काठमाडौं । नेपाल भलिबल लिग (एनभिएल) को फ्रेन्चाइज टोली अन्नपूर्ण स्पाइकर किङ्सले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी मुख्य सदस्य एवं चर्चित खेलाडी उषा भण्डारीलाई आफ्नो ब्राण्ड एम्बासडर नियुक्त गरेको छ । सुमिरा स्पोर्ट्स भेन्वरको स्वामित्वमा रहेको अन्नपूर्ण स्पाइकर किंग्स र स्टार आउटसाइड हिटर उषा भण्डारीबीच तीन वर्षका लागि सम्झौता भएको हो ।
सम्झौताअनुसार भण्डारीले टोलीको प्रचार-प्रसार तथा प्रवर्द्धनात्मक गतिविधिमा सहभागी हुनुका साथै अन्नपूर्ण स्पाइकर किङ्ससँग मिलेर नेपाली भलिबलको ग्रासरुट विकासमा पनि भूमिका निर्वाह गर्नुहुनेछ । टोलीका सह-मालिक सुबोध त्रिपाठीले भण्डारीसँगको सहकार्यले पुरुष भलिबलको फ्रेन्चाइज लिगलाई थप लोकप्रिय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । दर्शकलाई कभर्डहलसम्म आकर्षित गर्न र ग्रासरुटबाट भलिबलको विकासमा टेवा पुर्याउने उद्देश्यले उहाँलाई ब्राण्ड एम्बासडर बनाइएको उहाँले बताउनुभयो । ‘भलिबल हाम्रो राष्ट्रिय खेल हो । त्यसैले यसको विकासमा हामीले पनि योगदान दिनुपर्छ भन्ने हाम्रो उद्देश्य हो । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने टोली भएकाले पनि यो सहकार्य अझ विशेष बनेको छ’, त्रिपाठीले भन्नुभयो ।
भण्डारीले पहिलो पटक भलिबलकै फ्रेन्चाइज टोलीको ब्राण्ड एम्बासडर बन्न पाउँदा खुसी लागेको बताउनुभयो । ‘यसअघि म फुटबल र क्रिकेटसँग सम्बन्धित गतिविधिमा जोडिएकी थिएँ । भलिबलकै लिगमा भलिबल खेलाडी ब्राण्ड एम्बासडर बन्न पाउँदा निकै खुसी छु । म गण्डकी प्रदेशमै जन्मिएकी हुँ र अन्नपूर्ण स्पाइकर किङ्सबाट सुरुमै प्रस्ताव आएकाले सहकार्य गर्न सहज भयो’, उहाँले भन्नुभयो ।
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर किङ्स र तनहुँमा जन्मिएकी भण्डारीबीचको सहकार्यलाई क्लबले विशेष र अर्थपूर्ण मानेको छ । भलिबलप्रेमीको बलियो आधार रहेको गण्डकी क्षेत्रमा यसले क्लबको ब्राण्ड विस्तारसँगै नयाँ खेलाडी उत्पादन र ग्रासरुट विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । घरेलु भलिबलमा नेपाल पुलिस क्लबबाट खेल्दै आएकी भण्डारीले माल्दिभ्सका विभिन्न क्लबबाट पनि व्यावसायिक भलिबल खेलिसक्नुभएको छ । सन् २०१९ मा १४ वर्षको उमेरमै १३औँ दक्षिण एसियाली खेलकुद (साग) बाट राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएकी उहाँले त्यसयता राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएको छ ।
केडिया ग्रुपको आयोजनामा पहिलो पटक सञ्चालन हुन लागेको नेपाल भलिबल लिगमा ६ टोलीको सहभागिता रहनेछ । अन्नपूर्ण स्पाइकर किङ्सले भण्डारीसँगको सहकार्यले नेपाली भलिबलको समग्र विकास र नयाँ प्रतिभा उत्पादनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर