काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपालप्रसाद भट्टले ‘प्रि–आईपीओ’का नाममा हुने अवैध कारोबारमा संलग्न कम्पनी वा व्यक्तिमाथि कडा कारबाही गरिने बताउनुभएको छ।
बुधबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा ‘प्रि–आईपीओ’ सम्बन्धी उठेका प्रश्नको जवाफ दिँदै उहाँले ‘प्रि–आईपीओ’ कुनै पनि कानुनी व्यवस्था अन्तर्गतको प्रक्रिया नभएको स्पष्ट पार्दै यस्तो गतिविधिलाई राज्यले वैधानिकता दिन नसक्ने बताउनुभयो।
उहाँले जहाँसुकै यस्तो अवैध कारोबार भएको जानकारी प्राप्त भएमा कानुनअनुसार कारबाही गरिने उल्लेख गर्दै ‘प्रि–आईपीओ’का नाममा हुने चलखेललाई नियन्त्रण गर्न बोर्ड प्रतिबद्ध रहेको बताउनुभयो।
अध्यक्ष भट्टले योग्य कम्पनीलाई पुँजी बजारमार्फत वित्तीय पहुँच विस्तार गर्न बोर्डले विभिन्न योजना अघि बढाएको जानकारी दिनुभयो। उहाँका अनुसार स्टार्टअप, साना तथा मझौला उद्योग (एसएमई) लगायत योग्य कम्पनीहरूलाई पुँजी बजारमा प्रवेश गराउने व्यवस्था विकास भइरहेको छ।
उहाँले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आउने कम्पनीहरूले उच्च पारदर्शिता, कडा मापदण्ड तथा अन्तर्राष्ट्रिय अभ्यासअनुसारको सुशासन कायम गर्नुपर्ने बताउनुभयो। सर्वसाधारण लगानीकर्ताको हित संरक्षणका लागि आईपीओको मूल्य निर्धारण प्रक्रियालाई थप प्रतिस्पर्धी र पारदर्शी बनाइने उहाँको भनाइ थियो।
डा. भट्टले नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषलगायत संस्थागत लगानीकर्ताको सहभागिता बढाएर मूल्य निर्धारण प्रक्रियालाई अझ प्रभावकारी बनाउने तयारी भइरहेको जानकारी दिनुभयो।
उहाँले पुँजी बजारलाई केवल सेयर कारोबारमा सीमित नराखी ऋणपत्र, डेरिभेटिभ उपकरण तथा कमोडिटी फ्युचर्स जस्ता नयाँ वित्तीय उपकरणतर्फ विस्तार गर्ने तयारी पनि भइरहेको बताउनुभयो।
अध्यक्ष भट्टले पुँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीकर्तामैत्री बनाउँदै दीर्घकालीन वित्तीय स्रोत परिचालनको प्रभावकारी माध्यमका रूपमा विकास गर्ने दिशामा बोर्डले काम गरिरहेको उल्लेख गर्नुभयो।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर