भक्तपुर । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले पर्यटन क्षेत्रलाई प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै पर्यटन प्रवर्द्धनका लागि चालु आर्थिक वर्षमा चार करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभएको छ।
बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना तथा राष्ट्रिय सञ्चार केन्द्र नेपालको सहकार्यमा भक्तपुरमा आयोजित ‘बागमती प्रदेशभित्रका पर्यटकीय गन्तव्यको खोजी, पर्यटन क्षेत्रको सम्भावना, चुनौती र भावी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको दिगो विकासका लागि सरकार, निजी क्षेत्र, स्थानीय तह र सञ्चारमाध्यमबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो।
उहाँले बागमती प्रदेशमा प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको अपार सम्भावना भए पनि कानुनी जटिलता, पूर्वाधार अभाव तथा पर्याप्त प्रचार–प्रसार नहुँदा धेरै पर्यटकीय गन्तव्य ओझेलमा परेको उल्लेख गर्नुभयो। संघीय ऐनका केही प्रावधान तथा वातावरणीय प्रभाव मूल्याङ्कन लगायतका प्रक्रियाले पर्यटनसँग सम्बन्धित परियोजना र होटल व्यवसाय सञ्चालनमा समस्या उत्पन्न गरिरहेको भन्दै ती विषयमा संघीय सरकारसँग समन्वय गरी समाधान खोज्ने प्रयास भइरहेको जानकारी दिनुभयो।
मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको विकास सरकारको मात्र जिम्मेवारी नभई निजी क्षेत्र, स्थानीय समुदाय र पर्यटन व्यवसायीको सक्रिय सहभागिताबाट मात्र सम्भव हुने बताउनुभयो। पर्यटन व्यवसायीको अवस्था सुदृढ नभएसम्म प्रदेशको अर्थतन्त्र पनि मजबुत हुन नसक्ने उल्लेख गर्दै उहाँले व्यवसायीका समस्या समाधानका लागि प्रदेश सरकार जहिले पनि संवाद, सहकार्य र समन्वयका लागि तयार रहेको स्पष्ट पार्नुभयो।
उहाँले नेपालको पर्यटन उद्योगलाई नयाँ उचाइमा पुर्याउन धार्मिक पर्यटन, ग्रामीण पर्यटन र सांस्कृतिक पर्यटनलाई विशेष प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। विशेषगरी भारत र चीनबाट आउने धार्मिक पर्यटकलाई लक्षित गरी योजनाबद्ध कार्यक्रम सञ्चालन गर्न सके पर्यटन क्षेत्रले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो। त्यसका लागि पर्यटकीय गन्तव्यमा गुणस्तरीय सेवा, सुरक्षित वातावरण, आवश्यक पूर्वाधार र अन्तर्राष्ट्रिय स्तरको आतिथ्य सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ थियो।
मन्त्री श्रेष्ठले प्रदेश सरकारले नयाँ पर्यटकीय गन्तव्यको पहिचान, संरक्षण तथा प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिँदै पर्यटनलाई स्थानीय उत्पादन, संस्कृति, हस्तकला र रोजगारीसँग जोड्ने नीति अघि बढाइएको बताउनुभयो। पर्यटनबाट स्थानीय समुदायले प्रत्यक्ष लाभ पाउने वातावरण सिर्जना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरेले पर्यटन क्षेत्रको समस्या मात्र औंल्याएर नहुने, समाधानमुखी योजनामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। पर्यटनको प्रभावकारी ब्रान्डिङ र मार्केटिङबिना अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकिने बताउँदै उहाँले चालु आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेकामा हालसम्म करिब १३ लाख पर्यटक नेपाल आइसकेको जानकारी दिनुभयो। आगामी दिनमा लाख होइन, करोडौँ पर्यटक भित्र्याउने दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
होटल व्यवसायी महासंघ नेपाल (बागमती)का अध्यक्ष दामोदर नेपालले पर्यटन क्षेत्रमा नीतिगत सुधार आवश्यक रहेको बताउँदै प्राकृतिक सम्पदाको संरक्षण, ग्रामीण गन्तव्यको विकास र प्रभावकारी प्रचार–प्रसारमा जोड दिनुभयो। होटल संघ नेपाल बागमती प्रदेशका अध्यक्ष रामसुन्दर बकेले ग्रामीण पर्यटन र होमस्टे विकासलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै विदेशी पर्यटकको बसाइ अवधि बढाउन नयाँ गन्तव्य र स्थानीय संस्कृति प्रवर्द्धन गर्नुपर्ने धारणा राख्नुभयो।
मध्यपुर थिमी नगरपालिका–३ का वडाध्यक्ष तथा नगरप्रवक्ता कृष्णहरी आचार्यले आन्तरिक पर्यटनले पनि देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउँदै कला, संस्कृति, सम्पदा र प्रकृतिलाई एकीकृत गरेर पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा बागमती प्रदेश पर्यटन कार्यालय काठमाडौंका प्रमुख पदम पोखरेल, भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर बगे, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर सिल्पकारलगायतले बागमती प्रदेशको पर्यटन क्षेत्रका सम्भावना, चुनौती तथा दिगो विकासका उपायबारे धारणा राख्नुभएको थियो।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर