह प्रतिनिधिसभा बैठकमा उपस्थित हुनुभएको थियो । प्रतिनिधिसभाको बैठकमा प्रवेश गर्नुअघि अगाडि रवि–बालेनले सभामुख डोलप्रसाद अर्यालले करिब ५ मिनेट छलफल गर्नुभएको थियो । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने संसद् बैठकमा प्रवेश गर्दा नियमावलीको उल्लंघन भएको भन्दै रुलिङ माग गरेको थियो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर