तीर्थाटनको महत्त्व अनि धर्म दर्शनको अवसर, यसको न कुनै मापन हुन्छ, न त सीमा नै । त्यसमाथि पनि एउटा कहावत नै छ, ‘अरू तीर्थ बारबार, कैलाश-मानसरोवर एक बार ।’ यसो भन्ने गरिए पनि यसपटकको मेरो मानसरोवर एवं कैलाश परिक्रमा यात्रा तेस्रो थियो । भगवान् भन्नुहुन्छ रे-‘तिमी आँट, म पुराइदिन्छु ।’ भयो त्यस्तै । सन् २०२४, २०२५ अनि २०२६ अर्थात् विक्रम सम्वत् २०८१, २०८२ अनी २०८३ मा मैले लगातार तीनवर्ष पवित्र मानसरोवरमा स्नान एवं पूजाआजा गर्ने अनी कैलाशको परिक्रमा गर्ने अवसर प्राप्त गरेँ । उच्च हिमाली भेगमा अवस्थित कैलाश पर्वतको परिक्रममाका सन्दर्भमा भन्नु पर्दा पहिलो र तेस्रो वर्ष प्रतिकूल मौसम अर्थात् हिउँको भारी वर्षातका कारण परिक्रमाको क्रममा केही जटिलताको सामना गर्नु परे तापनि दोस्रो वर्षको परिक्रमा भने अनुकुल मौसमका कारण सहज थियो ।
पंक्तिकारको मनमा कैलाश-मानसरोवरको सन्दर्भ पहिलोपटक पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले जगाइदिनु भए तापनि समयको पावन्दीले उहाँसँगै त्यसवर्ष कैलाशयात्रा जुरेन । लगत्तैको वर्ष दाइ शंकर गुरुङले कैलाश–मानसरोवर तीर्थका लागि उत्साहित तुल्याउनुभयो । र, गइयो । त्यसपछिको वर्ष भाइ नृपेन्द्र श्रेष्ठले इच्छा दर्शाए, अनि एउटा समूह बनाएर गइयो । यसपटक कैलाश–मानसरोवर सँगसँगै तिब्बतको केन्द्र ल्हासासम्मका गुम्बाहरू (बौद्ध धार्मीक मन्दिर) दर्शन एवं भ्रमण गर्ने प्रस्ताव दाइ शंकरले नै राख्नुभयो र सोही अनुसार बनाइएको योजना अनुसार १८ दिने धार्मिक भ्रमण एवं तीर्थाटनको आनन्दित क्षणले एक्कै शब्दमा भन्नु पर्दा मनलाई उत्साहित एवं रोमाञ्चक तुल्यायो ।
भाइ नृपेन्द्र श्रेष्ठ, समिर गुरुङ सञ्चालक रहेको जमलस्थित तलेजु एडभेन्चरको व्यवस्थापनमा गरिएको यसपटकको धर्म दर्शनयात्रा एवं तीर्थाटन सुखद्, रोमाञ्चक एवं उत्साहपूर्ण कैलाशको साहासिक परिक्रमा एवं ल्हासास्थित ऐतिहासिक महत्त्वका सदियौं पुराना डेढ दर्जन बढी बहुचर्चित विशाल गुम्बा (बुद्धधर्मसँग जोडिएका विशेष मन्दिर) दर्शन गर्न पाउनुले मनलाई हर्ष विभोरमात्रै तुल्याएन, आफूलाई भाग्यमानी महसुस गरायो ।
कैलाश पर्वत-मानसरोवरको आध्यात्मिक महत्त्व
कैलाश-मानसरोवर हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र हो । हिमालको काखमा अवस्थित कैलाश पर्वत र मानसरोवर ताललाई धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक दृष्टिले अत्यन्त पवित्र मानिन्छ । नेपाल हुँदै तिब्बत पुग्ने मार्गले केवल तीर्थयात्राको अवसरमात्र प्रदान गर्दैन, यस मार्गमा रहेका ऐतिहासिक गुम्बा, मन्दिर तथा सांस्कृतिक सम्पदाहरूको दर्शन गर्ने अवसर पनि उपलब्ध गराउँछ । यसले धार्मिक पर्यटन, सांस्कृतिक आदानप्रदान तथा स्थानीय अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको छ ।
हिन्दु धर्मग्रन्थनुसार कैलाश पर्वत भगवान शिव र माता पार्वतीको दिव्य निवास मानिन्छ । मानसरोवरमा स्नान तथा जल सेवन गर्दा पाप नाश हुने र आत्मिक शुद्धि प्राप्त हुने धार्मिक विश्वास छ । हिन्दु धार्मिक ग्रन्थ (चर्चित पुराण) ‘श्रीस्वस्थानी’ व्रतकथामा हिमालय पर्वत कैलाश र मानसरोवर बारे विभिन्न सन्दर्भमा रोमाञ्चक कथा सामग्री प्रस्तुत गरिएको पाइन्छ । धार्मिक ग्रन्थनुसार हिन्दु धर्मालम्बीका आराध्यदेव भगवान् महादेव र देवी पार्वती, पुत्रहरू श्रीगणेश–कार्तिकेयको बासस्थानका रूपमा कैलाश पर्वतलाई लिइएको छ ।
मानसरोवरलाई महादेवले हंशरूप धारण गरी जलविहार गरेकोलगायत कथा ‘श्रीस्वस्थानी’ व्रतकथामा उल्लेख छ । हिन्दु धार्मिक कहावतनुसार देवताहरूले मानसरोवरमा स्नान गरेरमात्रै कैलाशमा महादेवको दर्शन गर्थे रे ! त्यसैले कैलाश अनि मानसरोवरको महिमा हिन्दु, बौद्ध, जैन, शिख, ॐकार, वोनलगायत धार्मिक अनुयायीले गाउने/पछ्याउने गरेको पाइन्छ । बौद्ध धर्ममा कैलाशलाई ‘काङ रिन्पोछे’ अर्थात् अमूल्य हिमरत्नका रूपमा सम्मान गरिन्छ । यसलाई करुणा, ज्ञान र आध्यात्मिक उन्नतिको प्रतीक मानिन्छ । जैन धर्मावलम्बीहरूले यस क्षेत्रलाई प्रथम तीर्थंकर ऋषभदेवले मोक्ष प्राप्त गरेको पवित्र भूमि मान्छन् भने बोन धर्ममा यस पर्वतलाई सर्वोच्च आध्यात्मिक केन्द्रको रूपमा पूजा गरिन्छ । कैलाश-मानसरोवर विश्वका विभिन्न धार्मिक समुदायको साझा आस्थाको केन्द्र बनेको छ ।
कैलाश पर्वतको परिक्रमा हिन्दु तथा बौद्ध धर्ममा अत्यन्त पुण्यदायी मानिन्छ । लगभग ५२ किलोमिटर लामो यो यात्रा कठिन भए पनि श्रद्धा, धैर्य, आत्मविश्वास, आध्यात्मिक अनुभूतिको अद्वितीय अवसर प्रदान गर्छ । धेरै श्रद्धालुहरू जीवनमा कम्तीमा एकपटक कैलाश परिक्रमा गर्ने इच्छा राख्छन् । मानसरोवर संसारका सबैभन्दा उच्चस्थानमा रहेका पवित्र तालहरूमध्ये एक हो । यसको निर्मल जल, हिमाली वातावरण तथा शान्त प्राकृतिक परिवेशले यात्रुहरूलाई आध्यात्मिक शान्ति र मानसिक ऊर्जा प्रदान गर्ने विश्वास गरिन्छ । धेरै श्रद्धालुहरूले स्नान, पूजा, ध्यान तथा धार्मिक अनुष्ठान सम्पन्न गर्छन् ।
कैलाश-मानसरोवर तीर्थाटन केवल धार्मिक यात्रामात्र नभई आध्यात्मिक अनुभूति, सांस्कृतिक अध्ययन, प्राकृतिक सौन्दर्यको अवलोकन तथा मानवसभ्यताका साझा धार्मिक मूल्यहरूको सम्मान गर्ने अवसर हो । मार्गमा रहेका ऐतिहासिक गुम्बाहरू, मठ–मन्दिर, सांस्कृतिक सम्पदाहरूले यात्रालाई अझ अर्थपूर्ण बनाउँछन् । सुरक्षित, व्यवस्थित र वातावरणमैत्री रूपमा सम्पन्न गरिने तीर्थाटनले व्यक्तिगत आध्यात्मिक उन्नतिका साथै धार्मिक पर्यटन, सांस्कृतिक संरक्षण र स्थानीय विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याउनसक्छ ।
गुम्बा दर्शन : धार्मिक आस्था, सांस्कृतिक, ऐतिहासिक र आध्यात्मिक अनुभव
तिब्बती बौद्ध धर्म विश्वकै प्राचीन र समृद्ध आध्यात्मिक परम्परामध्ये एक हो । यस परम्पराको केन्द्रका रूपमा रहेका गुम्बाहरू केवल पूजाराधनाका स्थलमात्र नभई शिक्षा, संस्कृति, कला, दर्शन र सामाजिक जीवनका महत्त्वपूर्ण केन्द्र पनि हुन् । तिब्बती क्षेत्रमा अवस्थित गुम्बाहरूले शताब्दियौंदेखि बौद्ध दर्शन, ध्यान, करुणा र अहिंसाको सन्देश प्रवाह गर्दै आएका छन् । ती गुम्बाको दर्शन गर्नु धार्मिक आस्थामात्र नभई सांस्कृतिक, ऐतिहासिक र आध्यात्मिक अनुभव पनि हो ।
तिब्बती क्षेत्रमा रहेका अधिकांश गुम्बाहरू हिमाली भेगका उच्चस्थानमा निर्माण गरिएका छन् । यी गुम्बाहरूको वास्तुकला, भित्तेचित्र, बुद्धका मूर्ति, प्रार्थना चक्र, प्रार्थना झण्डा र धार्मिक हस्तलिखित ग्रन्थहरूले तिब्बती सभ्यता र संस्कृतिको गहिरो परिचय दिन्छन् । प्रत्येक गुम्बाको स्थापना कुनै विशिष्ट गुरु, लामा वा बौद्ध सम्प्रदायसँग सम्बन्धित इतिहास बोकेको हुन्छ ।
गुम्बा दर्शनका क्रममा श्रद्धालु तथा पर्यटकहरूले केही आधारभूत मर्यादाको पालना गर्नुपर्छ । गुम्बाभित्र प्रवेश गर्दा शालीन पोशाक लगाउने, ठूलो आवाज नगर्ने, धार्मिक अनुष्ठानमा अवरोध नपुर्याउने, अनुमतिबिना फोटो वा भिडियो नखिच्ने तथा स्थानीय परम्परा र नियमहरूको सम्मान गर्ने आचरण अपेक्षित हुन्छ। यसले धार्मिक वातावरणको गरिमा कायम राख्नुका साथै स्थानीय समुदायप्रति सम्मान पनि प्रकट गर्छ ।
तिब्बती गुम्बाहरूमा प्रार्थना, ध्यान, मन्त्रपाठ, धार्मिक शिक्षा तथा विभिन्न पर्वहरू नियमित रूपमा आयोजना गरिन्छन् । विशेषगरी लोसार (तिब्बती नयाँ वर्ष), साका दावा, छाम नृत्य तथा अन्य धार्मिक उत्सवका अवसरमा हजारौं भक्तजन र पर्यटकहरूको सहभागिता रहने गर्दछ । यी पर्वहरूले तिब्बती संस्कृति, कला र धार्मिक जीवनलाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्छन् ।
धार्मिक दृष्टिकोणले गुम्बा दर्शनले मनमा शान्ति, करुणा, सहिष्णुता र आत्मचिन्तनको भावना विकास गर्न सहयोग पुर्याउँछ । धेरै श्रद्धालुहरूले गुम्बा भ्रमणलाई आध्यात्मिक उन्नति, मानसिक सन्तुलन तथा सकारात्मक जीवनदृष्टिको माध्यमका रूपमा लिन्छन् । पर्यटकहरूका लागि भने यो हिमाली सभ्यता, इतिहास, कला र जीवनशैली बुझ्ने उत्कृष्ट अवसर हो ।
अनौठौ एवं आश्चर्यजनक कैलाश
भौगोलिक अवस्थाले उच्चस्थानमा अवस्थित कैलाश हिमपर्वतको परिक्रमालाई सामान्य रूपमा लिन यसै मिल्दैन । पृथ्वीको भौगोलिक बनावट अनुसार अक्षांश–देशान्तरको केन्द्रविन्दु मानिने चिनको तिब्बत क्षेत्रस्थित कैलाश पर्वत त्यसकारण कुनै, केही न केही अनौंठो शक्तिले भरिपूर्ण छ । मौसमानुसार क्षण–क्षणमा आश्चर्यजनक एवं अनौंठो दृश्यमा परिवर्तन भइरहने, उत्तिनैखेर बादलुको घुम्टोमै हराइदिने कैलाश पर्वत चर्चामा छाउनु नौंलो रहेन । देख्दा लाग्छ, समुद्र सतहदेखि ६ हजार ७१४ मिटर अग्लो विशाल सिंगो कैलाश पर्वत एउटै अनौठो शक्तिशाली चट्टानमा बिराजमान छ । उक्त पर्वत हालसम्म कसैले आरोहण गरेको छैन भनिन्छ । कहावत अनुसार आरोहणका लागि गएका कुनै पनि व्यक्ति नफर्केको र आरोहणकै क्रममा रहेका एक बौद्ध धर्मगुरुलाई भगवान शिवले आफैंमा समाहित गरेको बताइन्छ । त्यसैले त उच्च भौगोलिक स्थानमा रहेको कैलाश पर्वतको पेरिफेरीमा पुग्दा जो कोहीले आफूलाई छुट्टै शक्ति प्राप्त भएको, एक प्रकारको उत्साहपूर्ण आनन्दको महसुस भएको बताउने गर्छन् ।
चीनको तिब्बत स्वायत्त क्षेत्रमा अवस्थित कैलाश पर्वत तिब्बती पठारको पश्चिमी भागमा, ट्रान्सिमालयको गंगडिसेमा अवस्थित छ । ६,७१४ मिटर उचाइको कैलाश पर्वत चीन, भारत र नेपालको सिमानाको पश्चिमी त्रिभुजको उत्तरमा छ । मानसरोवर ताल र राक्षस तालको नजिक अवस्थित कैलाश पर्वत चारवटा प्रमुख एसियाली नदीहरूको स्रोत हो । कैलाश पर्वतबाटै नदीहरू सिन्धु, सतलज, ब्रह्मपुत्र र कर्णाली बहन्छन् । बौद्ध धर्ममा, कैलाशले संसारको पिताको प्रतिनिधित्व गर्दछ र मानसरोवर ताल माताको प्रतीक हो । बौद्ध ग्रन्थ अनुसार कैलाश पर्वतलाई पौराणिक ‘मेरु पर्वत’ भनेर चिनिन्छ ।
तीर्थाटनका क्रममा थुप्रै प्रख्यात सदियौं पूराना ऐतिहासिक, पुरातात्विक महत्त्वका आश्चर्यजनक विशाल विशेष महत्त्वका गुम्बाहरूमा दर्शन एवं पूजाआजा सम्पन्न गरियो । भ्रमणका क्रममा केरुङरजिरोङ क्षेत्रको टाकाटासी गुम्बा, क्यू इयान जु लाखाड्ग, ल्हासास्थित ड्रेपुङ गुम्बा, सेरा गुम्बा, जोखाङ गुम्बा, गान्डेन गुम्बा, पोटला दरबार, नोर्बुलिंग गुम्बा, द्राकर गुम्बा, ग्यान्से गुम्बा, छिउ गुम्बा, शिगात्सेमा अवस्थित तासीलुम्पा गुम्बा, शाक्य काउन्टीको (शिगात्से)मा अवस्थित शाक्य गुम्बा, ल्होखा प्रान्तको द्रानाङ काउन्टीस्थित साम्ये गुम्बा, यार्लुङ याम्बु गुम्बा, मानसरोवरस्थित छुर्पु गुम्बालगायत अन्य यात्राका क्रममा बाटोमा पर्ने थुप्रै गुम्बाको पूजाआजा, दर्शन एवं अवलोकन गरियो ।
तिब्बती संस्कृति र समाजमा गुम्बाको प्रभाव निर्विवाद छ । सिकाइ केन्द्रको रूपमा सेवा गरेर, परम्पराहरूको संरक्षण गरेर र समुदायको भावनालाई बढावा दिएर, भिक्षुहरूले समृद्ध सांस्कृतिक सम्पदाको निरन्तरता सुनिश्चित गर्छन् । आवश्यकतामा परेकाहरूको जीवन सुधार गर्न गुम्बाको निरन्तर प्रयासहरूले तिब्बती करुणा र सामाजिक उत्तरदायित्वको आधारशिलाको रूपमा यसको भूमिकालाई अझ बलियो बनाउँछ । गुम्बा शताब्दियौंदेखिको तिब्बती संस्कृति र आध्यात्मिक अभ्यासको प्रमाण हो । यद्यपि, यस वास्तुकला र आध्यात्मिक सम्पदाको संरक्षण गर्न निरन्तर प्रयास आवश्यक पर्दछ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर