काठमाडौं । महिनौँसम्म खेतबारीमा पसिना बगाएर उत्पादन गरेको गोलभेँडाले लागतसमेत नउठ्ने मूल्य पाएपछि देशभरका किसान आन्दोलित भएका छन् । कृषि उपजको उचित मूल्य, न्यूनतम समर्थन मूल्य निर्धारण, कृषि बीमा कार्यान्वयन तथा बिचौलियाको नियन्त्रणको माग गर्दै विभिन्न जिल्लाबाट आएका किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलमा सडकमै गोलभेँडा पोखेर विरोध प्रदर्शन गरे । आफ्नै फार्मबाट उत्पादन गरेर राजधानी ल्याइएका सयौँ केजी गोलभेँडा सडकमा फाल्दै किसानहरूले आफ्नो पीडा सरकारसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गरेका थिए ।
प्रदर्शनका क्रममा माइतीघर क्षेत्र केही समय गोलभेँडाले राताम्मे बनेको थियो । प्रदर्शनमा सहभागी किसानहरूले ‘न्यूनतम् समर्थन मूल्य तोक’, ‘कृषि बीमा लागू गर’, ‘बिचौलियाको अन्त्य गर’, ‘किसानलाई न्याय देऊ’ लगायतका नारा लगाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए । किसानहरूको भनाइमा बजारमा उपभोक्ताले महँगो मूल्य तिरे पनि त्यसको लाभ किसानसम्म पुग्दैन । उत्पादन गर्ने किसानले न्यून मूल्य पाउने, तर बिचौलियाले अत्यधिक नाफा कमाउने प्रवृत्तिले कृषि क्षेत्र संकटतर्फ धकेलिएको उनीहरूको आरोप छ ।
लागत बढ्यो, मूल्य घट्यो
प्रदर्शनमा सहभागी किसानहरूले पछिल्ला वर्षहरूमा कृषि उत्पादनको लागत निरन्तर बढ्दै गएको बताए । रासायनिक मल, उन्नत बीउ, विषादी, सिँचाइ, इन्धन, ढुवानी तथा श्रम खर्च महँगिँदै गए पनि बजारमा कृषि उपजको मूल्य भने घट्दै गएको एक किसानले हिमालय टाइम्सलाई भन्नुभयो । ‘हामीले महिनौँ दुःख गरेर उत्पादन गरेको गोलभेँडा प्रतिकिलो ८–१० रुपैयाँमा पनि बिक्री हुँदैन । त्यति मूल्यमा बेच्दा टिपाइ खर्चसमेत उठ्दैन । त्यसैले सडकमा फाल्नुको विकल्प रहेन’, उहाँले भन्नुभयो ।
किसानहरूका अनुसार उत्पादन लागत र बजार मूल्यबीच ठूलो असन्तुलन सिर्जना हुँदा कृषि पेसाबाट पलायन हुने अवस्था बढ्दै गएको छ । यदि यही अवस्था कायम रहे भविष्यमा खाद्य उत्पादनमा समेत गम्भीर असर पर्ने उनीहरूको चेतावनी छ । प्रदर्शनकारीहरूले कृषि बजारमा बिचौलियाको प्रभाव अत्यधिक रहेको आरोप पनि लगाए । उनीहरूका अनुसार किसानले उत्पादन गरेको वस्तु सस्तोमा किन्ने र उपभोक्तालाई धेरै मूल्यमा बिक्री गर्ने प्रवृत्तिले किसान र उपभोक्ता दुवै मारमा परेका हुन् । किसानहरूले सरकारबाट प्रभावकारी बजार अनुगमन, पारदर्शी मूल्य निर्धारण प्रणाली तथा किसानबाट प्रत्यक्ष खरिद गर्ने संयन्त्र निर्माण गर्न माग गरेका छन् । उनीहरूको भनाइमा सरकारी संयन्त्र कमजोर हुँदा बिचौलियाले बजार नियन्त्रण गरिरहेका छन् ।
न्यूनतम् समर्थन मूल्यको माग
किसानहरूले कृषि उपजको न्यूनतम् समर्थन मूल्य तत्काल निर्धारण गर्न माग गरेका छन् । उनीहरूका अनुसार सरकारले धान, गहुँजस्ता सीमित बालीमा मात्र समर्थन मूल्य तोक्ने गरेको भए पनि तरकारी तथा अन्य कृषि उपजका लागि स्पष्ट नीति नहुँदा किसानले बजारको अस्थिर मूल्यको मार खेप्नुपरेको छ । उचित मूल्य सुनिश्चित गर्न नसकेसम्म उत्पादन बढाउने सरकारी नीति व्यवहारमा सफल हुन नसक्ने उनीहरूको तर्क छ ।
प्रदर्शनमा सहभागी किसानहरूले कृषि बीमा प्रभावकारी रूपमा कार्यान्वयन नभएको गुनासो पनि गरेका छन् । प्राकृतिक विपद्, रोग–कीरा वा बजार मूल्यमा आएको गिरावटका कारण किसानले ठूलो क्षति बेहोरे पनि बीमाबाट अपेक्षित राहत नपाएको उनीहरूको भनाइ छ । उनीहरूले कृषि बीमालाई सहज, पारदर्शी र किसानमैत्री बनाउन सरकारसँग माग गरेका थिए ।
प्रदर्शनका क्रममा किसानहरूले कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीविरुद्ध पनि नाराबाजी गरेका थिए । मन्त्रालय किसानका समस्याप्रति संवेदनशील हुन नसकेको आरोप लगाउँदै उनीहरूले कृषि क्षेत्रका वास्तविक समस्या समाधान गर्न तत्काल पहल गर्न आग्रह गरे । प्रदर्शनमा सहभागी किसानहरूले सरकारसँग पटक-पटक माग राख्दा पनि सुनुवाइ नभएकाले बाध्य भएर सडक आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।
किसानहरूले आफ्ना माग तत्काल सम्बोधन नभए आन्दोलनलाई देशव्यापी बनाउने चेतावनी दिएका छन् । कृषि पेसाको संरक्षण, उत्पादनको सुनिश्चित बजार, वैज्ञानिक मूल्य निर्धारण प्रणाली तथा किसानमैत्री नीति लागू नभएसम्म संघर्ष जारी रहने उनीहरूको अडान छ । उनीहरूका अनुसार कृषि उत्पादनलाई सम्मानजनक आम्दानीसँग जोड्न नसकिए देशमा कृषिप्रति युवाको आकर्षण घट्दै जानेछ र कृषि भूमिहरू बाँझिने जोखिम अझ बढ्नेछ ।
माइतीघरमा गोलभेँडा पोखिएको दृश्य केवल एउटा विरोध प्रदर्शन मात्र होइन, नेपालको कृषि क्षेत्रले भोगिरहेको संरचनागत समस्याको प्रतीक बनेको छ । उत्पादन गर्ने किसान घाटामा पर्ने र उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने अवस्था कायम रहनु बजार व्यवस्थापनको असफलताको संकेत हो । यसअघि पनि गोलभेँडाको उचित मूल्य नपाएको भन्दै किसानले कालीमाटी तरकारी बजारभित्रै गोलभेँडा फालेर विरोध जनाएका थिए ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर