एटलान्टा । साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा पुगेको छ । अमेरिकाको एटलान्टा रंगशालामा बिहीबार बिहान दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डविरुद्ध रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना लगातार दोस्रोपटक फाइनलमा पुगेको हो । अर्जेन्टिनाले इंग्ल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको ८४औँ मिनेटसम्म १-० ले पछि परेको स्थितिमा खेलको अन्तिम पाँच मिनेट र थप गरिएको समयमा दुई गोल गर्दै अर्जेन्टिनाले इंग्ल्याण्डको विश्वकप यात्रा समाप्त पारिदियो । यो जितसँगै अर्जेन्टिनाले सन् १९८६ र १९९८ को विश्वकप इतिहासलाई पुनः दोहोर्याउँदै इंग्ल्याण्डको विश्वकप जित्ने सपनामा पानी खन्याइदियो । अब अर्जेन्टिनाले सोमबार बिहान (नेपाली समयअनुसार) १२ः४५ बजे न्युजर्सीको इस्ट रदरफोर्डमा हुने फाइनल खेलमा युरोपेली च्याम्पियन स्पेनको सामना गर्नेछ ।
खेलको सुरुवाती चरणदेखि नै दुवै टोलीले आक्रामक खेल खेले पनि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५५औँ मिनेटमा मोर्गन रोजर्सको उत्कृष्ट क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्याण्डलाई खेलमा सुरुवाती अग्रता दिलाउनुभयो । खेलको ८४औँ मिनेटसम्म इंग्ल्याण्डले उक्त अग्रता जोगाइराखेको थियो भने अर्जेन्टिनाका तर्फबाट भएका निरन्तरका प्रहारहरूलाई इंग्लिस गोलरक्षक जर्डन पिकफोर्डले विफल पारिदिनुभएको थियो । अर्जेन्टिनाका मिडफिल्डर अलेक्सिस म्याक एलिस्टरको एक उत्कृष्ट हेडर पोस्टमा लागेर फर्किएको थियो ।
खेलभरि इंग्लिस डिफेन्डरहरूको कडा मार्कमा रहेका अर्जेन्टिनी कप्तान लियोनल मेसी खेलको अन्तिम समयमा भने निर्णायक बन्नुभयो । ८५औँ मिनेटमा मेसीको पासलाई सदुपयोग गर्दै एन्जो फर्नान्डेजले डिबक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै खेललाई १-१ को बराबरीमा ल्याउनुभयो । खेल अतिरिक्त समयतर्फ धकेलिने निश्चित देखिइरहेका बेला, इन्जुरी समयको दोस्रो मिनेटमा मेसीको सटिक क्रसलाई वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका लाउटारो मार्टिनेजले हेडरमार्फत्् गोलमा परिणत गर्दै अर्जेन्टिनालाई २-१ को ऐतिहासिक जित दिलाउनुभयो । खेलको अन्तिम सिठ्ठी बजेलगत्तै कप्तान मेसी मैदानमै घुँडा टेकेर खुसीयालीमा झुम्नुभएको थियो भने इंग्ल्याण्डका खेलाडीहरू मैदानमै ढलेर स्तब्ध बनेका थिए ।
इंग्ल्याण्डको रक्षात्मक रणनीति र प्रशिक्षक ट्युचेलको चर्को आलोचना
खेलमा १-० को अग्रता लिएपछि इंग्ल्याण्डका प्रशिक्षक थोमस ट्युचेलले अपनाएको अत्यधिक रक्षात्मक रणनीतिको अहिले तीव्र आलोचना भइरहेको छ । अग्रता बलियो बनाउन अर्को गोलका लागि प्रयास गर्नुको सट्टा ट्युचेलले फरवार्डहरू एज्री कोन्सा, ड्यान बर्न र निको ओरेली जस्ता डिफेन्डरहरूलाई मैदान पठाउनुभएको थियो, जसका कारण इंग्ल्याण्डले खेलमा दबाब आमन्त्रण गर्यो । इंग्ल्याण्डले गोल गरेदेखि दोस्रो गोल नखाँदासम्म खेलमा मात्र १२ प्रतिशत बल पोजेसन राख्न सकेको थियो । प्रशिक्षक ट्युचेलले निकै ढिलो गरी खेलका अन्तिम मिनेटहरूमा मात्र स्ट्राइकर मार्कस रासफोर्ड र इभान टोनीलाई मैदान प्रवेश गराउनुभएको थियो ।
पूर्वइंग्लिस कप्तान वेन रुनीले टोली पूर्ण रूपमा भत्किएको टिप्पणी गर्नुभयो । रुनीले यस पराजयको प्रमुख जिम्मेवार प्रशिक्षक ट्युचेल र उहाँको निष्क्रिय रणनीति भएको आरोप लगाउनुभयो । पराजयपछि प्रशिक्षक ट्युचेलले अर्जेन्टिनाले कुनै गुमाउने डर नभएझैँ पूर्ण स्वतन्त्रता र तीव्र लयका साथ जोखिम मोलेर खेलेको तर आफ्नो टोली भने धेरै कुरा गुमाउने डरका कारण दबाबमा आएको स्वीकार गर्नुभयो । इंग्ल्याण्डका डिफेन्डर ड्यान बर्नले टोली अत्यधिक निष्क्रिय बन्दा विपक्षीलाई क्रस र अवसरहरू सिर्जना गर्ने मौका मिलेको र यो हारले आफूलाई लामो समयसम्म पिरोल्ने बताउनुभयो ।
कप्तान ह्यारी केनको निराशा
यो पराजयसँगै इंग्ल्याण्डले पछिल्ला तीनवटा विश्वकपमध्ये दुईपटक सेमिफाइनलमा पराजय भोग्नुपरेको छ भने सन् २०२१ र २०२४ को युरोपेली च्याम्पियनसिपको फाइनलमा पुगेर पनि उपाधिविमुख हुनुपरेको छ । सन् २०१८ को विश्वकप सेमिफाइनलमा क्रोएसियाविरुद्ध र सन् २०२१ को युरो फाइनलमा इटालीविरुद्ध पनि इंग्ल्याण्डले सुरुवाती १–० को अग्रता गुमाउँदै हार बेहोरेको थियो । इंग्ल्याण्डका कप्तान ह्यारी केनले हारप्रति गहिरो दुःख व्यक्त गर्दै टोलीले पसिना बगाएर यहाँसम्म आइपुगे पनि अन्तिम १० मिनेटमा खेल हातबाट उम्किनु अत्यन्तै पीडादायी भएको बताउनुभयो । उहाँले पछिल्ला चार-पाँचवटा ठूला प्रतियोगितामा अग्रता जोगाउन नसक्नु नै इंग्ल्याण्डको सबैभन्दा ठूलो कमजोरी रहेको औँल्याउनुभयो ।
प्रतियोगितामा ६ गोल गरिसक्नुभएका ३३ वर्षीय केनले सन् २०३० को विश्वकप खेल्ने वा नखेल्नेबारे अहिल्यै भन्न नसकिने तर ३९ वर्षको उमेरमा पनि मेसीले उच्चस्तरको प्रदर्शन गरिरहेको देख्दा आफूलाई पनि ऊर्जा मिल्ने बताउनुभयो । मिडफिल्डर जुड बेलिङघमले पनि फ्यानहरूलाई वर्षौँदेखि एउटै दुःखद कथा सुनाउनुपर्दा आफू लज्जित र दुःखी भएको टिप्पणी गर्नुभयो । इंग्ल्याण्डले अब शनिबार तेस्रो स्थानका लागि फ्रान्सको सामना गर्नेछ ।
मेसीको कीर्तिमानी यात्रा, गोल्डेन बुटमा अग्रता
आफ्नो खेल जीवनको सम्भवतः अन्तिम विश्वकप खेलिरहेका ३९ वर्षीय लियोनल मेसीले यसै खेलमार्फत् धेरै ऐतिहासिक कीर्तिमानहरू आफ्नो नाममा लेखाइसक्नुभएको छ । सेमिफाइनलमा दुईवटा असिस्ट प्रदान गरेसँगै मेसी यस विश्वकपको ‘गोल्डेन बुट’ को दौडमा फ्रान्सका किलियन एमबाप्पेभन्दा अगाडि निस्किनुभएको छ । हालसम्म खेलिएका सात खेलमा मेसी र एमबाप्पे दुवैको समान आठ-आठ गोल भए पनि फिफाको नियमअनुसार बढी असिस्ट (मेसीको चार र एमबाप्पेको तीन) गरेका आधारमा मेसी शीर्ष स्थानमा उक्लिनुभएको हो ।
यसका साथै मेसीले विश्वकपको इतिहासमै सर्वाधिक ३३ खेल खेल्ने, सर्वकालीन सर्वाधिक २१ गोल गर्ने र सर्वाधिक ११ असिस्ट गर्ने दुर्लभ कीर्तिमान पनि बनाउनुभएको छ । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले टोलीमा रहेको भ्रातृत्व र अन्तिम समयसम्म लड्ने भावनाका कारण यो जित सम्भव भएको बताउनुभयो । स्कालोनीले आफ्ना खेलाडीहरू अद्वितीय रहेको र उनीहरूले मैदानमा देखाएको मुटुको भावनालाई अरूले बुझ्न कठिन हुने स्पष्ट पार्नुभयो । यदि अर्जेन्टिनाले फाइनल जितेमा मेसीले आफ्नो खेल जीवनमा पहिलो पटक विश्वकपको गोल्डेन बुट जित्नुहुनेछ भने प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै तेस्रो पटक ‘गोल्डेन बल’ जित्ने इतिहाससमेत रच्नुहुनेछ ।
फाइनलमा उत्कृष्ट आक्रमण र उत्कृष्ट रक्षापंक्तिको लडाइँ
बुधबार फ्रान्सलाई पराजित गरेको स्पेन र बिहीबार इंग्ल्याण्डलाई हराएको अर्जेन्टिनाबीच आगामी सोमबार न्युयोर्क न्युजर्सी रंगशालामा फिफा विश्वकपको फाइनल खेल हुनेछ । यो भिडन्त केवल दुई टोलीको मात्र नभई दुई फरक खेल शैलीको लडाइँ हुनेछ । प्रतियोगितामा हालसम्म सबैभन्दा बढी १९ गोल गरेको अर्जेन्टिनाको उत्कृष्ट आक्रमण र हालसम्म मात्र एक गोल खाएको स्पेनको अभेद्य रक्षापंक्तिबीचको यो टक्कर निकै रोचक हुने अनुमान गरिएको छ । अर्जेन्टिना सन् १९५८ र १९६२ मा ब्राजिलले लगातार दुई पटक विश्वकप जितेयता पहिलो पटक लगातार दोस्रो पटक उपाधि जितेर इतिहास रच्ने दाउमा छ भने स्पेन सन् २०१० पछि आफ्नो दोस्रो उपाधिको खोजीमा छ ।
तथ्यांकअनुसार स्पेन हालसम्मका सबै प्रतियोगिता र मैत्रीपूर्ण खेलहरू गरी लगातार ३७ खेलमा अपराजित रहँदै फाइनल प्रवेश गरेको छ, जहाँ उसले २८ जित र नौ बराबरी खेलेको छ । अर्कोतर्फ, अर्जेन्टिना पनि सन् २०२२ को विश्वकपको पहिलो खेलमा साउदी अरबियासँग पराजित भएयता विश्वकपका पछिल्ला १३ खेलमा अपराजित (११ जित र दुई बराबरी) रहेको छ । फिफाको विश्व वरीयतामा पनि अर्जेन्टिना पहिलो र स्पेन दोस्रो स्थानमा रहेकाले यो भिडन्त विश्वकै दुई उत्कृष्ट टोलीबीचको महाकुम्भ हुने निश्चित छ ।
मेसी-यामालको ऐतिहासिक संयोग
यसअघि गत मार्च महिनामा कतारको दोहास्थित लुसेल रङ्गशालामा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनबीच ‘फिनालिसिमा’ खेल हुने तय भएको थियो । तर, मध्यपूर्वमा बढ्दै गएको भूराजनीतिक तनाव र अमेरिका तथा इजरायलको हवाई आक्रमणको जवाफमा इरानले छिमेकी देशहरूमाथि मिसाइल प्रहार तीव्र पारेपछि सुरक्षाको कारण देखाउँदै उक्त खेल रद्द गरिएको थियो । दोहामा हुन नसकेको सोही बहुप्रतीक्षित भिडन्त अब विश्वकपको सबैभन्दा ठूलो मञ्चमा हुन लागेको हो ।
यो फाइनल खेल फुटबलको वर्तमान (लियोनल मेसी) र फुटबलको भविष्य (लामिने यामाल) बीचको रोचक टक्कर पनि हुनेछ । सन् २००७ मा युनिसेफको एक परोपकारी कार्यक्रमका क्रममा मेसीले एउटा सानो बच्चालाई नुहाइदिँदै गरेको तस्वीर सार्वजनिक भएको थियो र सोही तस्वीरको बच्चा नै वर्तमान फुटबलका उदीयमान तारा लामिने यामाल हुन् । मेसीजस्तै यामाल पनि बार्सिलोना क्लबबाटै उदाएका उत्कृष्ट बायाँ खुट्टे खेलाडी हुनुहुन्छ । दुई दशकअघि एउटै तस्वीरमा समेटिएका यी दुई खेलाडीहरू अहिले विश्वकपको फाइनलमा एकअर्काविरुद्ध मैदान उत्रिनुलाई फुटबल इतिहासकै सबैभन्दा रोमाञ्चक र अद्भूत संयोग मानिएको छ ।
एजेन्सी







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर