काठमाडौं । नेपाल स्कुल स्पोर्ट्स फेडरेसन (एनएसएसएफ) र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच पाँच वर्षका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । एक कार्यक्रमका बीच औपचारिक समझदारी पत्रमा एनएसएसएफका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठ र हिसानका केन्द्रीय अध्यक्ष युवराज शर्माले हस्ताक्षर गर्नुभयो । देशभरिका हिसानमा आबद्ध उच्च माध्यमिक विद्यालय र कलेजहरूमा संस्थागत विद्यालय खेलकुदको व्यवस्थित विकास, प्रवर्द्धन र समन्वय गर्नु यो सम्झौताको मुख्य उद्देश्य रहेको एनएसएसएफले जनाएको छ ।
हस्ताक्षर समारोहमा एनएसएसएफका उपाध्यक्ष मोहनकुमार कार्की, अन्तर्राष्ट्रिय स्कुल स्पोर्ट्स फेडरेसनका कार्यकारी समिति सदस्य राजकुमार कार्की, हिसानका महासचिव रामहरि सिलवाल, एनएसएसएफका बोर्ड सदस्य तथा सिएफओ सोविनराज रेग्मी, एनएसएसएफका बोर्ड सदस्य खड्गबहादुर थापा र एनएसएसएफकै बोर्ड सदस्य पदम रानाको उपस्थिति रहेको थियो ।
सम्झौताअनुसार दुवै संस्थाहरू मिलेर क्षेत्रीय, प्रादेशिक र राष्ट्रियस्तरका व्यवस्थित खेलकुद प्रतियोगिताहरू आयोजना र सञ्चालन गर्ने तथा यस रणनीतिक साझेदारीअन्तर्गत राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट आधिकारिक मान्यता प्राप्त गर्ने गरी वार्षिक मुख्य प्रतियोगिताहरू पनि आयोजना गरिनेछ । यू-१९ बास्केटबल ३ बाई ३ च्याम्पियनसिप, एनएसएसएफ हिसान कप, एनएसएसएफ हिसान कमब्याट गेम्स र स्कुल प्रिमियर लिग आयोजना गर्ने सम्झौतामा उल्लेख छ ।
यसैगरी पूर्वाधार र खेल विज्ञानमा पनि सहकार्य गर्ने उल्लेख छ । सम्झौताअनुसार स्थानीय खेलकुद पूर्वाधारको स्तरोन्नति गर्ने, आबद्ध विद्यालयहरूलाई आधुनिक खेलकुद सामग्री उपलब्ध गराउने र एनएसएसएफ तथा आइएसएफ एकेडेमीको समन्वयमा खेल विज्ञान कार्यक्रम, कार्यशाला र शारीरिक शिक्षा पाठ्यक्रमहरू लागू गर्ने म्यान्डेट दिएको छ ।
यो साझेदारी पाँच वर्षको रहनेछ र यो साझेदारीको एक महत्त्वपूर्ण पक्ष नेपाली विद्यार्थी खेलाडीहरूका लागि उत्कृष्ट अन्तर्राष्ट्रिय खेल मञ्चको ढोका खोल्नु पनि रहेको एनएसएसएफले जनाएको छ । एनएसएसएफले हिसान आबद्ध संस्थाहरूका खेलाडीलाई अन्तर्राष्ट्रिय स्कुल स्पोर्ट्स फेडरेसनद्वारा सञ्चालित प्रतिष्ठित विश्वव्यापी प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्ने आधिकारिक अवसर प्रदान गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।
यी बृहत् कार्यक्रमहरू सञ्चालन गर्न दुवै निकायले संयुक्त रूपमा संस्थागत प्रायोजन, निजी सहयोग र सरकारी अनुदानहरू जुटाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रमलाई पारदर्शी र जवाफदेही बनाउन एनएसएसएफ र हिसानका नेतृत्व सम्मिलित एक ‘संयुक्त अनुगमन समिति’ तत्काल गठन गरिने र त्यसबाट परियोजनाको प्रगति समीक्षा गर्ने, प्रदर्शनको मूल्यांकन गर्ने एनएसएसएफले जनाएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर