काठमाडौं । अमेरिकी सेनाले इरानमाथिको सैन्य कारबाहीलाई निरन्तरता दिँदै होर्मुज जलमार्गसहितका रणनीतिक बन्दरगाह क्षेत्रमा नौसैनिक नाकाबन्दी पुनः लागू गरेको जनाएको छ। यससँगै मध्यपूर्वमा जारी तनाव थप चर्किएको छ भने विश्व ऊर्जा बजारमा पनि यसको प्रभाव देखिन थालेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग प्रयोग गर्ने जहाजहरूमा प्रस्तावित २० प्रतिशत शुल्कको योजना फिर्ता लिएको केही घण्टामै पुनः सैन्य कारबाही सुरु भएको बताइएको छ। यस घटनाले अन्तर्राष्ट्रिय तेल तथा ग्यास आपूर्तिमा थप अनिश्चितता सिर्जना गरेको जनाइएको छ।
इरानले होर्मुज जलमार्ग आफ्नो रणनीतिक नियन्त्रणमा रहेको दोहोर्याउँदै युद्धको अवस्था कायम रहेमा तेल तथा ग्यास आपूर्ति प्रभावित हुन सक्ने चेतावनी दिएको छ। इरानी रिभोलुसनरी गार्ड्सले नयाँ अमेरिकी नाकाबन्दीले विश्वव्यापी ऊर्जा निर्यातमा असर पार्ने र अमेरिकाका साझेदार राष्ट्रहरू समेत प्रभावित हुन सक्ने जनाएको छ।
इरानका उपविदेशमन्त्री काजेम गरिबाबादीले अमेरिकी निर्णयले गत महिना भएको अन्तरिम शान्ति सम्झौतालाई कमजोर बनाएको टिप्पणी गर्नुभएको छ।
यता अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानको तटीय क्षेत्रमा रहेका जलमार्ग तथा दर्जनौँ सैन्य संरचनामाथि आक्रमण गरिएको जनाएको छ। सेन्टकमका अनुसार व्यापारिक जहाज र नागरिक सुरक्षामाथि इरानबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न उक्त कारबाही गरिएको हो।
इरानी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बास, केशम टापु तथा बन्दर इमाम खोमेनी क्षेत्रमा शक्तिशाली विस्फोट भएका छन्। आक्रमणपछि बहराइनमा साइरन बजाइएको तथा कुवेत र जोर्डनले इरानबाट प्रहार गरिएका ड्रोन र मिसाइल अवरोध गरेको जनाइएको छ।
आईआरएनए समाचार एजेन्सीले इरानी सेनाले अमेरिकी लडाकु विमान रहेको जोर्डनस्थित सैन्य अड्डामाथि ड्रोन आक्रमण गरेको जनाएको छ।
फक्स न्यूजका अनुसार राष्ट्रपति ट्रम्पले इरान वार्तामा नफर्किए अर्को साता विद्युत् केन्द्र र पुललगायतका पूर्वाधारमा थप आक्रमण गरिने चेतावनी दिनुभएको छ।
इरानी रिभोलुसनरी गार्ड्सले भने अमेरिकाले आफ्नो आक्रमण नरोकेसम्म होर्मुज जलमार्ग बन्द रहने र जवाफी कारबाही जारी रहने जनाएको छ।
सेन्टकमका प्रमुख एडमिरल ब्राड कुपरले इरानले पछिल्लो सातामा सातवटा व्यापारिक जहाजमाथि आक्रमण गर्दा करिब एक दर्जन नागरिक चालक दलका सदस्यको मृत्यु भएको दाबी गर्नुभएको छ। उहाँले निर्दोष नागरिकको सुरक्षाका लागि इरानलाई जवाफदेही बनाउन अमेरिकी कारबाही जारी रहने बताउनुभएको छ।
यसैबीच ओमानको तटमा एक नर्वेली तेल ट्याङ्करमा अज्ञात विस्फोट भएको संकट प्रतिक्रिया कम्पनी एमटीआई नेटवर्कले जनाएको छ। कुवेतले पनि इरानी ड्रोन तथा मिसाइल आक्रमणका क्रममा आफ्नो एक नौसैनिक जहाजमा क्षति पुगेको र चार चालक दलका सदस्य घाइते भएको जानकारी दिएको छ।
इरानी सञ्चारमाध्यम र आधिकारिक स्रोतलाई उद्धृत गर्दै एएफपीले गत सातादेखिको अमेरिकी आक्रमणमा इरानमा कम्तीमा २८ जनाको मृत्यु भएको जनाएको छ।
यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानले इजरायलमाथि आक्रमण गरे त्यसको कडा प्रतिकार गरिने चेतावनी दिनुभएको छ।
-एजेन्सी







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर