हेटौंडा। यौनिक तथा अल्पसंख्यक समुदायकी सदस्य नुरा लामाले लागूऔषधको गहिरो लतबाट मुक्त हुँदै पुन स्थापनापछि नयाँ जीवनको सुरुवात गर्नुभएको छ। सामाजिक विभेद, मानसिक पीडा र लागूऔषधको दुष्चक्र पार गर्दै उहाँले अहिले पुन स्थापनाको अभियानमै सक्रिय भूमिका निर्वाह गरिरहनुभएको छ।
हेटौंडा उपमहानगरपालिका–१५ निवासी २६ वर्षीया नुराले २०७६ सालदेखि साथीहरूको संगतमा नाइट्रोभेट लगायतका लागूऔषध प्रयोग गर्न सुरु गर्नुभएको थियो। समयसँगै उहाँ खैरो हेरोइन ब्राउन सुगरको गहिरो लतमा फस्नुभयो। फरक यौनिक तथा लैङ्गिक पहिचानका कारण समाजबाट पटकपटक अपमान, गिज्याइ र विभेद भोग्नुपर्दा उहाँ मानसिक रूपमा कमजोर बन्दै जानुभयो। घरबाहिर निस्कनसमेत डर लाग्ने अवस्था सिर्जना भएपछि मानसिक पीडाबाट केही समय राहत खोज्ने माध्यमका रूपमा लागूऔषधको प्रयोग बढ्दै गएको उहाँ बताउनुहुन्छ।
उहाँको जीवनको सबैभन्दा दर्दनाक घटना भनेको खैरो हेरोइन सेवनपछि लगातार दुई दिनसम्म अचेत हुनु थियो। तेस्रो दिन घरबेटीले प्रहरीलाई खबर गरेपछि मात्र उहाँको उद्धार भएको थियो। त्यो घटनाले आफ्नो जीवन नै मोडिएको नुराको भनाइ छ।
नुरा अध्ययनमा अब्बल विद्यार्थी हुनुहुन्थ्यो। तर, सामाजिक विभेद, आत्मग्लानि र मानसिक तनावका कारण मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत +२ तहको पढाइ बीचमै छोड्नुपर्यो। आफ्नो पहिचानकै कारण भविष्य अन्धकारतर्फ धकेलिएको महसुस गर्दै उहाँ लामो समयसम्म निराशाको जीवन बिताउन बाध्य हुनुभयो।
जीवनमा परिवर्तन ल्याउने दृढ अठोटसहित नुरा २०८२ साल माघ ४ गते ब्लु डायमण्ड सोसाइटी र रिकभरिङ नेपालको आर्थिक सहयोग तथा सिआन पुनःस्थापना केन्द्रको सहजीकरणमा सञ्चालित सिआन महिला पुनःस्थापना केन्द्रमा उपचारका लागि भर्ना हुनुभयो। उपचार, नियमित परामर्श, मनोसामाजिक सहयोग र पुनःस्थापनामूलक कार्यक्रमपछि उहाँले लागूऔषधमुक्त जीवनतर्फ सफलतापूर्वक नयाँ यात्रा सुरु गर्नुभयो।
हाल नुरा सोही सिआन महिला पुनःस्थापना केन्द्रमा कर्मचारीका रूपमा कार्यरत हुनुहुन्छ। उहाँ उपचाररत महिलाहरूको सेवा, हेरचाह, परामर्श र पुनःस्थापनामा सक्रिय रूपमा खटिँदै आउनुभएको छ। आफूले भोगेको पीडा अरूले भोग्न नपरोस् भन्ने उद्देश्यले उहाँले पुनःस्थापनाको अभियानलाई नै आफ्नो जीवनको लक्ष्य बनाएको बताउनुहुन्छ।
नुराका अनुसार फरक यौनिक तथा लैङ्गिक पहिचान भए पनि सिआन परिवारले कहिल्यै विभेद गरेन। बरु सम्मान, माया र आत्मीयता दिएर जीवनलाई नयाँ दिशा दिएको उहाँको अनुभव छ। “सिआनले मलाई दोस्रो जन्म दिएको महसुस भएको छ। यहाँ आएपछि फेरि बाँच्ने साहस, आत्मविश्वास र जीवनप्रतिको आशा प्राप्त गरेँ। अहिले अरूको जीवन परिवर्तनको यात्रामा साथ दिन पाउँदा अझ गर्व लागेको छ,” उहाँले भन्नुभयो।
उहाँले यौनिक तथा अल्पसंख्यक समुदायका लागूऔषध प्रयोगकर्ताले अझ बढी सामाजिक विभेद, मानसिक तनाव र सेवामा पहुँचको अभाव झेल्नुपर्ने भएकाले राज्यले उनीहरूका लागि समावेशी, पहुँचयोग्य र विभेदरहित पुनस्थापना सेवा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
नुराले आफ्नो समुदायका सदस्यहरूलाई लागूऔषधबाट बाहिर निस्कन ढिला नगरी सहयोग लिन आग्रह गर्दै भन्नुभयो, “म परिवर्तन हुन सकेँ भने मेरो समुदायका अरू साथीहरू पनि अवश्य परिवर्तन हुन सक्छन्। सहयोग माग्न कहिल्यै लाज मान्नु हुँदैन। पुनस्थापना सम्भव छ, नयाँ जीवन सम्भव छ।”







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर