काठमाडौं । युएनएफपिए र पानासोनिक होल्डिङ्स कर्पोरेसनबीच नेपालको जाजरकोट (कर्णाली प्रदेश) र रौतहट (मधेस प्रदेश) जिल्लाका स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयंसेविकालाई एक सय ९८ थान पानासोनिक सोलार लालटिन प्रदान गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । उक्त साझेदारीले जलवायुजन्य विपद्को बढ्दो जोखिममा रहेका समुदायमा आपत्कालीन समयमा पनि जीवनरक्षक स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्नेछ ।
संस्थाका अनुसार काठमाडौं र टोकियोका प्रतिनिधिहरूलाई जोड्दै उक्त हस्ताक्षर समारोह अनलाइन माध्यमबाट सम्पन्न भएको थियो । उक्त पहल जापान सरकारको आर्थिक सहयोग र युएनएफपिएद्वारा सञ्चालित ‘नेपालमा मातृ तथा बाल स्वास्थ्य सेवा र अनुकूलन क्षमतामा सुधार’ परियोजनाको परिपूरकका रूपमा रहेको छ । परियोजनाले पहिरोदेखि अत्यधिक चिसो जस्ता चरम मौसमी घटनाको उच्च जोखिममा रहेका गर्भवती महिला र नवजात शिशुलाई सेवा दिने स्वास्थ्य संस्थाहरूमा रहेका गम्भीर अभाव सम्बोधन गर्नेछ । समारोहमा बोल्दै युएनएफपिए नेपालका प्रतिनिधि श्रीराम हरिदासले भन्नुभयो, ‘दुर्गम र विपद्को जोखिममा रहेका समुदायमा अत्यावश्यक स्वास्थ्य सेवाको निरन्तरता प्रायः सरल तर भरपर्दो उपायहरूमा निर्भर हुन्छ । यी सोलार लालटिनले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई बिजुली अवरुद्ध भएको अवस्था र आपत्कालीन समयमा पनि सुरक्षित मातृ तथा नवजात शिशु हेरचाह सेवा प्रदान गर्न मद्दत गर्नेछन् ।
यो साझेदारीले सहकार्यको शक्ति झल्काउँछ र नेपालका महिला तथा परिवारहरूका लागि थप उत्थानशील स्वास्थ्य प्रणाली सुदृढ गर्न सहयोग गरेकोमा हामी पानासोनिकप्रति कृतज्ञ छौं ।’ पानासोनिकतर्फबाट संस्थागत नागरिकता कार्यालयकी महाप्रबन्धक अकियो दोमोतोले भन्नुभयो, ‘हाम्रो ‘लाइट अफ द फ्युचर’ पहलमार्फत्् पानासोनिक विश्वभरका विद्युत्को पहुँच नभएका समुदायहरूमा दिगो विकास प्रवर्द्धन गर्न तथा शिक्षा, स्वास्थ्य र आयआर्जनका अवसर विस्तार गर्न समर्पित छ । युएनएफपिएसँगको हाम्रो साझेदारी अझ सुदृढ बनाउन पाउँदा हामीलाई गर्व लागेको छ । नेपालका यी अग्रपंक्तिका स्वास्थ्य संस्थाहरूमा स्वच्छ र भरपर्दो उज्यालो पुर्याएर, हामी स्थानीय समुदायलाई सशक्त बनाउन र जलवायु परिवर्तनका बढ्दो चुनौतीविरुद्ध स्थायी उत्थानशीलता निर्माण गर्न चाहन्छौँ ।’
पानासोनिक सोलार लालटिनहरूले छानिएका स्वास्थ्य संस्थाहरूमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई बिनाअवरोध सञ्चालन गर्न सहयोग पुर्याउने र वार्षिकरूपमा अनुमानित ४७ हजार आठ सय ९८ महिला र नवजात शिशुहरू लाभान्वित हुने बताइएको छ । स्वास्थ्य संस्थाहरूभित्रको उज्यालोमा सुधार गर्नुका साथै रात्रिकालीन स्वास्थ्य प्रेषण र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाद्वारा गरिने गृहभेट कार्यमा पनि सहयोग पुर्याउनेछन् । संस्थाका अनुसार उक्त सहयोग एक बृहत्तर पहलमा आधारित छ, जसअन्तर्गत हालसम्म २० स्वास्थ्य संस्थाहरूको सफलतापूर्वक मूल्यांकन गरिएको छ, जलवायु उत्थानशीलता सुधार गर्न १० स्वास्थ्य संस्थाहरूको जीर्णोद्धार गरिएको छ र नौवटा जलवायु-अनुकूलन पालिका योजना निर्माणमा सहयोग गरिएको छ । सन् २०२२ देखि पानासोनिकले अफ्रिका र एसियाका विद्युत्को पहुँच नभएका समुदायमा सोलार लालटिन वितरण गर्न युएनएफपिएसँग साझेदारी गर्दै आएको छ । सन् २०१३ मा सुरु भएको पानासोनिकको ‘लाइट अप द फ्युचर’ पहलको उद्देश्य बिजुलीको अभावले दैनिक जीवनमा ठूला बाधाहरू सिर्जना गरेका क्षेत्रहरूमा उज्यालो पुर्याउनु हो ।
गैरसरकारी संस्था, गैरनाफामूलक संस्था र अन्तर्राष्ट्रिय संस्थाहरूसहित करिब एक सय ६० साझेदारहरूसँगको सहकार्यमा पानासोनिकले हालसम्म ३६ देशहरूमा करिब एक लाख ३० हजार सोलार लालटिनहरू वितरण गरिसकेको जनाएको छ । नेपालमा मातृ तथा बाल स्वास्थ्य सेवा र अनुकूलन क्षमतामा सुधार परियोजना जापान सरकारद्वारा वित्तीय सहयोग प्राप्त र युएनएफपिए नेपालद्वारा जाजरकोट र रौतहट जिल्लाहरूमा कार्यान्वयन गरिएको परियोजना हो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर