हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का मन्त्रीहरूले तत्काल राजीनामा नदिने भएका छन्। कांग्रेस–एमालेबीचको सत्ता समीकरण राष्ट्रिय तहमा परिवर्तन भएसँगै सामूहिक राजीनामा दिने तयारी भए पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि उक्त प्रक्रिया तत्कालका लागि रोकिएको हो।
बिहीबार मन्त्रिपरिषद् बैठकपछि एमालेका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका थिए। स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री किरण थापाले पनि मन्त्रीहरू राजीनामाको तयारीमा रहेको जानकारी दिनुभएको थियो। तर पार्टी नेतृत्वबाट आएको पछिल्लो निर्देशनपछि राजीनामा प्रक्रिया रोकिएको हो।
यसैबीच, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहकार्य हालसम्म कायम रहेको स्पष्ट पार्नुभएको छ।
मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कांग्रेस र एमालेका मन्त्रीहरूको सहभागितामा संयुक्त मन्त्रिपरिषद् बैठक बसेको जानकारी दिनुभयो। अन्य प्रदेशमा विकसित राजनीतिक घटनाक्रमबारे भने आफूलाई जानकारी नभएको उहाँले बताउनुभयो।
मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले यसअघि नै गरेको निर्णयअनुसार आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर आठ वटा कायम गरिने जानकारी पनि दिनुभयो।
उहाँले मन्त्रालयको संख्या घटेपछि मन्त्रीहरूको व्यवस्थापन चुनौतीपूर्ण रहने उल्लेख गर्दै प्रदेश प्रमुखबाट सम्बन्धित व्यवस्था प्रमाणीकरण भएपछि त्यससम्बन्धी थप विवरण सार्वजनिक गरिने बताउनुभयो।
हाल बागमती प्रदेश सरकारमा एमालेका छ जना मन्त्री सहभागी छन्। उनीहरूमा स्वास्थ्यमन्त्री किरण थापा, कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी तथा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठ रहनुभएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर