काठमाडौं । आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘मास्टर्नी’ले आफ्नो प्रचार अभियान प्रमोसन गीत सार्वजनिक गर्दै सुरु गरेको छ । तर, चलचित्र प्रदर्शनअघि नै यसको प्रचार गीतले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म बहस सिर्जना गरेको छ । विशेषगरी शिक्षिका (गुरुआमा/मास्टर्नी) जस्तो सम्मानित पात्रलाई केन्द्रमा राखिएको चलचित्रको प्रचार गीतमा प्रयोग गरिएका द्विअर्थी शब्द, नृत्यशैली र दृश्य संयोजनलाई लिएर आलोचना बढ्न थालेको हो ।
दुर्गेश थापाको शब्द, संगीत तथा स्वर रहेको गीतमा गायिका वविना किरातीले स्वरमा साथ दिनुभएको छ । चलचित्रको प्रवर्द्धनका लागि दुर्गेशले उक्त गीत उपहारस्वरूप प्रदान गर्नुभएको निर्माण पक्षले जनाएको छ । प्रदीप लामाको अवधारणा, निर्देशन तथा कोरियोग्राफीमा तयार गरिएको भिडियोमा प्रियंका कार्की, दुर्गेश थापा, आयुष्मान देशराज जोशी, आर्यन सिग्देललगायत कलाकारको प्रस्तुति रहेको छ । भिडियोको छायांकन, सम्पादन तथा कलर पवन सुस्लिङले गर्नुभएको हो ।
प्रचार गीतले विवाद सिर्जना गरे पनि निर्माण पक्षले यसलाई चलचित्रको मनोरञ्जनात्मक प्रचार सामग्रीका रूपमा प्रस्तुत गरेको जनाएको छ । अब भने गीतलाई लिएर उठेका प्रश्नले चलचित्रप्रति दर्शकको चासो बढाउने कि विवादकै कारण नकारात्मक प्रभाव पार्ने भन्ने विषय प्रदर्शनपछि मात्र स्पष्ट हुने देखिएको छ ।
यद्यपि, गीतमा समावेश गरिएका केही शब्द र दृश्यले भने दर्शकमाझ मिश्रित प्रतिक्रिया पाएका छन् । विशेषगरी ‘म्याथ सिक्ने भए, सबलाई जित्ने भए, ट्युशन पढाइ दिन्छु, बेलुका घरमा आए, दायाँबायाँ नभए’ जस्ता हरफहरूलाई धेरैले द्विअर्थी आशय बोकेको भन्दै आलोचना गरेका छन् । गीतमा प्रस्तुत गरिएका नृत्यका हाउभाउ र दृश्य संयोजनले पनि शिक्षिका पात्रको पेशागत गरिमा र सामाजिक मर्यादालाई कमजोर बनाउने प्रयास गरिएको टिप्पणी सामाजिक सञ्जालमा देखिएको छ ।
नेपाली समाजमा ‘गुरुआमा’ अथवा ‘मास्टर्नी’ शब्दले ज्ञान, अनुशासन, नैतिकता र सम्मानको प्रतीकका रूपमा स्थापित छ । विद्यालयमा शिक्षिका र विद्यार्थीबीचको सम्बन्ध प्राज्ञिक, अनुशासित र मर्यादित मानिन्छ । तर, चलचित्रको प्रचार गीतले भने यही पात्रलाई मनोरञ्जनमुखी शैलीमा प्रस्तुत गर्दै द्विअर्थी संवाद र आकर्षक नृत्यलाई प्राथमिकता दिएको आरोप लागिरहेको छ । समीक्षकहरूको भनाइमा चलचित्रको शीर्षकले दिने गम्भीर सन्देश र प्रचार गीतको प्रस्तुति एकअर्कासँग मेल नखाने देखिन्छ ।
गीतको दृश्य प्रस्तुति दक्षिण भारतीय चलचित्र ‘सिठ्ठीमार’ को शैलीबाट प्रभावित देखिएको टिप्पणी पनि भइरहेको छ । विशेषगरी अभिनेता अल्लु अर्जुनले प्रयोग गरेको कुर्सीमा बसेर नाच्ने शैलीलाई आयुष्मान देशराज जोशीले अनुकरण गर्न खोजेको आभास हुने प्रतिक्रिया दर्शकहरूले दिएका छन् । यसले चलचित्रले आफ्नै मौलिक शैलीभन्दा व्यावसायिक मनोरञ्जनलाई प्राथमिकता दिएको संकेत गरेको टिप्पणी पनि गरिएको छ । यसअघि चलचित्र घोषणा गर्दा निर्माण पक्षले ‘ब्लकबस्टर’ चलचित्रका रूपमा प्रचार गरेको ‘मास्टर्नी’को प्रमोसन गीतमा भने उक्त दाबी दोहोर्याइएको छैन ।
यसैबीच चलचित्रको प्रदर्शन मिति परिवर्तनलाई लिएर पनि चर्चा भइरहेको छ । मंगलबार आयोजित प्रमोसन गीत सार्वजनिक कार्यक्रममा पत्रकारहरूले बहुप्रतिक्षित कन्नड चलचित्र ‘टक्सिक’को प्रदर्शनसँग जुध्न नपरोस् भनेर ‘मास्टर्नी’को रिलिज सारिएको हो कि भन्ने प्रश्न गरेका थिए । निर्माता तथा अभिनेत्री प्रियंका कार्कीले भने यस्तो आरोप अस्वीकार गर्नुभयो । उहाँका अनुसार चलचित्रको प्रदर्शन मिति पहिलेदेखि नै तय गरिएको थियो र प्रदर्शकसँगको छलफलपछि मात्र अन्तिम निर्णय गरिएको हो ।
‘हामीले अलरेडी फिल्मको प्रदर्शन मिति तय गरिसकेका थियौं । क्युएफएक्ससँगको पार्टनर र उहाँहरूसँगको छलफलपछि प्रदर्शन भदौ ५ गते राखेका हौं । कुनै फिल्मसँग डराएर अगाडि आएका होइनौं,’ प्रियंकाले भन्नुभयो ।
उहाँले भदौ १२ गतेको मितिमा धेरै चलचित्र प्रदर्शनको तयारीमा रहेकाले प्रतिस्पर्धा कम हुने हिसाबले एक साताअगाडि आउने निर्णय गरिएको पनि बताउनुभयो । हाल भदौ ५ गतेको प्रदर्शन मितिमा सीमित नेपाली चलचित्र मात्र रहेकाले दर्शकसम्म सहज पहुँच पुग्ने अपेक्षा निर्माण पक्षको छ ।
चलचित्रको निर्देशन भारतीय निर्देशक सुभेन्दु घोषले गर्नुभएको हो । काठमाडौं र पोखरामा जम्मा १७ दिनमा छायांकन सम्पन्न गरिएको चलचित्र ‘क्राइम थ्रिलर मर्डर मिस्ट्री’ जनरामा निर्माण भएको जनाइएको छ । प्रमोसन गीत सार्वजनिक कार्यक्रममा भने निर्देशक घोष उपस्थित हुनुभएको थिएन ।
आयंका फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता प्रियंका कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की हुनुहुन्छ । प्रियंका कार्कीको कथामा आधारित चलचित्रको पटकथा तथा स्क्रिनप्ले शान थापाले लेख्नुभएको हो ।
चलचित्रमा प्रियंका कार्कीसँगै आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरि, अनुपविक्रम शाही, विशाल पहारी, रक्षा थापा, सिम्रन खड्का, दिनेश काफ्लेलगायत कलाकारहरूको अभिनय छ ।
प्रचार गीतले विवाद सिर्जना गरे पनि निर्माण पक्षले यसलाई चलचित्रको मनोरञ्जनात्मक प्रचार सामग्रीका रूपमा प्रस्तुत गरेको जनाएको छ । अब भने गीतलाई लिएर उठेका प्रश्नले चलचित्रप्रति दर्शकको चासो बढाउने कि विवादकै कारण नकारात्मक प्रभाव पार्ने भन्ने विषय प्रदर्शनपछि मात्र स्पष्ट हुने देखिएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर