काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टी नेतृत्वबीच समसामयिक राजनीतिक घटनाक्रम, संविधान संशोधन तथा जनजीविकासँग सम्बन्धित विषयमा छलफल भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा राप्रपाका अध्यक्ष लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ तथा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुश्बु ओली सहभागी हुनुहुन्थ्यो।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपाले प्रधानमन्त्रीसमक्ष आफ्नो राजनीतिक धारणा स्पष्ट रूपमा राखेको बताउनुभयो। उहाँले सरकारले संविधानको आधारभूत संरचनाअन्तर्गत रहेका गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षतामा परिवर्तन गर्ने दिशामा अघि बढेमा राप्रपाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “यदि सरकारले गणतन्त्र, सङ्घीयता र संविधानको वर्तमान व्यवस्थामा परिवर्तन गर्ने गरी अघि बढ्छ भने राप्रपाको सहयोग रहने कुरा हामीले प्रधानमन्त्रीज्यूलाई स्पष्ट रूपमा बताएका छौँ।”
करिब एक घण्टा चलेको भेटमा समसामयिक राजनीतिक घटनाक्रमसँगै संविधान संशोधनका विषयमा विस्तृत छलफल भएको प्रतिनिधिसभा सदस्य खुश्बु ओलीले जानकारी दिनुभयो।
उहाँका अनुसार छलफलका क्रममा किसानले मल नपाएको समस्या, सुकुमबासी व्यवस्थापन, स्वास्थ्य बीमाको कार्यान्वयन तथा नागरिकले भोगिरहेका विभिन्न समस्याका विषयमा प्रधानमन्त्रीसमक्ष जिज्ञासा राखिएको थियो।
सांसद ओलीका अनुसार प्रधानमन्त्री शाहले सबै विषयमा आवश्यक प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै मल आयात भइरहेको, स्वास्थ्य बीमाअन्तर्गत विगतको भुक्तानी समस्या समाधान गर्दै कार्यक्रमलाई प्रभावकारी रूपमा पुनः सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभएको थियो। केही निजी अस्पतालको अनियमितताका कारण समस्या उत्पन्न भएकाले त्यसलाई सुधारेर सेवा सञ्चालन गरिने जानकारी पनि प्रधानमन्त्रीले दिनुभएको उहाँले बताउनुभयो।
सुकुमबासी व्यवस्थापनका विषयमा पनि प्रधानमन्त्रीले अधिकांश होल्डिङ सेन्टरमा समस्या नरहेको, कीर्तिपुरस्थित केन्द्रमा केही चुनौती देखिएको र समग्र सुकुमबासीको माग सम्बोधन हुने गरी सरकारले काम गरिरहेको जानकारी दिनुभएको सांसद ओलीले बताउनुभयो।
संविधान संशोधनका विषयमा पनि प्रधानमन्त्री शाहले सबै पक्षका गुनासा र चासोलाई सम्बोधन हुने गरी आवश्यक प्रक्रिया अघि बढाइने विश्वास दिलाउनुभएको सांसद ओलीको भनाइ छ।





समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर