काठमाडौं । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेल र दीपक आनन्दलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै जनही आठ वर्ष कैद र एक करोड ५४ लाख रुपैयाँभन्दा बढी जरिवानाको फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले असार ३२ गते सजाय निर्धारण गर्दै यस्तो फैसला सुनाएको हो ।
पौडेलका हकमा थप ६ महिना कैद सजायसमेत तोकिएको छ । कसुर हुँदाका बखत पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकको सार्वजनिक पदमा बहाल रहेकाले उनलाई ऐनको दफा २४ बमोजिम थप ६ महिना कैद सजायसमेत हुने ठहर भएको हो ।
यसअघि, मंगलबार विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा पौडेललाई दोषी ठहर गर्दै साढे दुई वर्ष कैद र बिगो बराबरको जरिवाना सुनाएको थियो । अदालतले पौडेललाई भ्रष्टाचार र घुससम्बन्धी मुद्दामा दोषी ठहर गर्दै १२ करोड ७५ लाख ७० हजार २३७ रुपैयाँ ४३ पैसा बराबरको सम्पत्ति जफत हुने र सोही रकम बराबरको थप जरिवाना तिर्नुपर्ने गरी सजाय सुनाएको थियो ।
नेपाल सरकार वादी रहेको यस भ्रष्टाचार मुद्दामा प्रतिवादीहरू सुनील पौडेल र दीपक आनन्दले अमेरिकी डलर दुई लाख ८० हजार बराबरको रिसवत लिन-दिन मञ्जुर गरेको पुष्टि भएको छ । तत्कालीन विदेशी विनिमय दरअनुसार यो रकम नेपाली रुपैयाँ तीन करोड आठ लाख ५० हजार चार सय बराबर हुन आउँछ । मिसिलमा संलग्न अडियो संवाद लगायतका प्रमाणका आधारमा प्रतिवादीविरुद्ध दाबी गरिएको कसुर ठहर भएको अदालतले जनाएको छ ।
यद्यपि, घुस बापतको रकम प्रत्यक्ष रूपमा बरामद नभएको र सो रकम कुन स्थान वा बैंकमा जम्मा भएको हो भन्ने तथ्य स्थापित हुन नसके पनि उनीहरूको भूमिका र संलग्नताका आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर पुष्टि भएको अदालतको निष्कर्ष छ ।
जरिवानाको हकमा कुल बिगो रकम तीन करोड आठ लाख ५० हजार चार सय रुपैयाँलाई आधा-आधा बाँडी दुवै प्रतिवादीलाई जनही एक करोड ५४ लाख २५ हजार दुई सय रुपैयाँ जरिवाना हुने फैसला भएको छ । यसका साथै अपराध पीडित संरक्षण ऐन, २०७५ को व्यवस्थाअनुसार दुवै प्रतिवादीबाट जनही ६ लाख १७ हजार आठ रुपैयाँ असुल गरी पीडित राहत कोषमा जम्मा गर्नुपर्ने पनि फैसलामा उल्लेख छ ।
एमाले नेता एवं पूर्वसांसद कोइरी थुनामुक्त
नेकपा एमालेका नेता एवं पूर्वसांसद लक्ष्मी महतो कोइरी थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै उनलाई कारागारमुक्त गर्न आदेश दिएपछि कोइरी बिहीबार थुनामुक्त भएका हुन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीलाई अन्य मुद्दामा थुनामा राख्नुपर्ने अवस्था नरहेको भन्दै रिहा गर्न आदेश दिएको हो ।
सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । त्यसपछि उनलाई पक्राउ गरी जलेश्वर कारागार चलान गरिएको थियो । सर्वोच्चले गत १९ असारको कैदी पुर्जी कानुनसम्मत नरहेको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो । २०७२ सालको मधेस आन्दोलनका क्रममा महोत्तरीमा असई थमन विकको हत्या भएको थियो, जसमा कोइरी दोषी ठहर भएका थिए ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर