काठमाडौं । अमेरिकाको न्युजर्सीस्थित जर्सी सिटी काउन्सिलले नेपाली पार्श्वगायक, संगीतकार तथा कलाकार युवराज चौलागाईंलाई नेपाली संगीत, संस्कृति तथा प्रवासी नेपाली समुदायमा पुर्याएको योगदानको कदर गर्दै औपचारिक सम्मान प्रदान गरेको छ । जुलाई २०२६ मा जारी गरिएको सम्मानपत्र मंगलबार जर्सी सिटी हलमा आयोजित एक समारोहबीच चौलागाईंलाई हस्तान्तरण गरिएको हो । जर्सी सिटीका मेयरद्वारा नियुक्त ‘विविधता तथा समावेशीकरण सल्लाहकार’ तथा न्युजर्सीका गभर्नरको ‘एसियन अमेरिकन प्यासिफिक आइल्यान्डर कमिसन’की कमिस्नर डा.विष्णुमाया परियारले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।
जर्सी सिटी काउन्सिलका काउन्सिलम्यान-एट-लार्ज रोलाण्डो लभारोले हस्ताक्षर गरेको सम्मानपत्रमा चौलागाईंले दुई दशकभन्दा लामो समयदेखि नेपाली संगीत क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरिएको छ । चलचित्र तथा आधुनिक संगीत विधामा उहाँले ४०० भन्दा बढी गीतमा स्वर दिई नेपाली संगीत क्षेत्रलाई समृद्ध बनाएको उल्लेख गरिएको छ ।
सम्मानपत्रमा चौलागाईंलाई केवल गायक र संगीतकारका रूपमा मात्र नभई नेपाली सांगीतिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने, नयाँ पुस्ताका कलाकारलाई प्रेरित गर्ने तथा नेपाली संगीत सम्पदाको संरक्षणमा योगदान पुर्याउने सांस्कृतिक व्यक्तित्वका रूपमा चित्रण गरिएको छ । साथै नेपाल र विश्वभर रहेका नेपाली समुदायबीच सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन उहाँले महत्त्वपूर्ण भूमिका खेलेको पनि उल्लेख छ ।
यो सम्मान न्यूयोर्कबाट प्रकाशित हुने स्थानीय सञ्चारमाध्यम ‘नेपयोर्क’को चौथो वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको हो । सम्मानपत्रमा चौलागाईंको कलात्मकता, सांस्कृतिक प्रतिबद्धता तथा मञ्च प्रस्तुतिले उहाँलाई नेपाली समुदायसँगै प्रवासी नेपाली युवापुस्तामाझ प्रेरणाको स्रोत बनाएको उल्लेख गरिएको छ ।
दुई दशकभन्दा लामो समयदेखि नेपाली सुगम संगीत र चलचित्र पार्श्वगायनमा सक्रिय चौलागाईंले ‘यू फिल’, ‘यश’ र ‘शब्द’ जस्ता एल्बममार्फत आफ्नो सांगीतिक यात्रा अघि बढाउनुभएको हो । ‘लैजा चरी’, ‘हरेक शब्दको अर्थ हुन्छ’ तथा क्लासिक रिमेक ‘टुङ्नाको धुनमा’ जस्ता गीतले उहाँलाई थप स्थापित बनाएका छन् ।
उहाँले नेपाली चलचित्रका ‘पलभरमै खुसी’ (नोभेम्बर रेन), ‘हारे हारे’ (क्लासिक), ‘तिमी साथमा हुँदानी’ (पलाँस), ‘यो मन रमाउँदै’ (कान्छी), ‘तिम्रा डोला डोला हातमा’ (हवल्दार सुन्तली), ‘तिम्रो माया पाउनलाई’, ‘झम झम लाग्यो’, ‘छुटेपछि त छुट्यो’, ‘पल पल चोट’, ‘मैलेभन्दा माया गर्ने’ र ‘सिरफुले माया’लगायतका चर्चित गीतमा स्वर दिइसक्नुभएको छ ।
रेकर्डिङ स्टुडियोसँगै देश तथा विदेशका सांगीतिक मञ्चमा पनि सक्रिय चौलागाईं संगीत सिर्जना र नयाँ प्रतिभाको मार्गदर्शनमा समेत संलग्न रहँदै आउनुभएको छ । उहाँले एनएफडिसी राष्ट्रिय चलचित्र अवार्ड, नेफ्टा अवार्ड, फान अवार्ड, इनास अवार्ड, कालिका अवार्ड, बिन्दबासिनी अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड, सगरमाथा म्युजिक अवार्डलगायत दर्जनौं राष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर