भय र सन्त्रासयुक्त विषम परिस्थितिको बेला वा नेपाली समाज सशस्त्र द्वन्द्वको चपेटामा परेको बेला रचिएको प्रदीप सापकोटाको यो ‘यात्राको लय’मा १७ वटा नियात्राहरू संग्रहित छन् । नियात्रा सिर्जनका निम्ति आवश्यक उपकरण भनेका गतिशीलता, सूचनात्मकता र निजात्मकता अर्थात् गोडा, आँखा र मन हो । यी तीनै तत्त्वको सन्तुलित समन्वयमा यसले सुन्दर स्वरूप ग्रहण गरेको छ । लय हर थोकमा मिल्नुपर्दछ । त्यस्तै, यात्राको पनि लय मिल्यो भने इन्द्रेणीको रंग मिलेजस्तै सौन्दर्य र मिठासको अनुभूति हुन्छ । कुनै भय र क्षय नभै लय मिल्दै गएको यात्राबाट नै जीवनमा जय प्राप्त हुन्छ । यात्राकार स्वयंले भनेका छन्, ‘यात्रामा मेरो मुहार जहिल्यै उत्साहित हुन्छ । मनका उदासीहरू हट्छन् । मनमा जिज्ञासु भावको लेवल बढ्दै जान्छ । (पृष्ठ.१२५) अझ उनले जूनजस्तो मुस्कार मुहारमा लिए यात्रा गर्नपर्ने बताउँछन् । शीर्षकीकरणका सन्दर्भमा ‘यात्राको लय’ शीर्षक राखेर यहाँ नियात्राकारले कृतिको शीर्षकलाई सुन्दर र सार्थक तुल्याएका छन् ।
यात्राको इन्द्रेणी रंग(नियात्रासंग्रह–२०७७) र मनको वारपार(मुक्तकसंग्रह-२०७८) पछि आएको उनको ‘यात्राको लय’ शिल्पगत रूपमा छरितो र अभिव्यक्तिगत रुपमा सरल र सम्प्रेष्य अनुभव हुन्छ । चट्टको प्रस्तुतिमा बुनिएका वाक्य, कथ्यमा कुनै अल्झो नपारी सर्लक्क बोध हुने भावराशि विस्तार भन्दा विन्यासमा ढालिएका नियात्राहरूले अनभूतिले आकर्षक र रोचकतामा अभिबृद्धि गर्छन् । अरू–अरूले भन्ने एक अनुच्छेदको भावलाई उनले एकपंक्तिमा ल्याएर काव्यात्मक सारमा आनन्दको उद्रेक गरिदिन्छन् । त्यसैले सापकोटाका नियात्रा रुचिकर र प्रियकर अनुभूत हुन्छन् । यिनमा यति सुन्दर कलात्मक कथन छन् तिनको टिपोट गर्दै गएपनि अर्को छुट्टै लेखको रूप बन्नपुग्छ ।
कथनलाई व्याख्या, विस्तार र विन्यासमा ढालिएका अनुभूतिले आकर्षक र रोचकता अभिवृद्धि गर्छन् । विश्लेषणात्मक रुपमा प्रस्तुत नगरी सूचनाहरूलाई घनीभूत रूपमा सुन्दर ढंगले उन्दै नियात्राहरूलाई स्पष्ट र बोध्यसँग राख्नु र प्रत्येक कथनमा बिम्ब उनेर प्रस्तुत गर्नु पनि नियात्राकारको शैलीगत विशेषता देखापर्छ । यसले उनलाई अरुभन्दा पृथक र आकर्षक तुल्याएको छ ।
विषयगत रूपमा जातीय भेदभावको अन्धकार हटाउने, सामाजिक विद्रुपता र विसंगति मेटाउने, पहाडभन्दा तराई मधेसको जनजीवन अझै अभाव र गरिबीले ग्रस्त स्थिति निवारण गर्ने, मानवीय सेवाभाव जागृत गर्ने विभिन्न देवीदेवताका मन्दिरको दर्शन गर्ने, धार्मिक भेलामा सामेल हुने, तीर्थस्थलहरूको अवलोकन गर्ने, कार्यक्रममा सहभागी भएर रचनात्मक आस्वादन लिनेजस्ता विषयगत सुन्दर सटिक वर्णन भएको पाइन्छ यस कृतिमा । यो कृतिभित्र आफूले देखेभोगेका दृश्य, घट्ना र अनुभूतिलाई रोचकतापूर्वक प्रस्तुत गर्नु नियात्राकारको विशेषता देखिन्छ ।
जातीय भेदभावरहित भावना र विचार एवं तदनुरूपको व्यवहारले उनको इमानदारिता र मानवतावादी सोचलाई दर्शाएको छ । विषयगत रूपमा यसमा विशेषतः सशस्त्र द्वन्द्वकालीन यथार्थ चित्रहरू समाविष्ट छन् । साथै धार्मिक यात्राका अनुभव, अनुभूति र प्राकृतिक परिवेशका वर्णनहरूले पनि आकर्षण थपेको छ । समीक्षागत चेतले पनि उनका कथ्यमा भूमिका खेलेको छ । प्रदीप सापकोटाको नियात्रा, कविता र समीक्षामा उनको लेखनीले अस्तित्व स्थापित गरेको पाउन सकिन्छ ।
‘सकसपूर्ण यात्राको सुखद् उत्कर्ष’ले देश सशस्त्रद्वन्द्वको जाँतोमा पिसिएको बेलाको अनुभव र अनुभूतिलाई प्रस्तुत गरेको छ । साथै रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा जान लाग्दा चेक जाँच हुने क्रममा सेनाको अपरिपक्व मानसिकता र बुझाइलाई दर्शाएको छ ।
‘टनकपूरमा दुखेको मन’ कञ्चनपूरको महेन्द्रनगरमा नेपाल रेडक्रस सोसाइटीको कार्यक्रममा भागलिन जाँदा नियात्राकारलाई टनकपूर बाँध हेर्ने अबसर मिल्छ । त्यहाँ नेपाली सीमा अतिक्रमण भएको देखेपछि राष्ट्रवादी जोश आक्रोशमा बदलिन्छ । लेखक पीडाले भतभती पोलेको अनुभव गर्छन्, त्यहाँको दूरावस्था देखेर चिन्तित हुन्छन् । राष्ट्रियतामाथि बलात्कार भएकोमा चिन्तित हुँदै नेपालमा कोही युगद्रष्टा नायक जन्मिन नसकेको विचार प्रकट गर्छन् । राम्रो कुराको सिको गर्न नसकेको आफ्नो कमजोरीप्रति कटाक्ष गर्छन् । नेपालका राजनीतिज्ञ दूरदर्शी नहुनुले नेपाली जनताले दुःख पाएको निष्कर्ष निकाल्छन् । र निराशाको सुस्केरा हाल्छन् ।
‘गाजाको दह र पिंढीको बास’मा यात्राकार केन्द्रबाट खटाइएर बागलुङको दक्षिणभेगस्थित हुग्दीशिरतिर जान्छन् । बाटाबाटामा स्याउँ-स्याउँ जुका लागेको अनुभव सुनाउँछन् । भोकप्यास थकाइले गलित पर्छन् । बाटामै जनगायक जीवन शर्मासँग पनि भेट हुन्छ । उनको गीतबाट प्रभावित भई उनीप्रति श्रद्धा व्यक्त गर्छन् । द्वन्द्वको चपेटामा परेको बेला पाहुँना लाग्दा पिंढीको बास सम्झेर एउटा त्रासद स्थितिको अनुभव गर्छन् ।
‘पहिलो गल्कोट यात्राको बकपत्र’मा बाग्लुङ सदरमुकामदेखि गल्कोट नरेठाँटीसम्म यात्रा गर्दाको अनुभव यहाँ प्रस्तुत गरेका छन् । बाटा वरपरको परिवेश, प्रकृतिको मनोरम छटाले युक्त भए पनि खच्चरको गोबर र पिसावको गन्धले दिगमिगाउँछन् । ‘ज्योतिष वाणीसँगै झेल्नुपरेको संकट’मा यात्राकार तालिम दिने प्रयोजनले बागलुङको गलकोटस्थित शीतलपाटीमा पुग्छन् । त्यहाँ रत्नादिदीको आत्मिय आतिथ्यभावबाट प्रभावित हुनपुग्छन् । त्यसैदिनको भोलिपल्ट ज्योतिष पौडेल गुरुको घरमा पुग्दा निकट भविश्यमै ठूलो अनिष्ट आइपर्ने संकेत मिल्छ । नभन्दै भोलिपल्ट एक युवकले उनीमाथि खुकुरी प्रहार गर्न खोज्छ, अरुले खुकुरी खोसेर उनलाई केही हुन पाउन्न । त्यही घट्ना अनिष्टताको संकेत हो भन्ने बुझिन्छ । सुराको अतिशय सेवनले मानिसलाई बेसुर बनाउँछ भन्ने यसले सन्देश मुखरित गरेको छ ।
‘शीतलपाटीमा पाएको माया’मा मायाको वर्णन गरिएको छ । कुनै गल्ती नगरी अपमानित हुनुपरेकोमा उनको मन भाँचिएको थियो । ज्यानै जानसक्ने स्थितिबाट उनी गुज्रेका थिए । जे होस डम्बर सिंह, याविन्द्र आदि सबैको मायाले आफू बच्न सकेकोमा नियात्राकारले सन्तोष व्यक्त गर्छन् । जीवन यात्रामा कहिले हिँड्दा हिँड्दै ठेस लाग्नसक्छ भनेर चित्त बुझाउनुको विकल्प थिएन । त्यस्तो त्रासद स्थिति उत्पन्न गर्ने र उसको परिवारले माफी मागेपछि शान्त मनले उनले जिन्दगी एक यात्रा हो, समयसँगै विविध समस्या आइपर्न सक्छन् तिनलाई सहेर अघि बढ्दै सबैसँग राम्रो व्यवहार गर्नुपर्छ भन्ने सन्देश नियात्राले दिएको छ ।
‘त्यो सहभोज’मा समाज सुधार र परिवर्तनका कुरा आएका छन् । जातीय खाडल गहिरो रहेको परिवेशमा यात्राकार दलितकै घरमा सहभोजन गर्छन् । त्यसै घरमा बाससमेत बस्छन, फोहोर वातावरणदेखि दिक्क मान्छन् । पढ्दैमा मान्छेमा चेतना नआउने कुरा व्यक्त गर्छन् । यसले समयानुसार मान्छेले पनि चालचलन परिमार्जन गर्दै जानुपर्छ, जातीय विभेदको अन्धकार हटाउनुपर्छ भन्ने सन्देश मुखरित गरेको छ ।
‘आँखाको दुरविनबाट मधेस नियाल्दा’मा तराई मधेसको जनजीवनको बारेमा चित्रण छ । महोत्तरीको रामगोपालपूरमा जाँदा चमार र मुसहर बस्तीको अवस्थाको निरीक्षण गर्न पाउँछन् । त्यहाँको दयनीय बेकारी र रुग्ण हालत देखेर दुखित हुन्छन् । मानव मूल्यको शोषण भएको देखेर भावुक संवेदनाले व्यथित बन्दछन् । पहाडमा भन्दा धेरै विकराल समस्या मधेशमा रहेको बोध गर्छन् ।
‘पदम भुवनेश्वरी वृद्धाश्रमले छोएको मन’ मा मानवीय सेवाभावको चित्रण छ । आठदशक उमेर पार गरीसकेका वासु कोइरालाको सेवा व्यक्तित्वको वयान छ । उनी असहाय वृद्धवृद्धाको संरक्षक बनेर मानवीय सेवा पुर्याउँछन्,त्यो देखेर नियात्राकार धेरै प्रभावित हुन पुग्छन् । कोइरालाजस्तो मानवीय सेवा भावले ओतप्रोत भएका व्यक्तित्व विरलै देख्न सकिने बताउँदै त्यहाँका सेवामूलक गतिविधिहरू दर्शाउँछन् ।
‘मकर मेला प्रचार : कुशेश्वर हुँदै गाइघाट’मा गाइघाट लक्ष्यित यात्रामा वयरवनी, दुधौली, रतनपूर, कुकुर खोला, डाङ्डुङ्गृे खोला आदि बाटामा पर्ने स्थानहरूको दृष्यचित्र प्रस्तुत गरेका छन् । ‘बराहक्षेत्र चतराधाम यात्रा’मा पनौती त्रिवेणी धाममा लाग्ने ऐतिहासिक र सांस्कृतिक महत्त्वको बाह्रवर्षे मकरमेलाको प्रचारप्रसारको लागि चतराधाम पुगेको कुरा उल्लेख छ । वराहक्षेत्र प्राचीन तीर्थस्थल मानिन्छ । यस क्षेत्रमा विभिन्न देवीदेवताका मन्दिरहरू रहेका कुराको वर्णन छ । यस क्षेत्रको बारेमा पुराणमा समेत वर्णन भएको बताइएको छ ।
‘नेपालको स्विटजरल्याण्डमा एक पाइला’मा जिरीलाई नेपालको स्विट्जरल्याण्ड मानिएको छ । ज्यूरिचसँग जिरीको तुलना गरिएको छ । यो हिमाली जिल्लाको नजिक रहेकोले यहाँ चिसो हावापानी छ । विभिन्न परिवेशको मनोरम चित्रण गरिएको छ । प्राकृतिक अध्ययन अवलोकनमा मात्र आधारित नभई त्यहाँका मन्दिरहरूको धार्मिक दर्शनसँग यो सम्बन्धित छ ।
‘भीमेश्वरको साहित्यिक माहौल’मा प्रकृतिका मनोरम छटाको अवलोकनपछि साहित्यिक माहौलमा प्रवेश गरेको चर्चा छ । साहित्य मानवीय मिलनको सेतु हो भन्ने दर्शाइएको छ । ‘नक्सलवादी हुँदै टाइगरहिलमा बरालिँदा’मा नक्सलाइट आन्दोलनको इतिहास, हिंसात्मक रूप लिएपछि त्यसको त्यसको अन्त्य, टाइगरहिल सूर्योदय हेरिने प्रसिद्धस्थान आदिको चर्चा छ । ‘दार्जिलिङहुँदै मिरिकसम्म’मा यात्राका मुहार जुनजस्तै उज्यालो हुने, मनका उदासीहरू हट्ने कुराको चर्चा गर्दै कला साहित्यमा दार्जिलिङको महत्त्वपूर्ण योगदान रहेको स्मरण गर्दै त्यहाँ बस्ती बजारदेखि मिरिकसम्मको वर्णन छ ।
‘सुकुटेमा साहित्यिक यात्रा’ मा साहित्यिक पिकनिक भने पनि साहित्यिक यात्रामा भएको भेटघाट र रमाइलो अनुभव भएका कुराको वर्णन छ । दोलालघाट, इन्द्रावती र भोटेकोसी नदीहरूको अवलोकन गर्दै गरिएको यो यात्रामा साहित्यिक सिर्जनाको आस्वादन गरिएको छ । यो साहित्यिक कार्यक्रमको समीक्षात्मक प्रतिवेदनको रूपमा देखा परेको छ । ‘यात्राको लहरमा लहरिँदै मकवानपुर गढी’मा एकपन्थ दुई काज भनेझैं नगरपालिकाको एउटा मुद्धाको पेसीका लागि वीरगञ्ज उच्च अदालत जानेक्रममा नेपालको सबैभन्दा ठूलो ऐतिहासिक गौरवको रूपमा रहेको सामरिक र रणनीतिक महत्त्वको मकवानपुर गढीको अवलोकन गरिएको चर्चा गरिएको छ । यसैक्रममा पुर्खाका अदम्य साहस र वीरताको पनि स्मरण गर्दै वरपरका दृश्यहरूको आस्वादान गरिएको छ । यात्रा ज्ञानवर्द्धक लाग्छ ।
निष्कर्ष : यसप्रकार विषयगत रूपमा जातीय भेदभावको अन्धकार हटाउने, सामाजिक विद्रुपता र विसंगति मेटाउने, पहाडभन्दा तराईमधेशको जनजीवन अझै अभाव र गरिबीले ग्रस्त स्थिति निवारण गर्ने, मानवीय सेवाभाव जागृत गर्ने विभिन्न देवीदेवताका मन्दिरहरूको दर्शन गर्ने, धार्मिक भेलामा सामेल हुने, तीर्थस्थलहरूको अवलोकन गर्ने, कार्यक्रममा सहभागी भएर रचनात्मक आस्वादन लिनेजस्ता विषयगत सुन्दर सटीक वर्णन भएको पाइन्छ । भुँडीपुराण प्रकाशनबाट प्रकाशित यो कृतिभित्र आफूले देखेभोगेका दृश्य, घट्ना र अनुभूतिलाई रोचकतापूर्वक प्रस्तुत गर्नु नियात्राकारको विशेषता देखिन्छ । सूचनात्मकता, तथ्यात्मकता, गतिशीलता आदि गुणले पनि उनका नियात्रा सम्मृद्ध हुन पुगेका देखिन्छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर