काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सबै सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को छपाइ सम्पन्न भएको छ। अब नयाँ लाइसेन्सका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै छपाइ गरी विभागलाई उपलब्ध गराइने भएको छ।
सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार मन्त्रालय, सुरक्षण मुद्रण केन्द्र र पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागबीच भएका दुई चरणका सम्झौताअनुसार कुल २७ लाख स्मार्ट लाइसेन्स छपाइ सम्पन्न गरिएको हो। यससँगै विगतदेखि रहँदै आएको लाइसेन्स छपाइको ‘ब्याकलग’ पूर्ण रूपमा अन्त्य भएको मन्त्रालयले जनाएको छ।
पहिलो चरणमा २०८२ कात्तिक १२ गते भएको सम्झौताअनुसार १२ लाख स्मार्ट लाइसेन्स निर्धारित समयमै छापिएको थियो। त्यसपछि बाँकी आवेदन व्यवस्थापनका लागि २०८३ वैशाख ४ गते दोस्रो चरणको सम्झौता गरी थप १५ लाख लाइसेन्स छाप्ने काम सुरु गरिएको थियो। दोस्रो चरणको काम पनि असार ३२ गते सम्पन्न भएसँगै कुल २७ लाख स्मार्ट लाइसेन्स छपाइ सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सुरक्षण मुद्रण केन्द्रले हाल ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका तथा लाइसेन्स नवीकरण गरेका सेवाग्राहीको यातायात व्यवस्था विभागबाट दैनिक प्राप्त हुने करिब ३ हजारदेखि ५ हजार विवरणका आधारमा २४ घण्टाभित्रै स्मार्ट लाइसेन्स छापेर विभागलाई हस्तान्तरण गरिरहेको छ। यसले नयाँ लाइसेन्स वितरण प्रक्रिया थप छिटो र व्यवस्थित हुने अपेक्षा गरिएको छ।
मन्त्रालयले अब सातै प्रदेश सरकार तथा सम्बन्धित यातायात मन्त्रालयसँग समन्वय गरी सवारी चालक अनुमतिपत्र छपाइसम्बन्धी सम्झौता गर्ने तयारी भइरहेको जनाएको छ।
सुरक्षण मुद्रण केन्द्रका अनुसार भविष्यमा सवारी चालक अनुमतिपत्रसँगै नागरिकता, राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क स्टिकर, हुलाक टिकट तथा जग्गाधनी प्रमाणपत्रलगायत अन्य सुरक्षण मुद्रण सामग्री पनि स्वदेशमै उत्पादन गर्ने तयारी भइरहेको छ।
मन्त्रालयले यस्ता सुरक्षण मुद्रण सामग्री स्वदेशमै उत्पादन हुन थालेपछि विदेशिने करोडौँ रुपैयाँ बचत हुने, स्वदेशमै पुँजी परिचालन र रोजगारी सिर्जना हुने तथा सार्वजनिक सेवा प्रवाह थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरेको छ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर