काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन-२०२६ आगामी साउन २४ देखि २७ गतेसम्म काठमाडौंमा आयोजना हुनेभएको छ । सम्मेलनमा फोनिजमा आबद्ध तामाङ पत्रकार संघ, किरात राई पत्रकार संघ, तमु (गुरुङ) सञ्चारकर्मी संघ, थारू पत्रकार संघ नेपाल, मगर पत्रकार संघ, लिम्बु पत्रकार संघ र शेर्पा सञ्चार समूह सह-आयोजकका रूपमा सहभागी रहनेछन् ।
संयुक्त राष्ट्रसंघले सन् २०२२-२०३२ लाई ‘आदिवासी भाषाको अन्तर्राष्ट्रिय दशक’ घोषणा गरी विश्वभर आदिवासी भाषाको संरक्षण, प्रवर्द्धन र पुनर्जीवनका लागि अभियान सञ्चालन गरिरहेको सन्दर्भमा विश्व आदिवासी दिवस तथा फोनिजको २७औं स्थापना दिवस को अवसर पारेर सम्मेलन आयोजना गर्न लागिएको फोनिजले जनाएको छ ।
आयोजकका अनुसार नेपाल बहुभाषिक, बहुसांस्कृतिक तथा बहुजातीय मुलुक भए पनि धेरै मातृभाषा लोपोन्मुख अवस्थामा पुगेका छन् । सूचना तथा सञ्चारको मूलधारमा मातृभाषाको प्रयोग सीमित बन्दै गएको र आदिवासी समुदायका आवाज पर्याप्त रूपमा प्रतिनिधित्व हुन नसकेको अवस्थामा मातृभाषा पत्रकारिताको संरक्षण, सुदृढीकरण र व्यावसायिक विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा साझा बहस आवश्यक रहेको निष्कर्षसहित सम्मेलन आयोजना गर्न लागिएको हो ।
सम्मेलनमा विश्वभरको आदिवासी मातृभाषा पत्रकारिताको वर्तमान अवस्था, अवसर र चुनौती, पत्रकारहरूको पेशागत, व्यावसायिक तथा भौतिक सुरक्षा, डिजिटल युगमा मातृभाषा सञ्चारको भविष्य, सञ्चार नीतिमा समावेशिता र भाषिक अधिकारका विषयमा गहन छलफल हुनेछ । साथै आदिवासी समुदायको जल, जमिन, जंगल, जैविक विविधता, जडीबुटी तथा प्राकृतिक स्रोतसँगको सम्बन्ध, जलवायु परिवर्तनको प्रभाव र जलवायु न्यायमा सञ्चारमाध्यमको भूमिकाबारे पनि विभिन्न विषयगत सत्र सञ्चालन गरिनेछन् ।
सम्मेलनको उद्घाटन सत्र साउन २४ र २५ गते हुनेछ भने साउन २६ गतेदेखि २७ गते बिहानसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले आठवटा विषयगत कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । कार्यपत्र प्रस्तुतिपछि प्यानल छलफल, अन्तर्क्रिया र खुला विमर्शमार्फत मातृभाषा पत्रकारिताको वर्तमान अवस्था, सुधारका सम्भावना, प्रविधिसँगको अनुकूलन, नीतिगत व्यवस्थापन तथा व्यावसायिक सुदृढीकरणका विषयमा साझा निष्कर्ष निकालिने आयोजकले जनाएको छ ।
फोनिजका महासचिव समीर बलामीका अनुसार सम्मेलनले नेपालसहित विश्वभरका आदिवासी मातृभाषी पत्रकारबीच अनुभव आदानप्रदान, अन्तर्राष्ट्रिय सहकार्य, ज्ञान साझेदारी तथा साझा अभियान निर्माण गर्ने अवसर प्रदान गर्नेछ । यसबाट मातृभाषा पत्रकारिताको दिगो विकास, पत्रकारहरूको क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय सञ्जाल विस्तारमा समेत महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
सम्मेलनमा २७ देशका करिब ६० अन्तर्राष्ट्रिय मातृभाषी पत्रकार, फोनिजका देशभरका शाखाबाट करिब ३०० प्रतिनिधि, नेवाः पत्रकार राष्ट्रिय दबुबाट ४० प्रतिनिधि तथा विभिन्न जातीय पत्रकार संगठनबाट करिब १०० प्रतिनिधिसहित कुल करिब ५०० मातृभाषी पत्रकार तथा सञ्चारकर्मी सहभागी हुनेछन् । साथै विभिन्न देशका आदिवासी पत्रकार संगठनका प्रतिनिधि, सञ्चार विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद् तथा मानवअधिकारकर्मीहरूको पनि सहभागिता रहनेछ ।
सम्मेलन अवधिमा साउन २७ गते फोनिजको २७औं स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाइनेछ । सो अवसरमा मातृभाषा पत्रकारितामा उल्लेखनीय योगदान पुर्याउने पत्रकार तथा सञ्चारकर्मीलाई फोनिज अवार्ड प्रदान गरिने कार्यक्रम पनि रहेको छ ।
फोनिजका अध्यक्ष लक्की चौधरीका अनुसार सम्मेलनको समापनमा ‘काठमाडौं घोषणापत्र’ जारी गरिनेछ । घोषणापत्रमा मातृभाषा पत्रकारिताको संरक्षण, प्रवर्द्धन र संस्थागत विकास, भाषिक अधिकारको सुनिश्चितता, आदिवासी सञ्चारमाध्यमको सुदृढीकरण तथा पत्रकारहरूको पेशागत सुरक्षासम्बन्धी साझा प्रतिबद्धता समेटिनेछ । साथै आदिवासी जनजातिका अधिकार, समसामयिक सवाल, मातृभाषा पत्रकारिताको अभ्यास, उपलब्धि, चुनौती र भावी कार्यदिशा समेटिएको फोनिज प्रतिवेदन पनि सार्वजनिक गरिनेछ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर