काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिने बताउनुभएको छ। उहाँका अनुसार यो व्यवस्था लागू भएपछि बजार बढ्दा मात्र होइन, घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्नेछन्।
बुधबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष भट्टले नेपालमा सेयर बजार सधैं बढिरहनुपर्ने भन्ने गलत धारणा रहेको उल्लेख गर्दै कुनै पनि देशको पुँजीबजार निरन्तर उकालो मात्रै लाग्न नसक्ने स्पष्ट पार्नुभयो।
उहाँले धितोपत्र बोर्डको जिम्मेवारी बजारलाई बढाउने वा घटाउने नभई निष्पक्ष र पारदर्शी ‘प्लेइङ फिल्ड’ उपलब्ध गराउने मात्र भएको बताउनुभयो। बजार घट्नेबित्तिकै बोर्डमाथि अनावश्यक दबाब र घेराउ हुने गरेको उल्लेख गर्दै उहाँले यस्तो प्रवृत्ति अन्त्य गर्न बजारमा नयाँ उपकरण आवश्यक रहेको धारणा राख्नुभयो।
अध्यक्ष भट्टका अनुसार ‘सर्ट सेलिङ’ लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले अरूबाट सेयर सापटी लिएर बिक्री गर्न सक्नेछन्। त्यसपछि मूल्य घटेपछि सोही सेयर खरिद गरेर फिर्ता गर्दा मूल्य अन्तरबाट नाफा लिन सकिनेछ। यस्तै, बजार बढ्ने अपेक्षा गर्ने लगानीकर्ताले अहिलेझैं सेयर खरिद गरेर मूल्य बढेपछि बिक्री गरी प्रतिफल लिन सक्नेछन्।
उहाँले यस व्यवस्थाले बजार सधैं बढ्नैपर्छ भन्ने एकतर्फी सोचको अन्त्य हुने र लगानीकर्ताले आफ्नै अध्ययन, विश्लेषण र जोखिम मूल्याङ्कनका आधारमा निर्णय गर्ने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो।
अध्यक्ष भट्टले बजारमा फैलिने अफवाह नियन्त्रण गर्न आवश्यक नीतिगत व्यवस्था पनि ल्याइने जानकारी दिनुभयो। सम्पत्ति छानबिनलगायत सरकारी अनुसन्धानका कारण लगानीकर्ताको मनोबल कमजोर भएको भन्ने गुनासो आएको उल्लेख गर्दै उहाँले यस्ता विषयमा सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गरेर काम गरिने बताउनुभयो।
उहाँले नेपालको पुँजीबजारलाई व्यवस्थित र आधुनिक बनाउने उद्देश्यका साथ ‘नेपालको पुँजीबजार विकास मार्गचित्र, २०८३’ सार्वजनिक गरिएको जानकारी दिनुभयो। साथै, आगामी आर्थिक वर्षका लागि बोर्डले ‘पुँजीबजार नीति २०८३/८४’ समेत सार्वजनिक गरी त्यसअनुसार सुधारका कार्यक्रम अघि बढाइने बताउनुभयो।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर