काठमाडौं । नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)का नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासले परराष्ट्रमन्त्री शिशिर खनालसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ।
मंगलबार आयोजित कार्यक्रममा श्रीराम हरिदासले परराष्ट्रमन्त्री खनालसमक्ष ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो। यसअघि करिब एक वर्ष नेपालका लागि युएनएफपीएको अन्तरिम प्रतिनिधिका रूपमा कार्य गरिसक्नुभएका श्रीलङ्काका नागरिक हरिदासले जुलाई २०२६ देखि पूर्ण प्रतिनिधिका रूपमा कार्यभार सम्हाल्नुभएको छ।
युएनएफपीएका अनुसार हरिदाससँग एसिया र अफ्रिकाका विभिन्न मुलुकमा रणनीतिक नेतृत्व, जनसङ्ख्या कार्यक्रम तथा मानवीय सहायताका क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव रहेको छ।
ओहदाको प्रमाणपत्र पेश गर्ने क्रममा परराष्ट्रमन्त्री खनाल र प्रतिनिधि हरिदासबीच नेपाल सरकार र युएनएफपीएबीचको दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।
छलफलमा जनसङ्ख्या तथा विकास, यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार, लैङ्गिक समानता तथा तथ्याङ्कमा आधारित नीति निर्माणका क्षेत्रमा रणनीतिक सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।
परराष्ट्रमन्त्री खनालले जनसङ्ख्या तथा विकासका प्राथमिकतालाई अघि बढाउन तथा स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउन नेपालले युएनएफपीएसँगको लामो साझेदारीलाई उच्च महत्व दिएको बताउनुभयो।
नवनियुक्त प्रतिनिधि हरिदासले नेपालको विकास प्राथमिकता तथा अन्तर्राष्ट्रिय जनसङ्ख्या तथा विकास सम्मेलन (आईसीपीडी) को कार्ययोजनाप्रति युएनएफपीएको प्रतिबद्धता दोहोर्याउँदै राष्ट्रिय जनसङ्ख्या प्रणाली सुदृढ बनाउन सरकार र सरोकारवालासँग सहकार्य गरेर काम गर्ने बताउनुभयो।
युएनएफपीएले सन् १९७१ देखि नेपाल सरकारसँग साझेदारी गर्दै आएको छ। संस्थाले यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार, लैङ्गिक समानता, युवा सशक्तीकरण, जनसङ्ख्या तथ्याङ्क प्रणालीको सुदृढीकरण तथा विकासको मूलधारमा कसैलाई पनि पछाडि नछोड्ने राष्ट्रिय प्रयासमा निरन्तर सहयोग गर्दै आएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर