चितवन । चितवनमा पछिल्लो एक वर्षमा २७४ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार १० हजार ५२३ जनाको परीक्षण गर्दा २७४ जनामा संक्रमण देखिएको हो।
जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार संक्रमितमध्ये २१६ जना चितवनका र ५८ जना अन्य जिल्लाका हुन्। स्थानीय तहअनुसार सबैभन्दा बढी रत्ननगर नगरपालिकामा ८७ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै भरतपुर महानगरपालिकामा ५६ जना, खैरहनी नगरपालिकामा ३५ जना, राप्ती नगरपालिकामा २१ जना, कालिका नगरपालिकामा ११ जना तथा माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा तीन/तीन जनामा डेङ्गु संक्रमण देखिएको छ।
गत आर्थिक वर्षमा भने चितवनमा १७ हजार ३५३ जनाको परीक्षण गर्दा तीन हजार ८८९ जनामा डेङ्गु संक्रमण पुष्टि भएको थियो। सो अवधिमा डेङ्गुका कारण एक जनाको मृत्यु समेत भएको थियो।
स्वास्थ्य कार्यालयका अनुसार वर्षायाममा पानी जम्ने वातावरणका कारण एडिस जातको पोथी लामखुट्टे बढ्ने भएकाले विशेषगरी भदौ र असोज महिनामा डेङ्गुको जोखिम उच्च रहने गर्छ। यो लामखुट्टेले प्रायः बिहान र साँझको समयमा टोक्ने गर्छ।
डेङ्गुबाट बच्न घर तथा वरपर पानी जम्न नदिने, पुराना टायर, ड्रम, गमला, कुलर र अन्य भाँडाकुँडामा पानी नराख्ने तथा लामखुट्टेको टोकाइबाट जोगिने उपाय अपनाउन जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ।
डेङ्गु संक्रमण हुँदा उच्च ज्वरो, टाउको तथा आँखाको गेडी दुख्ने, शरीर र जोर्नी दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा बिबिरा आउने, पेट दुख्ने तथा नाक वा गिजाबाट रगत बग्ने जस्ता लक्षण देखिन सक्ने भएकाले यस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउन चिकित्सकहरूले सुझाव दिएका छन्।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर