काठमाडौं । एकदेव लिम्बुको स्वरमा रहेको चर्चित गीत ‘झिमझिमाउने आँखा’ चिनियाँ भाषामा पनि सार्वजनिक हुनेभएको छ । यसअघि नेपाली र हिन्दी संस्करणमा उपलब्ध गीतलाई चिनियाँ अभिनेत्री तथा गायिका झाओ लुसीले आधिकारिक रूपमा चिनियाँ भाषामा रूपान्तरण गर्नुभएको हो । लिम्बुले सामाजिक सञ्जालमार्फत गीत अब तीन भाषामा उपलब्ध भएको जानकारी दिँदै आफ्नो सपना पूरा भएको प्रतिक्रिया व्यक्त गर्नुभएको छ । उहाँले यस अवसरमा गीतलाई माया गर्ने सबै श्रोता तथा समर्थकप्रति आभार व्यक्त गर्नुभएको छ ।
झाओ लुसीले हालै मकाउमा आयोजित आफ्नो चर्चित ‘स्टे रोमान्टिक’ कन्सर्टको दोस्रो दिन चिनियाँ भाषामा ‘झिमझिमाउने आँखा’ लाइभ प्रस्तुत गर्नुभएको थियो । हजारौं दर्शकमाझ प्रस्तुत गरिएको उक्त प्रदर्शनले चिनियाँ तथा नेपाली संगीतप्रेमीबाट सकारात्मक प्रतिक्रिया पाएको बताइएको छ । चिनियाँ संस्करणका गीतका शब्द स्याओ स्याओले तयार पार्नुभएको हो । लुसीले गीतलाई चिनियाँ-तिब्बती लोक संगीत शैलीको फ्युजनमा प्रस्तुत गर्नुभएको छ ।
‘झिमझिमाउने आँखा’ सार्वजनिक भएलगत्तै अन्तर्राष्ट्रिय रूपमा चर्चामा आएको थियो । युट्युबले ग्लोबल ट्रेन्डिङ प्रणाली हटाउनुअघि गीत ग्लोबल ट्रेन्डिङ सूचीमा परेको थियो भने स्पोटिफाइमा भारतसहित केही देशको ‘टप ५० भाइरल गीत’ सूचीमा समेत स्थान बनाउन सफल भएको थियो । यसअघि भारतीय गायिका नेहा कक्करले पनि एकदेव लिम्बुसँगको सहकार्यमा यस गीतको हिन्दी संस्करण सार्वजनिक गरिसक्नुभएको छ ।
‘मैले यो गीत कुनै चर्चा वा व्यावसायिक सफलताका लागि नभई आफ्ना वास्तविक भावना अभिव्यक्त गर्न लेखेको थिए । आज एउटा नेपाली गीत विश्वकै ठूलो मञ्चमा अन्तर्राष्ट्रिय दर्शकमाझ एक ग्लोबल स्टारले प्रस्तुत गरिरहनुभएको छ । यो मेरो मात्र होइन, सिंगो देश र नेपाली संगीतकै ठूलो उपलब्धि हो’, गीतको अन्तर्राष्ट्रिय यात्राप्रति खुशी व्यक्त गर्दै लिम्बुले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर