काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौंले दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको छ।
मंगलबार सजाय निर्धारणका लागि भएको सुनुवाइपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले विभिन्न कसुरमा छुट्टाछुट्टै सजाय निर्धारण गर्दै एकीकृत रूपमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो।
अदालतले ठगी कसुरमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना, राज्यविरुद्धको कसुरमा छ महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तथा अर्को एक कसुरमा थप तीन महिना कैद तोकेको छ। यद्यपि एकीकृत सजायका रूपमा खाणलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरिएको हो।
यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई मुख्य कसुरदार ठहरिएका छन्। पूर्वगृहमन्त्री बालकृष्ण खाण र टेकनाथ रिजालसहित अन्य केही प्रतिवादीलाई भने मतियारका रूपमा दोषी ठहर गरिएको छ।
अदालतले जिल्ला सरकारी वकिल कार्यालय र प्रतिवादी पक्षका कानुन व्यवसायीलाई सजायपूर्वको प्रतिवेदन तथा अन्य आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ। काठमाडौं जिल्ला अदालतको यस फैसलाविरुद्ध थुनामा रहेका तथा बाहिर रहेका प्रतिवादीले उच्च अदालत र सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन्।
यस मुद्दामा ३१ जनाविरुद्ध अभियोग दर्ता गरिएको थियो। अदालतले १६ जनालाई दोषी ठहर, सात जनालाई सफाइ तथा बाँकी प्रतिवादीका हकमा अभियोगअनुसार फरक–फरक फैसला गरेको थियो।
उल्लेखनीय छ, जिल्ला अदालत काठमाडौंले असार २४ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी–निर्दोषको फैसला सुनाएको थियो भने मंगलबार दोषी ठहर भएका व्यक्तिहरूको सजाय निर्धारण गरेको हो।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर