भक्तपुर । केदारनाथको शिरका रूपमा परिचित भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखि भदौ ६ गतेसम्म ३८ दिने श्रावणी मेला सञ्चालन हुने भएको छ। आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले मेला अवधिभर दर्शनार्थीको भीडलाई व्यवस्थित, सुरक्षित र सहज बनाउन १४ वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको जानकारी दिनुभयो। स्थानीय संघसंस्था, टोल सुधार समिति, महिला समूह तथा स्वयंसेवकसँगको सहकार्यमा मेला सञ्चालन गरिने उहाँले बताउनुभयो।
उहाँका अनुसार साउन १ गते बिहान ७ बजे पौखेलस्थित चन्द्रविनायक मन्दिरबाट डोलेश्वर महादेवसम्म कलश यात्रा निकालिनेछ। त्यसपछि बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले श्रावणी मेलाको औपचारिक उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ।
मेला अवधिभर विभिन्न धर्मगुरुबाट धार्मिक प्रवचन, कथा वाचन तथा कलाकारहरूद्वारा भजन–कीर्तनका कार्यक्रम सञ्चालन गरिनेछन्। विशेषगरी प्रत्येक सोमबार भक्तजनको अत्यधिक भीड हुने भएकाले दर्शन व्यवस्थापनमा विशेष तयारी गरिएको समितिले जनाएको छ।
भदौ ६ गते डोलेश्वर महादेवको वार्षिक उत्सवका अवसरमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यमा मेलाको समापन गरिने कार्यक्रम तय गरिएको छ।
भक्तजनको सुरक्षाका लागि मन्दिर परिसरमा सिसिटिभी क्यामेरा जडान गरिएको छ। शान्ति सुरक्षाका लागि जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त जगाती तथा डोलेश्वर प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरिनेछ भने यातायात व्यवस्थापनमा सल्लाघारी ट्राफिक प्रहरीले सहजीकरण गर्नेछ।
आकस्मिक स्वास्थ्य सेवाका लागि रणशेर गण, सूर्यविनायक नगर अस्पताल तथा अन्य स्वास्थ्य संस्थाको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। दर्शनार्थीलाई सहज सेवा उपलब्ध गराउन पर्याप्त स्वयंसेवक परिचालन गरिने आयोजकले जनाएको छ।
वि.सं. २०६६ साल भदौ ६ गते डोलेश्वर महादेवलाई केदारनाथको शिरका रूपमा घोषणा गरिएपछि यसको धार्मिक तथा पर्यटकीय महत्व उल्लेखनीय रूपमा बढेको छ। त्यसयता हरेक साउन महिनामा नेपालका विभिन्न जिल्लासहित भारतबाट पनि लाखौँ भक्तजन दर्शनका लागि यहाँ पुग्ने गरेका छन्। यस वर्षको श्रावणी मेलामा पनि उल्लेख्य संख्यामा स्वदेशी तथा विदेशी भक्तजन सहभागी हुने आयोजकको विश्वास छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर