काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा विश्व फुटबलका दुई परम्परागत प्रतिद्वन्द्वी इङ्गल्याण्ड र अर्जेन्टिना आमनेसामने हुँदैछन् । २१ वर्षपछि विश्वकपको मञ्चमा एकअर्काविरुद्ध उत्रिन लागेका यी दुई टोलीबीचको बहुप्रतीक्षित खेल नेपाली समयअनुसार भोलि बिहान १२:४५ बजे अमेरिकाको एटलान्टामा हुनेछ ।
दुवै टोली फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रिँदै छन् । पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले पराजित गर्दै स्पेन फाइनलमा पुगिसकेको अवस्थामा अब अर्जेन्टिना र इङ्गल्याण्डमध्ये एक टोलीले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।
यस खेलमा विश्व फुटबलका केही उत्कृष्ट स्टार खेलाडीको प्रदर्शन निर्णायक बन्ने अपेक्षा गरिएको छ। इङ्गल्याण्डका जुड बेलिङ्घम र ह्यारी केन उत्कृष्ट लयमा रहेका छन् भने अर्जेन्टिनाको आशा कप्तान लिओनेल मेसीमाथि टिकेको छ ।
रियल म्याड्रिडका युवा स्टार जुड बेलिङ्घमले यस विश्वकपमा ६ गोल र १ असिस्ट गर्दै इङ्गल्याण्डको सफल यात्रामा महत्वपूर्ण भूमिका खेल्नुभएकाे छ । उहाँले क्वार्टरफाइनलमा नर्वेविरुद्ध दुई तथा अन्तिम–१६ मा मेक्सिकोविरुद्ध पनि दुई गोल गर्दै टोलीलाई जित दिलाउनुभएकाे थियाे ।
बेलिङ्घमले सन् १९८६ मा अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनापछि विश्वकपका लगातार दुई नकआउट खेलमा दुई–दुई गोल गर्ने पहिलो खेलाडी बन्ने कीर्तिमान पनि बनाउनुभएकाे छ । सेमिफाइनलमा उहाँमाथि फेरि एकपटक ठूलो जिम्मेवारी हुनेछ ।
इङ्गल्याण्डका कप्तान ह्यारी केन पनि उत्कृष्ट लयमा हुनुहुन्छ । उहाँले हालसम्म ६ गोल र १ असिस्ट गर्नुभएकाे छ । सन् २०१८ विश्वकपका गोल्डेन बुट विजेता केनले यसपटक पनि आफ्नो गोल गर्ने क्षमता प्रमाणित गर्नुभएकाे छ । क्रोएसिया, डीआर कङ्गो र मेक्सिकोविरुद्ध महत्त्वपूर्ण गोल गरेका उहाँले इङ्गल्याण्डका सर्वाधिक विश्वकप गोलकर्ताको कीर्तिमानसमेत आफ्नो नाममा गरिसक्नुभएकाे छ ।
इङ्गल्याण्डका अर्का प्रभावशाली खेलाडी एन्थोनी गोर्डनले तीन असिस्ट गर्नुभएकाे छ । प्रतियोगिताको सुरुवाती चरणमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसके पनि नकआउट चरणमा उहाँले उत्कृष्ट पुनरागमन गर्नुभएकाे छ । नर्वेविरुद्ध बेलिङ्घमलाई गोलका लागि पास उपलब्ध गराउँदै उहाँले आफ्नो प्रभाव देखाउनुभएकाे छ।
यता अर्जेन्टिनाको सबैभन्दा ठूलो हतियार कप्तान लिओनेल मेसी हुनुहुन्छ । ८ गोल र २ असिस्टसहित उहाँ हाल गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि हुनुहुन्छ । अल्जेरियाविरुद्ध ह्याट्रिकसहित प्रतियोगिताको सुरुवात गरेका मेसीले त्यसपछि अस्ट्रिया, जोर्डन, केप भर्डे र इजिप्टविरुद्ध पनि गोल गर्दै आफ्नो उत्कृष्ट लय कायम राख्नुभएकाे छ ।
मेसीका लागि यो खेल विशेष महत्वको छ। उनले आफ्नो लामो अन्तर्राष्ट्रिय करियरमा पहिलो पटक विश्वकपमा इङ्गल्याण्डको सामना गर्न लाग्नुभएकाे हाे । विश्व फुटबलका महान् खेलाडीमध्ये एक मानिने मेसी अर्जेन्टिनालाई पुनः विश्वकपको फाइनलमा पुर्याउने लक्ष्यमा हुनुहुन्छ ।
अर्जेन्टिनाका स्ट्राइकर लाउतारो मार्टिनेज पनि टोलीका महत्वपूर्ण खेलाडी हुनुहुन्छ । उहाँले हालसम्म २ गोल र १ असिस्ट गर्नुभएकाे छ । स्विट्जरल्याण्डविरुद्ध अतिरिक्त समयमा निर्णायक गोल गर्दै टोलीलाई सेमिफाइनल पुर्याउन उहाँले महत्वपूर्ण भूमिका खेल्नुभएकाे थियाे । दोस्रो हाफमा मैदान प्रवेश गरेर खेलको गति परिवर्तन गर्ने क्षमता उहाँका विशेषता मानिन्छ ।
इङ्गल्याण्ड र अर्जेन्टिनाबीचको प्रतिस्पर्धा केवल दुई टोलीबीचको खेल मात्र होइन, विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये एक हो । विगतका ऐतिहासिक भेट, भावनात्मक प्रतिस्पर्धा र दुवै टोलीको गौरवशाली इतिहासका कारण यो खेलप्रति विश्वभरका समर्थकको विशेष चासो रहेको छ ।
स्पेनले फाइनलमा स्थान बनाइसकेको अवस्थामा अब दोस्रो फाइनलिस्टको टुंगो यही खेलबाट लाग्नेछ । त्यसैले दुवै टोलीका लागि यो खेल ‘गर या मर’ को अवस्थाको हुनेछ। एकातिर बेलिङ्घम र केनको आक्रामक खेल रहनेछ भने अर्कोतर्फ मेसीको अनुभव र जादुमयी प्रदर्शन अर्जेन्टिनाको मुख्य आशा हुनेछ ।
विश्व फुटबलका लाखौँ समर्थकको नजर अब एटलान्टातर्फ केन्द्रित छ। फाइनल पुग्ने सपना कसले साकार पार्नेछ भन्ने जवाफ अब ९० मिनेट, वा आवश्यक परे अतिरिक्त समय र पेनाल्टी सुटआउटले दिनेछ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर