काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पुरुष टी-२० विश्वकप र एकदिवसीय विश्वकपको प्रतियोगिता ढाँचा परिवर्तन गर्दै थप प्रतिस्पर्धात्मक बनाउने निर्णय गरेको छ । स्कटल्याण्डको एडिनबर्गमा सम्पन्न आइसिसी बोर्ड बैठकले सन् २०२८ देखि लागू हुने नयाँ संरचना अनुमोदन गरेको हो ।
नयाँ व्यवस्थाअनुसार सन् २०२८ को पुरुष टी-२० विश्वकपमा हालको ‘सुपर एट’ चरण हटाएर ‘सुपर १०’ लागू गरिनेछ । प्रतियोगिताको सुरुवाती चरणमा २० टोलीलाई चार-चार टोलीका पाँच समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणमा १० टोलीलाई पाँच-पाँच टोलीका दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहका विजेता टोली सिधै सेमिफाइनलमा पुग्नेछन् भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच ‘क्रसओभर इलिमिनेटर’ खेल हुनेछ । एउटा समूहको दोस्रो टोलीले अर्को समूहको तेस्रो टोलीसँग प्रतिस्पर्धा गर्नेछ र विजेता टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।
नयाँ ढाँचाअनुसार समूह चरणका खेल ४० बाट घटेर ३० हुनेछन् भने दोस्रो चरणका खेल १२ बाट बढेर २० पुग्नेछन् । यसबाहेक दुई इलिमिनेटर खेल थपिनेछन् । आइसिसीका अनुसार प्रतियोगिताको अन्तिम चरणसम्म प्रत्येक खेललाई अर्थपूर्ण र रोमाञ्चक बनाउन इलिमिनेटर प्रणाली समावेश गरिएको हो ।
आइसिसीले सन् २०२८ को टी-२० विश्वकपका लागि नयाँ छनोट प्रणाली पनि स्वीकृत गरेको छ । सन् २०२६ को विश्वकप खेलेका तर स्वतः छनोट हुन नसकेका आठ टोली क्षेत्रीय छनोट नखेली सिधै ग्लोबल क्वालिफायरमा पुग्नेछन् । नेपाल पनि यस व्यवस्थाअनुसार सिधै ग्लोबल क्वालिफायरमा पुगेको छ ।
आइसिसी बोर्डले सहयोगी सदस्य राष्ट्रका लागि १६ टोली सहभागी हुने नयाँ विश्वस्तरीय प्रतियोगिताको अवधारणालाई पनि समर्थन गरेको छ । टी-२० विश्वकपअघि आयोजना गर्ने प्रस्ताव गरिएको उक्त प्रतियोगिताले सहयोगी राष्ट्रलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र विश्वकप तयारीको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । यद्यपि, प्रतियोगिताको अन्तिम स्वीकृति भने आगामी नोभेम्बरमा बस्ने आइसिसीको वित्त तथा व्यावसायिक मामिला समितिको समीक्षापछि बोर्डले दिनेछ ।
आइसिसीले १४ टोली सहभागी हुने पुरुष एकदिवसीय विश्वकपको ढाँचामा पनि परिवर्तन गरेको छ । अब समूह चरणअघि ‘सुपर सिरिज’ नामक नयाँ चरण समावेश गरिनेछ । यसले सुरुवाती चरणका खेललाई अझ महत्त्वपूर्ण बनाउने र प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउने आइसिसीको विश्वास छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर