टेक्सास । विश्व फुटबलकै एक अब्बल स्ट्राइकर किलियन एमबाप्पेको कप्तानीमा रहेको फ्रान्सको बलियो आक्रामक त्रिमूर्तिलाई रोक्न स्पेनको रक्षात्मक कौशल र आत्मविश्वास नै काफी बन्यो । बुधबार बिहान भएको फिफा विश्वकप २०२६ को सनसनीपूर्ण सेमिफाइनल भिडन्तमा फ्रान्सलाई २-० ले स्तब्ध पार्दै २०१० को च्याम्पियन स्पेन दोस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।
अमेरिकाको टेक्सासस्थित आर्लिंगटन रंगशालामा ७० हजारभन्दा बढी दर्शकमाझ भएको खेलमा स्पेनले जारी विश्वकपको सात खेलमध्ये छैटौं पटक ‘क्लिन सिट’ राख्दै कीर्तिमानसमेत बनायो । लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने दाउमा रहेको फ्रान्सको सपनालाई चकनाचुर पार्न स्पेनका तर्फबाट मिकेल ओयार्साबाल र पेड्रो पोरोले गरेका गोलहरू निर्णायक बने ।
खेलअघि स्पेनका १७ वर्षीय युवा विंगर लामिन यामलले ‘फ्रान्सले स्पेनसँग डराउनुपर्छ’ भनी दिएको अभिव्यक्ति मैदानमा सत्य साबित भयो । फिफा वरीयताको शीर्ष स्थानमा रहेको र प्रतियोगिताभरि विपक्षीमाथि हाबी हुँदै सानदार जित निकालेको फ्रान्स स्पेनिस रणनीतिसामु पूर्ण रूपमा निरीह देखियो । विश्वकपका कुल २१ खेलमा २० गोल गरिसकेका एमबाप्पे, ब्यालोन डी’ओर विजेता ओस्मान डेम्बेले र प्रतियोगितामा सबैभन्दा बढी पाँच असिस्ट गरेका माइकल ओलिस सम्मिलित फ्रान्सको ब्याटिङ लाइन अपलाई स्पेनले खेलभरि एउटै पनि गम्भीर सट प्रहार गर्ने मौका दिएन ।
खेलको २२औँ मिनेटमा स्पेनले अग्रता लिएको थियो । फ्रान्सका अनुभवी डिफेन्डर लुकास डिग्नेले हेडद्वारा बल क्लियर गर्न खोज्दा गम्भीर प्राविधिक गल्ती गर्नुभयो । सोही बल खोस्न पछाडिबाट तीव्र गतिमा आएका युवा खेलाडी लामिन यामललाई डिग्नेले बक्सभित्र लडाएपछि स्पेनले पेनाल्टीको अवसर पायो । यद्यपि, हावामा उफ्रिएका यामलको कुहिनोमा बल लागेको भन्दै एमबाप्पे र फ्रान्सेली खेलाडीहरूले रेफ्री इभान बार्टोनसँग लामो बहस गरेका थिए तर भिडियो असिस्टेन्ट रेफ्रीको सहयोग नलिई रेफ्रीले पेनाल्टीको निर्णयलाई कायम राखे । उक्त पेनाल्टीलाई मिकेल ओयार्साबालले सहजै गोलमा परिणत गर्दै स्पेनलाई १–० को अग्रता दिलाउनुभयो । जारी विश्वकपका सात खेलहरूमा स्पेन पहिलो पटक खेलमा अगाडि परेको हो ।
दोस्रो हाफको ५८औँ मिनेटमा स्पेनले आफ्नो अग्रता दोब्बर बनायो । पेड्रो पोरोले फ्रान्सेली रक्षापंक्तिलाई छलाउँदै डानी ओल्मोसँग सुन्दर ‘गिभ-एन्ड-गो’ गर्नुभयो । ओल्मोलाई फ्रान्सेली डिफेन्डर डेओट उपामेकानोले लडाउनुअघि नै पोरोले उत्कृष्ट फिनिसिङका साथ बललाई जाली चुमाउनुभयो । आफ्नो १९औँ जन्मदिन मनाएको भोलिपल्टै मैदान उत्रिएका यामलले त्यसको लगतै अर्को गोल पनि गर्नुभएको थियो तर रेफ्रीले त्यसलाई निकै नजिकको अन्तरमा अफसाइड घोषित गरिदिए ।
यो ऐतिहासिक जितसँगै स्पेनले मार्च २०२४ यता नियमित समयमा आफ्नो अपराजित यात्रालाई ३७ खेल (२८ जित र नौ बराबरी) पुर्याएको छ । यसअघि सन् २००७-०९ मा कायम गरेको ३५ खेलको राष्ट्रिय कीर्तिमानलाई स्पेनले भंग गरेको हो । अर्कोतर्फ, फ्रान्सको लगातार ६ वटा विश्वकप खेल जित्ने कीर्तिमानी यात्रामा पूर्णविराम लागेको छ ।
प्रतियोगितामा स्पेनले विपक्षीमाथि कुल १२ गोल गरेको छ भने मात्र १ गोल खाएको छ । स्पेनका गोलकिपर उनाई सिमोनले क्वाटरफाइनलमा बेल्जियमविरुद्ध १ गोल खानुअघि लगातार ६५० मिनेटसम्म गोल नखाई विश्वकपको नयाँ कीर्तिमान बनाउनुभएको थियो । तथ्यांकको हिसाबले पनि फ्रान्सका फरवार्डहरू पूर्ण रूपमा फ्लप साबित भए । खेलभरि फ्रान्सले स्पेनको पेनाल्टी बक्समा २० पटक बल छोए पनि पोस्टको दिशामा एउटै पनि ‘शट अन टार्गेट’ राख्न सकेन । जबकि स्पेनले मात्र १३ टचबाट दुई सुन्दर गोल निकाल्यो ।
यो लज्जास्पद हारपछि फ्रान्सका कप्तान किलियन एमबाप्पे निकै निराश देखिनुभयो । खेलभरि जम्मा १५ पटकमात्र बल छुन पाएका एमबाप्पेले खेलको ८६औँ मिनेटमा स्पेनिस किपर उनाई सिमोनसँग ठोक्किन पुग्दा पहेँलो कार्डसमेत पाउनुभएको थियो । खेलपछि कप्तानको हैसियतमा हारको पूर्ण जिम्मेवारी लिँदै एमबाप्पेले भन्नुभयो, ‘स्पेन बल नियन्त्रणमा राखेर खेल्न रुचाउने टोली हो र हामीले उनीहरूलाई त्यही गर्न दियौं । हामीले उनीहरूको मिडफिल्डलाई खेल्ने धेरै समय दियौं र उनीहरूसँग गुणस्तर थियो । हामीले फाइनल पुग्ने स्तरको खेल प्रस्तुत गर्न सकेनौं ।’
विश्वकपको फाइनल यात्रा समाप्त भए पनि एमबाप्पे अझै पनि गोल्डेन बुटको दौडमा जीवितै हुनुहुन्छ । उहाँ र अर्जेन्टिनाका महान् खेलाडी लियोनेल मेसीको यस विश्वकपमा समान आठ–आठ गोल रहेको छ । तर, तीन असिस्टका साथ एमबाप्पे हाल अगाडि हुनुहुन्छ । मेसीसँग अझै दुई खेल बाँकी रहेकाले गोल्डेन बुटको भिडन्त रोमाञ्चक हुने देखिन्छ ।
लगातार तेस्रो पटक फाइनल पुग्ने ऐतिहासिक अवसर गुमाएको फ्रान्सले अब शनिबार फ्लोरिडाको मियामी गार्डेन्समा तेस्रो स्थानका लागि सान्त्वना खेल खेल्नेछ । फ्रान्सका बिदाइ हुन लागेका प्रशिक्षक डिडियर डेसच्याम्प्सले प्राविधिक त्रुटिहरूका कारण पराजय भोग्नुपरेको स्वीकार गर्दै स्पेनको रक्षापंक्तिको खुलेर प्रशंसा गर्नुभयो । यो जितसँगै स्पेनले लगातार तेस्रो वर्ष कुनै न कुनै ठूलो प्रतियोगिताको सेमिफाइनलमा फ्रान्सलाई हराउने आफ्नो बर्चस्व कायम राखेको छ ।
विश्वकप फाइनलको हाफ-टाइम २५ मिनेटसम्म लम्बिने
आइतबार हुने फिफा विश्वकप २०२६ को फाइनल खेलको हाफ–टाइमको विश्राम २० देखि २५ मिनेटसम्म लम्बिने भएको छ । खेलको मध्यान्तरमा न्युयोर्क न्युजर्सी रंगशालामा अमेरिकी ‘सुपर बोल’ शैलीको ११ मिनेट लामो विशेष सांगीतिक प्रस्तुति हुने भएपछि हाफ-टाइमको समय थपिन लागेको हो । विशेष प्रस्तुतिमा चर्चित गायिका म्याडोना, शाकिरा र चर्चित के–पप ब्यान्ड बिटिएसले संयुक्त रूपमा मुख्य प्रस्तुति दिनेछन् ।
विश्वकप आयोजक फिफासम्बद्ध स्रोतका अनुसार मध्यान्तर करिब २० मिनेटको हुने अनुमान गरिएको छ । यद्यपि, तय गरिएको अर्को विकल्पअनुसार सामान्य अवस्थाको १५ मिनेटको विश्राम र त्यसपछि थप ११ मिनेटको सांगीतिक शो गरेर कुल समय तय गरिने बुझिएको बिबिसीले जनाएको छ । फुटबलको नियमन गर्ने निकाय इफाबको नियमअनुसार खेलाडीहरूले बढीमा १५ मिनेटको मात्र हाफ–टाइम विश्राम पाउने व्यवस्था छ ।
यसअघि न्युजर्सीमै आयोजना भएको क्लब विश्वकपको फाइनलमा पनि कोल्डप्ले, जे बाल्भिन, डोजा क्याट, टेम्स र इमानुएल केलीको प्रस्तुति हुँदा हाफ-टाइम कुल २४ मिनेट लम्बिएको थियो । गायक क्रिस मार्टिनले तयार पारेको आइतबारको यस मेगा शोमा गत हप्तामात्रै पप स्टार जस्टिन बिबरको नाम पनि थपिएको छ । उनीहरूका साथमा बर्न ब्वाई, गुस्ताभो दुदामेल र कोल्डप्लेसँगै पिएस २२ कोरसले पनि मञ्च सेयर गर्नेछन् । समापन समारोहमा हलिउड अभिनेता टम क्रुज, लाउरा पाउसिनी, निकोल शेर्जिंगर, रोबी विलियम्स र चर्चित स्ट्रिमर आइशोस्पीडले प्रस्तुति दिने तय भएको छ ।
एजेन्सी







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर